के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। त्यसका पनि रातैपिच्छे अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार। अलिअलि त थाह भइसकेको थियो, स्वास्थ्य खराब हुँदैछ। स्वास्थ्य सुधार्न अस्ति भर्खरै ट्रेडमिल किनेको थिएँ। अठार हजार हालेर। हिँउदे झरीझैं बेलाबेला बर्सिने तलब साँचेर। पसिना खलखली बगाएको थिएँ। अब त स्वस्थ हुन्छु, भन्ठान्दै थिएँ। सास त गैगयो।
बिहान उठ्दा अरू बेलाभन्दा ज्यान तंग्रिएको थियो। झ्यालबाट घाम पसिसकेको थियो। घडी हेरेँ, सवा आठ भैसकेको रैछ। बाथरुमतिर लाग्दा भनन्न रिङटा चल्यो। थचक्क बसेँ। सत्य, मैले जन्मेदेखि हिजो सुत्दासम्मका घटना झल्झली सम्झेँ। फिल्म उल्टो गरी प्रदर्शन भएझैं। मेरा कानमा एकाएक जिन्दगीभरि सुनेका र बिर्सेका शब्द एकाएक उच्चारण भए। जुरुक्क उठेँ। पिसाबले च्यापेको थियो, फेरेँ। बाथरुममा तुरुर्र आवाज आयो, तर पिसाब खै?
मरेपछिका लक्षण त यिनै पो हुँदा रैछन्।
मैले आत्तिएर बाथरुमको ऐना हेरेँ, अनुहार नै देखिएन। फिलिममा त भूतको असली स्वरुप ऐनामा देखिन्थ्यो, यत्रो साँचो हुनु त्यो कुरा! मरेकाले स्त्रि्कप्ट लेखे पो! मरेको मान्छे ऐनामा देखिदो रैनछ, मैले थाह पाएँ।
मैले आफ्नै आँखा अगाडि हिरिक-हिरिक गर्दै मरेका मान्छे देखेको थिएँ। म खुसी भएँ। किनभने, मैले त्यसरी मर्न परेन। स्वादले मरेँ।
गर्नुपर्ने कत्ति काम थिए! संसारै खाने किताब लेख्छु भन्थेँ, अब मरेपछि केको लोभ? काठमान्डुमा घर बनाउन सकिन्न भनेर भुटभुटिरन्थेँ, मरेपछि के घर के डेरा! यत्रै सित्ति।
१० वर्षदेखि हृदय कुटुकुटु खाने समस्याहरू एक्कासि खलास भएका थिए।
...
संयोगबस, बिहान बत्ति थियो। थोत्रो कम्प्युटर खोलेँ। खै कसको हो, वायरलेस इन्टरनेटको सिग्नल मेरो कोठासम्म आउँथ्यो, म त्यसैलाई युज गर्थें। आज पनि कनेक्ट गरेँ। छिरेँ उही फेसबुकमा। साथीहरू, बिहानैदेखि संविधानको थपिएको ३ महिनाबारे व्यंग्य र भावुकताले भरिएका स्टाटस पोस्ट गरिरहेका थिए। मलाई पनि एउटा स्टाटस जमाएर दिऊँजस्तो लाग्यो। होस्, मरेपछि के देश, के संविधान, के धरति लोक!
सबैभन्दा खतरनाक स्टाटस पोस्ट गरेँ।
साथी हो, हिजो राति म त मरेछु। यो नै मेरो अन्तिम स्टाटस हो। मेरो जीवनमा गाँसिने सबैलाई धन्यवाद।
यस्तो स्टाटस त अहिलेसम्म कसैले पोस्ट गरेको थिएन होला। मरेपछि पनि अलिकति घमण्ड जाग्यो। पिलिक्क एउटा कमेन्ट आइत हाल्यो। करिब चार वर्षदेखि मैले पछ्याएकी र फेसबुकको मेरो स्टाटसमा अहिलेसम्म एउटा पनि लाइक नगरेकी झुम्पाको पो रैछ। मरेपछि पहिलोपल्ट मुसुक्क हाँसेँ। उसले लेखेकी रैछ- 'हाहाहा, तिमी पनि कस्तो। ब्यान ब्यान कस्तो स्टाटस लेखेको? हरेक नेपालीको जीवन मरेजस्तै भको छ। हाहाहा।'
मैले च्याटमा उत्तर दिएँ, 'सत्य, म त साँच्चै मरिसकेँ।'
'पक्का हो?'
'हो।'
'म कल गर्छु।' उसले लेखी।
एक्कैछिनमा उसको फोन आयो। मैले उठाएँ।
'तिमी यत्ति चाँडै मरौलाजस्तो लागेको त थेन।' झुम्पा रोई, 'तिम्ले लाइन मारेको पनि थाह थियो। के गर्नु, यसो नखरा देखाएँ। तैपनि भन्दिहालूँ, म तिम्लाई मन पराउँथँे। अब त मरिहालेऊ।'
मेरो गला अवरुद्ध भो। आँखा ताता भए। आँखा छामेँ, सुख्खा थिए। भनेपछि, मरेपछि आँसु आउँदो रैनछ।
'म पनि माया गथर्ें।' मैले मसिनो आवाजमा भनेँ, 'मरिहालेँ। भन्न सकिनँ। यस्तै रैछ जिन्दगी। अर्को जुनीमा तिम्रो हुने भएँ।'
'स्योर। अर्को जुनीमा।' उसले भनी र सोधी, 'अनि पशुपति कति बेला जान्छौ?'
'दिउँसोतिर। आऊ है त!'
'पक्का।' उसले फोन राखी।
लौ, फेसबुकमा त कमेन्टको पर्रा नै छुटेछ। ४ सय २१ जनाले लाइक गरेछन्। कमेन्टको संख्या पनि सय नाघेछ। यत्ति धेरै रेस्पोन्स त मैले जन्मदिनमा पनि पाएको थिइनँ।
कमेन्ट पनि अचम्मैका थिए।
नयाँ क्षितिजतिरको शुभयात्रा।
यो मुलुकले तपैंजस्तो प्रतिभाशाली मान्छे गुमायो। दुःखी छु।
लौ न, के सुन्नुपर्यो?
ल दाइ, जे होस्। आफू मरेको कुरा आफंैले पोस्ट गर्नुभो, धन्यवाद। यो स्वर्ग-नर्कको कुरा के रछ। लेखिरहनुहोला।
हसाउँछ यार यो मान्छे पनि। ब्यान ब्यान कस्तो जोक गरेको!
अफिसतिरबाट केही साथीले कमेन्ट लेखिभ्याएछन्, 'भरे, निमेशको ममः पसलमा चिया पिउँदै गफ गरौंला। अन्तिमपल्ट तिम्रो गफ सुनेर हाँस्न मन छ।'
र, एउटा छद्मनामीको कठोर कमेन्ट पनि रैछ, 'ठिक भो। रद्दी किताब लेखेर मजस्तो कोई लेखक छैन भनेर धाक दिन्थिस्। गैछस्। नेपाली साहित्यको भलो भो।'
सुरुमा यो कमेन्टले चित्त दुखेको थ्यो। मन सम्हालेँ। यत्रैसित्ति, मरेपछि पनि के चित्त दुखाइरहनु!
फेसबुकमै थिएँ। मोबाइलको घन्टी बज्यो।
मित्र पाउलो रैछन्। पाउलोसित हिजै खड्डु केन्द्रमा मदिरापान भएको थियो। उनैले रक्सी ख्वाउने भएका थिए। म चियामा त पैसा खर्च नगर्ने मान्छे, रक्सीमा त के पैसा चुहाउँदो हुँ र? हाम्ले देशको चिन्ता गर्दै तुरुक्क आँसु झारेका थियौं।
'हेलो कविजी।' उताबाट हतारिएको आवाज आयो, 'के हल्ला चलेको, तपैं मरेको भन्ने!'
'हो, म त मरिसकेँ।'
'लौ यस्तो पनि हुन्छ।' उनको भावुक आवाज, 'हिजो त्यत्रो समय सँगै बसियो, भन्नुपर्दैन? अनि सुटुक्क मर्दिने? मैले अरूबाट सुन्नुपर्ने तपैं मरेको खबर? तपैंले मलाई आफ्नो मित्र नै ठान्नुभको रैनछ। मेरो हृदय चिरियो।'
'होइन, त्यस्तो होइन।' मैले कुरा सम्हालेँ, 'मैले पनि अघि भर्खरै थाह पाएँ, आफू मरेको कुरा। फोन गरुँला भन्दैथेँ।'
'ल जे भो, भो।' उनी सम्हालिए, 'मलाई त तु भेट्न आऊँ जस्तो लागेको थियो तर आज बन्द पो रैछ। बाइक त जलाइनै हाल्छन्। पर्खिनु किवजी, म हिँडेरै आउँछ।'
'म पर्खिन्छु।' मैले भनेँ, 'अरू साथीलाई पनि खबर गर्छु।'
उनले फोन राखे।
मैले केही आफूसित गाँसिएका मान्छेको लिस्ट बनाएँ। बीस जना जतिको। र, आफू मरेको कुरा एसएमएस गरेँ। लेखक भएकाले किताब विमोचनबाहेक अरू बेला साथीलाई निमन्त्रणा गरेको थिइनँ। आफू मरेको खबर पनि पुस्तक विमोचन शैलीकै भयो।
आदरणीय साथीहरू, आज बिहानै मैले जटिल जीवनबाट मुक्ति पाएँ। म मरेँ। यो जीवनकालमा अन्तिमपल्ट तपैंहरूलाई मेरो मृत्यु उत्सवमा सहभागी भइदिन, अनुरोध गर्दछु।
तपाईंको उही मित्र
स्थानः पशुपति आर्यघाट।
समयः दिउँसो ३ बजे। म ठिक टाइममा जल्नेछु।
अनि मित्र हारुकीलाई छुट्टै म्यासेज गरेँ, 'तुरुन्त मेरो कोठामा आइज। म मरिसकेँ।'
बार्दलीमा बसेर चुरोटको सर्को तानिरहेँ। बन्द भएकाले सडकमा कमै मान्छे थिए। हतार-हतार हिँडिरहेका थिए। चर्को गर्मी थियो। सोच्न थालेँ- जिउँदै सुतेको मान्छे उठ्दा त मरिसकेको हुँदो रैछ। के रैछ जिन्दगी! किन हतारिएका होलान् मान्छेहरू यसरी?
मोबाइल बज्यो। एसएमएस रैछ। पठाउने मेरी विवाहित प्रेमिका रैछन्। लामो समय भेटघाट भएको थिएन।
खाना बनाउँदै थिएँ। तिम्रो खबर पाएर दुःखी भएँ। एकपल्ट तिम्रो अनुहार हेर्न मन छ। तर, आज बन्द परेछ। मेरो श्रीमान घरमै छन्। आउन गाह्रो होलाजस्तो छ। तिमी मेरो समस्या बुझ्छौ। प्लिज, आज पशुपति नजाऊ। जसरी हुन्छ एकदिन म्यानेज गर।
म खिस्स हाँसेँ।
...
मरेको दिन के फोहरी भएर बस्नु! फेरि घरपरिवारका मान्छेहरू कोठा खानतलासी गर्न आउने होलान्। मैले कुनासुना सफा गरेँ। ओछ्यानको तन्ना र ब्ल्यान्केट मिलाएँ। नुहाएँ र सेतो सर्ट लगाएँ। सुद्ध भाको के!
चिया पिउन निस्कनुपर्ला भन्ने सोचिरहेको थिएँ, मित्र हारुकी हतारिँदै आइपुग्यो। उनको अनुहारबाट चिटचिट पसिना निस्किरहेको थियो। मलाई हेर्दै एकपल्ट अमिलो हाँस्यो र कोठाको कुनापट्टिको कुर्सीमा थ्याच्च बस्यो। घुटुक्क थुक निल्यो।
ऊ कसरी कुरा सुरु गरूँ भनेर अल्मिलिइरहेको थियो। बिचरा मेरो मित्र। सोध्यो, 'सन्चै?'
'मरेको मान्छेलाई के सन्चो, के बिसन्चो?'
ऊ खिस्स हाँस्यो।
'घरबेटीलाई पनि खबर दिनुपर्ने।' मैले भनेँ, 'भक्तपुर बस्छन्। होस्, पछि फोन गर्छु। कि चिठी लेख्दिन्छु, तँ पुर्याइदिन्छस्?'
उसले मुन्टो हल्लायो।
'तीन महिनाको भाडा पनि तिर्नु छ, दुई महिनाको दिनुपर्ला। मरेकोलाई त एक महिना माफ गर्लान्, हैन र?'
मित्र अचम्भित भयो।
'कि नदिऊँ?' मैले सल्लाह मागेँ।
'कस्तो कुरा गरेको!' मित्रले भन्यो, 'मरेपछि के काम पैसा! दे, पूरै दे। मेरो पैसा खाएर मर्यो भन्ने किन पार्नु!'
मैले मुन्टो हल्लाएँ।
हारुकीले मेरो कोठाको सप्पै सामान एकएक गर्दै हेर्यो। कुनातिर एउटा भरि ग्यासको सिलिन्डर राखेको थिएँ, समस्या पर्छ भनेर। उसले सिलिन्डरलाई प्रेमिकाको गालाझैं सुम्सुम्यायो र भन्यो, 'यो सिलिन्डर म लैजाऊँ?'
'बल्लतल्ल पन्ध्रसय घुस दे र ल्याको चिज!' म झस्किएँ।
'तँ त मरिसकिस्, किन चाइयो?' उसले भन्यो, 'म जिउँदोलाई दे र जा।'
ए, हो त। मैले भनेँ, 'लैजा। तर एउटा सर्त छ, आज दिनभरि मसितै हुनुपर्छ।' उसले फेरि सिलिन्डर मज्जाले सुम्सुम्यायो र मतिर हेर्दै हाँस्यो। जे भए पनि, जाँदा मित्रलाई मैले अमूल्य चिज दे र जाँदै थिएँ। सन्तुष्टिले आत्मा भरिलो भयो। भनेँ, 'हिँड, चिया पिउन जाऊँ। च्या पसलमा पनि पैसा तिर्नु छ।'
ऊ बाहिर निस्कियो।
मैले ढोकामा ताल्चा लगाएँ। जुत्ता लगाएँ। हामी घरबाट बाहिर निस्कियौं।
मेरो मोबाइल बारम्बर बजिरहेको थियो। म्यासेजको पर्रा नै छुटेको थियो। मैले एउटा-दुइटा त पढेँ, पछि दिक्क लाग्यो। सबैको एउटै भाव त थियो-
तिमी असल थियौ। के गर्नु भगवानले धर्तीबाट असलै लैजान्छ। जसरी हुन्छ म तिम्लाई अन्तिम बिदाइ गर्न पशुपति आइपुग्छु।
एकजनाले त अत्यधिक भावुक भएर लेखनाथ पौड्यालको कवितै पठाएछन्, 'आयो टप्प टिपेर लग्यो, टारेर टर्दैन, त्यो।'
'कत्ति आको म्यासेज!' साथी हारुकी पनि दिक्क भयो।
'मान्छेको मृत्युमा भावुक हुन्छन् नि त!' म बोल्दै थिएँ, फोन बज्यो। कहिलेकाहीँ कविगोष्ठीमा भेटिने पिकासोले फोन गरेका पो रैछन्। उनी नेपाल एकेडेमीमा सदस्य पनि छन् क्यारे।
'महान कविज्यू!' उनको आवाज अवरुद्ध थियो, 'मैले भर्खरै खबर पाएँ। भात खाँदैथे, आधै छाडे। दुःख लाग्यो। तपैंजस्तो महान सृजनाकर्ताले यो धर्ती छाडेका दिन, कसरी म भात खान सक्छु र!'
'धन्यवाद!' मलाई आफ्नो प्रशंसा सुन्दा बढी बोल्नै आउँदैन।
'तर एउटा कटु कुरा।' उनले अझै रुन्चे आवाजमा भने, 'तपैं नेपाली साहित्यलाई ठूलो अन्याय गर्दै हुनुहुन्छ। सिधै पशुपति जाने कुरा गर्नुभएछ। यसरी जानै पाउनुहुन्न। एकै घन्टा भएपनि एकेडेमी आइदिनुपर्यो। तपार्इंका शुभचिन्तकले तपैंको अनुहार हेर्नु परेन? मैले तपैंको व्यक्तित्व र कृतित्वबारे, एउटा भाषन पनि तयार गरिसकेँ।'
ए, भाषन गर्न पो रैछ।
'धन्यवाद!' मैले भनेँ, 'आज नेपाल बन्द छ। म हिँड्न सक्दिनँ। मेरो डेराबाट पशुपति नजिक पर्छ। म उतै जान्छु। उतै आउनुस्।'
फोन राख्ने पाएको छैन। अर्को नम्बरबाट फोन आइहाल्यो। ल्यान्डलाइन थियो। मलाई मेरी विवाहित प्रेमिकाको जस्तो लाग्यो र उठाएँ।
'साहित्यकारज्यू हो?' उताबाट पुरुषको मोटो आवाज आयो।
ए, अर्कै पो परेछ। उठाइ त हालेँ।
'तपैंको अवसानको खबरले हामी लालटिन टिभी परिवार असाध्यै दुःखी छौं।'
'धन्यवाद!'
'एउटा कुरा साहित्यकारज्यू!' उताबाट उत्साही आवाज आयो, 'एक घन्टालाई हाम्रो टेलिभिजनको स्टुडियोमा आउनुपर्यो। तपैंसित लाइभ प्रोगाम गर्ने योजना छ। मृत्युबारे मृतकसित भेटवार्ता शीर्षकमा।'
'म आउन सक्दिनँ।' मेले भनेँ, 'पशुपतिमा मेरा मित्रहरू आउनेवाला छन्। उतै जान्छु। सक्नुहुन्छ भने उतै आउनुस्।'
'हेर्नुस्, हाम्रो एउटै गाडी थियो। बन्दकर्ताले अघि भर्खरै तोडफोड गरे। हामी आउन सक्दैनौं।'
'म ३ बजेदेखि पशुपतिमै हुन्छु।' यत्ति भनेर मैले फोन राखेँ।
मित्र र म चियापसलमा पस्यौं। भीडभाडै थियो। कोही पत्रिका पढ्दैथे, कोही चिया सुर्क्याउँदैथे त कोही चुरोटको धुवाँ बुङबुङति उडाइरहेका थिए। कति त अब देश टुक्रिने भो भनेर चिन्ता गरिरहेका थिए। मित्र र म कुनातिर बस्यौं। चियापसले साउजीलाई भ्याइनभ्याइ थियो।
म ४ वर्षदेखि नियमित ग्राहक थिएँ। त्यसैले साउजीलाई मेरो टेस्ट थाह थियो। उनले मेरा लागि कालो चिया र साथीको लागि दूधचिया ल्याइदिए।
मैले चियाको घुट्को लिएँ। थाह भो, मरेपछि पनि चियाको स्वाद भने उही रहनेरैछ।
'अनि एउटा कुरा।' मित्र हारुकीले चियाको एक घुट्कोपछि सोध्यो, 'मरेपछि त यमदूत लिन आउँछन् भन्थे, साँचो होला र? तँ त मैसित छस्।'
म हाँसेँ।' त्यै त म छक्क परिरहेको छु। फिलिममा देखाएजस्तो हुन्छ कि भन्ने सोच्या थिएँ, खै आएको छैन। चितामा जलिसकेपछि आउँछ कि?'
साँच्चै यमदुत आयो भने कस्तो होला? फोटो खिचेर फेसबुकमा पोस्ट गर्न पाए क्या रमाइलो हुन्थ्यो।
हाम्ले चिया सक्यौं।
'साउजी!' मैले आलुचना पकाइरहेका साउजीलाई भनेँ, 'मेरो हिसाब-किताब कति भाछ?'
'तलब आयो र?' साउजीले डाडु चलाउँदै सोधे।
'आएको त छैन। अलिअलि जम्मा भएको त थियो, त्यैबाट तिर्न खोजेको।'
'लौ, आएपछि तिर्नुस् न!'
'हैन, आजदेखि म आउदिनँ, अन्तै जान लाको।'
'ए, अमेरिकातिर?' साउजीले अचम्म मानेर सोधे। अमेरिका शब्द सुन्नेबित्तिकै अरू चिया पिइरहेका मान्छे पनि चनाखो भए। एकजना अधबैसेंले सोधिहाले, 'हो भाइ, अब यो देश बस्न लायक रहेन। भिसा कसरी पायौ, भाइ?'
'अमेरिका जान लाको होइन।' मैले हाँस्दै भनेँ, 'म त मरेर पो जान लाको।'
'ए!' अधबैंसेले भने, 'सानैमा मर्नुभएछ। बिचरा म त अमेरिका जान लाग्नुभएको हो कि भनेर छक्क परेको!'
उनी पुरानै गफमा फर्किए। फेरि दोकानमा आवाजहरू एकआपसमा मुक्कामुक्की गर्न थाले। साउजीले उधारोखाता पल्टाए। एकछिन हिसाब गरेपछि उनले भने, 'आठसय छयासी रुपैयाँ भाको रैछ।'
मैले दिएँ। तर, उनले छयासी रुपियाँ लिएनन्। भने, 'मरिहाल्नुभएछ। छयासी छाड्दे।'
'ल त साउजी, मेरो जीवनकालमा मिठो चिया ख्वाउनुभो, धन्यवाद!' मैले भनेँ, 'फेरि भेटौंला।'
थुक्क, मुखबाट निस्किहाल्यो। साउजीले अमिलो अनुहार बनाए।
हामी बाहिर आयांै।
'एटिएमसम्म जाऊँ पहिला।' मैले हारुकीलाई भनेँ, 'पैसा झिक्नुपर्यो। पशुपतितिर पनि चाहिएला।'
म खासमा पैसाको मामलामा कन्जुस नै थिएँ। एटिएमतिर त जानै नपरोस्जस्तो लाग्थ्यो। साथीसित रेस्टुरामा बसेर खाँदा बिल आउनेबेला जहिले पनि बाथरुम जान्थेँ। आउँदा साथीहरूले तिरिसकेका हुन्थे। पछि त के भाको हो कुन्नि, बिल आउँदैछ भन्ने पहिल्यै सेन्स आउँथ्यो। बाथरुम जाने र फर्किने प्रक्रिया आफसेआफ हुन्थ्यो।
कति साथीहरू भन्थे, 'मर्नुअघि एककप चिया त ख्वाउलास् नि!'
एटिएमतिर हिँड्दै गर्दा मैले सोचेँ- काठमान्डु आएको १६ वर्ष हुँदा पनि म ठमेल गको थिइनँ। कुनै मलमा छिरेको थिइनँ। मिठो खाको पनि थिइनँ। साँच्चै, मोजमस्ती त गरेकै थिइनँ। पत्रिकामा पेज बनाउँदा-बनाउँदै अरू सोच्न पनि पाइएन। आखिर जिन्दगी त त्यत्तिकै गैगयो। आखिर बैंकमा जम्मा गरेको करिब सात लाख रुपियाँ के काम?
मेरी विवाहित प्रेमिकाको जन्मदिन आयो कि म मोबाइल बन्द गथर्ें, उपहार दिनुपर्ने डरले। आफ्नो जन्मदिनमा भने सधैं अन राख्थेँ। किनभने, ऊ उपहार दिन्थी।
कहिलेकाहीँ डेटिङमा आउने केटी पनि आफैंले बिल तिर्नुपर्ने भएपछि अर्को पालि भेट्नै आउँदैनथे।
मैले त जवानीको सारा मस्ति एटिएममा बन्द गरेर राखेको रैछु। एटिएमभित्र पसेँ र पन्ध्र हजार झिकेँ।
त्यसैबेला मित्र पाउलोको म्यासेज आयो, 'कविजी, हिँडेर आउँदैथेँ, तपैंलाई त थाह छ काठमान्डुका सडक कस्ता छन् भनेर। हतारिँदै हिँडेको चिप्लिएछ। मेरो एउटा खुट्टा त मर्किएर हिँड्नै नसक्ने भएँ। सरी है, आज आउन पाइनँ। मिल्छ भने पशुपतिको कार्यक्रम भोलि राख्न मिल्दैन? भोलि बन्द खुल्यो भने ट्याक्सीमा आउँछु।'
'ठिक छ, मित्र। यत्रो जीवनकालभरि साथ दिनुभो।' मैले प्रत्युत्तर लेखेँ, 'तपैंको समस्या बुझ्छु। रेस्ट गर्नुस्। मैले धेरै साथीलाई पशुपति आउन भनिसकेँ। म उतै लागेँ।'
म्यासेज सेन्ड के भएको थियो, सुत्त अर्को म्यासेज आइलाग्यो। अपरिचित नम्बरबाट। म्यासेजमा लेखिएको थियो, 'दाइ, म भावुक विद्रोही। अस्ति नै एउटा कथा पठाकोथेँ। अघि फेसबुक हेर्दा पो थाह पाएँ, हजुर त मरिसक्नुभएछ। दाइ, तपैं त रहनुभएन, तैपनि एकपल्ट अफिसमा मेरो कथाबारे, कुरा गर्दिनुहुन्छ कि? नत्र, तपैंसितै मेरो कथायात्राको पनि अवसान हुन्छ।'
फेरि मोबाइल बज्यो। मित्र हारुकी म मोबाइलमै व्यस्त भएकाले छट्पटिन थाले। फोन अफिसबाट आएको रैछ। सहकर्मी मित्र रैछन्। उनी मुरली मकैझैं पड्किन थाले, 'मित्र, तपैं मरेको खबरले अफिसमा खैलाबैला भा छ। तुरुन्त एउटा फोटो इमेल गर्दिनुपर्यो। संवेदना छाप्ने कुरा छ। अनि एउटा कुरा, अघि भर्खरै तपैंको अबिच्युरी कसले लेख्ने भन्ने कुरा थियो। सबै जेठ १४ कै न्युजलाई पछ्याउँदैछन्। आज त कसैले भ्याउलाजस्तो छैन। आफैं लेख्दिनुस् न!'
लौ, अहिलेसम्म आफ्नो बारेमा आफैंले अबिच्युरी त कसैले लेखेको पढेको थिइनँ। म अलि कठोर भएँ, 'होस्, के मतलब! नलेखे पनि हुन्छ, भन्दिनुस्।'
'त्यसरी कहाँ हुन्छ!' उनी गम्भीर भए, 'नियम भनेको नियम हो। अफिसकै सहकर्मी मर्दा नलेखेर हुन्छ! तपैंलाई पो मतलब भएन। के भोलि हामी मर्नुपर्दैन?'
म हाँसेँ।
'मलाई पशुपति जान हतार भइसक्यो।'
'तर, एउटा सम्भावना छ। यसो गर्नुस् न! भोलि जानुस् पशुपति। आज चंै तपैं मरेको हल्ला नफैलाऊँ। तपैं भोलि पशुपति जानुभयो भने पर्सिका लागि अबिच्युरी लेख्न, तीन जना तयार छन्।'
'म आजै पशुपति गए पनि पर्सि छापे पनि के भो र?'
'त्यसरी पुरानो सम्चार दिनु भएन नि। हाम्रो न्युजरुमको पनि रेस्पोन्सिबिलिटी हुन्छ नि!'
'ल, म सोचुँला।' यत्ति भनेर मैले फोन राखेँ।
छ्या, फेरि फोन बज्यो। यो फेरि अपरिचित नम्बर। मैले हेलो भनेको मात्र के थिएँ, उताबाट मसिनो आवाज आयो, 'दाइ, म तपैंको शुभचिन्तक हुँ। गुरुकुलमा एकदुईपल्ट भेट भएको थियो। तपैं पशुपतिमा हुने थाह पाएर आएको। कहाँ हुनुहुन्छ?'
'ए ए, म आउँदैछु। तीन बजे भनेको थिएँ त।'
'खोइ दाइ, एकजना बूढा मान्छे पनि कुरिरहनु भको रैछ।'
'ल, म हिँडिहालेँ।'
...
सवा १ भैसकेको थियो। सूर्य आकाशको बीचमा थियो। हारुकी र म तिलगंगा आँखा अस्पतालनेर पुगिसकेका थियौं। हाम्रा पसिना खल्खली बगिसकेका थिए। ज्यान फलामझैं तातेको थियो। मान्छेहरू हतारहतार हिँडिरहेका थिए। कहाँ-कहाँ पुग्नु थियो, होला। म त मरिसकेको मान्छे, केको हतार?
'साह्रै गर्मी भयो।' मित्र हारुकीले पसिना पुछ्दै भन्यो, 'आँत नै हरहर भएर आयो। यसो चिसो बियर पिउन पाए त क्या दामी हुन्थ्यो होला, है!'
चिसो बियर? पहिला त पैसाको लोभै लाग्यो। अनि सोचेँ- मरिसकेँ, पैसा के काम। मलाई पनि बियर पिउन त मन नलागेको होइन। यसो अरूको किताब विमोचनमा बाहेक अन्त बियर पिउने सौभाग्य प्राप्त पनि थिएन।
'जाऊँ न त गौशाला चोकतिर कुनै रेस्टुरा खुला छ कि?' मैले शानसहित भनेँ।
'जे होस्, तँ मरेपछि अलि सुधि्रछस्, यार।' मित्र हारुकी खित्त हाँस्यो।
गौशालाचोकबाट रातोपुल झर्ने बाटोतिर एउटा रेस्टुरा खुला थियो। हामी भित्र पस्यौं। धेरै मान्छे थिएनन्। भएकाहरू ममःका डल्ला मुखमा कोचिरहेका थिए। कुनातिर एकजोडी भित्तातिर फर्केर एकअर्काको ओठ ठुँगिरहेका थिए। भ्याटभ्याट घुमिरहेको पंखाले तातो हावा फालिरहेको थियो।
हामी ढोकानेरको टेबुलमा बस्यौं। वेटर आयो।
'दुइटा चिसो बियर।' मैले भनेँ।
'ममः पनि भन न।' हारुकीले आश गर्यो।
'ममः खाने र?' मैले भनेँ, 'घरमा मान्छे मर्दा त कयौं महिना मासु खाँदैनन्। अब आफैं मरेकाले झन् खान मिल्ला र?'
'खोइ, त्यो त थाह छैन।' मित्र पनि कन्फ्युज्ड भए।
जे पर्ला, खाइदिन्छु। मैले अठोट गरेँ- यसो एक हप्तालाई काठमान्डु छाडेर जानेलाई त हिँड्ने बेला एक प्लेट ममः खाइहालुँ लाग्छ भने म त झन् धर्ती नै छाडेको मान्छे। भनेँ, 'ल भाइ, दुई प्लेट बफ ममः पनि लेऊ।'
एक्कैछिनमा बियर र ममः आइपुग्यो। चिसो बियरको एक घुट्को पिएर मित्र हरुकीले आनन्दले आँखा चिम्लँदै भन्यो, 'जिन्दगीको मजा आयो, यार।'
मैले पनि गला हुँदै छातीतिर सरिरहेको बियरको मज्जा लिँदै भनेँ, 'वाह, मृत्युको मज्जा आयो।'
पेट डम्म हुँदा सवा दुई भइसकेको थियो। बिल मागेँ। नौ सय आएको रैछ। हजारको नोट राखेँ र उठेँ। ढोकानेर पुग्नेबेला वेटरले भन्यो, 'सर, बाँकी पैसा?'
'तिमी नै राख।'
वेटर खुसीले करायो, 'सर, फेरि-फेरि पनि आउनुस् है त!'
'आउन्न!' मैले पछाडि नफर्की भनेँ, 'म मरिसकेँ।'
'साइको नै रैछ, यार।' पछाडिबाट वेटरको आवाज आयो।
...
बन्द भएर होला, पशुपति शान्त नै थियो। एकदुई जना मान्छे टहलिरहेका थिए। बियर र ममःले मलाई अल्छी लाग्न थालेको थियो। हतारिएर हिँड्दा पेटभित्रको पानी बजिरहेको थियो। हामी सोझै घाटतिर लाग्यौं। दुईचार जना मान्छे हाम्रै बाटो हेरिरहेका रैछन्।
'ल, मृतक बल्ल आउनुभो' भन्दै जर्याकजुुरुक उठे। मैले हात हल्लाएँ। छ्या, पुलै उद्घाट गर्न हिँडेजसरी पो हल्लाएँ त हात।
एकदुई जनाले फूल बोकेका रैछन्। नजिक आएर फूल दिँदै भने, 'ल, तपंैको नयाँ यात्रा शुभ रहोस्। यो धर्तीमा तपैंको कृतित्व फैलिरहनेछ।'
एकैछिनमा मेरो हात फूलले भरियो। मैले आधाफूल मित्र हारुकीतिर बढाएँ। नेताको पिएझैं उसले फूल सम्हाल्यो।
'अनि हजुर जल्ने प्रोग्राम कतिबेला हो?' एक जनाले सोधे।
'साथीहरू आउँदैछन्। कुर्नै पर्यो। एकछिन टाइम लाग्ला।'
'अलि चाँडै गर्न पाए हुन्थ्यो।' एकजनाले भने, 'म त नयाँबजारदेखि आको। फेरि घर फर्कन ढिला हुन्छ।'
मैले मुन्टो हल्लाएँ।
'दाइ, म कमलेश्वर।' एउटा लिखुरे केटो नजिक आयो, 'अघि फोन गर्ने मै हुँ। गुरुकुलमा एकदुई पल्ट हजुर्सित भेट भएको थियो। हजुर्को मृत्युले दुःखी छु।'
'धन्यवाद!'
कमलेश्वर थोत्रो र पुरानो सर्ट र पाइन्टमा थियो। कपाल बढेको थियो। चप्पल लगाएको थियो। खुट्टाका नङ बढेका थिए।
'म आउनुभन्दा अघिदेखि नै उहाँले कुरिरहनुभएको थियो।' कमलेश्वरले अल्लि पर भित्तामा अडेस लागेका एकजना वृद्धतिर देखायो, 'हजुरको चिता खोज्दै आउन भको रैछ। ठूलो झोला पनि बोक्नु भएको रैछ। हजुर्को आफन्तजस्तो छ।'
मैले ध्यान दिएर हेरेँ। हो त, बूढा ठूलो झोला बोकेर आका रैछन्। कपाल आधा झरिसकेका। ज्यानमा दौरासुरवाल, बाहिर कालो इस्टकोट। गोडामा कपडाका जुत्ता। हाम्रा आँखा जुधे। उनले मुस्कुराएजस्तो गरे। म पनि मुस्कुराएँ। म उनीतिर बढ्नै खोजेको थिएँ, एकजना शुभचिन्तकले मेरो हात समाए, 'अनि, चिताका लागि नाम दर्ता गर्नुभो?'
'छैन त।' मैले भनेँ, 'कहाँ हो दर्ता गर्ने?'
उनले ठेगाना भने र भने, 'चाँडो जानुस्। दाउरा, घ्यु, घाटे सप्पैको व्यवस्था गर्नुपर्छ। अनि, एउटा कुरा, चिता नम्बर दुई माग्नुहोला है। यो लकी हुन्छ रे मर्नेलाई।'
'कसरी थाह पाउनुभो?' म त अचम्म।
'सुनेको नि!'
'जल्नेले भनेको?'
'होइन।' उनी हाँसे, 'ज्योतिषीहरूले भनेको। चाँडो गइहाल्नुस्।'
मैले मित्र हारुकीलाई इसारा गरेँ। हामी नाम दर्ता हिँड्यौं। कमलेश्वर पनि पछि लाग्यो। वृद्ध मलाई केही भन्न खोज्दैथे। हारुकीले मलाई तानिहाल्यो।
पुक्क गाला उठेका एक व्यक्ति अफिसमा बसेका थिए। थकित तरिकाले कुर्सीमा बसेका थिए। उनले सोधे, 'मर्नेको नाम?'
मैले नाम भनेँ।
'मर्नेको तपैं को?' उनले मलाई गढेर हेरे।
'मै हुँ।'
'ए ए।' उनले फाइलतिर घोप्टिँदै भने, 'कलिलैमा मर्नुभएछ। अनि कति केजी हुनुहुन्छ? हाइट कति हो?'
मैले ७५ केजी र साढे पाँच फिट भने। उनले के-के जाति टिप्दै भने, 'ल, आफ्नो मृत्यु आफैं दर्ता गर्न आउनेलाई १५ प्रतिशत छुट छ।'
आम्मामा, मरेपछि पनि पैसाको त खोलै बग्दो रैछ। दाउराको, पूजाआजाको र घाटेको पैसा जोड्दा त चिटचिट पसिना नै आयो। चित्त बुझाएँ, आफैंमा लगानी त हो नि!
'ल, तपैंको यात्रा शुभ रहोस्!' उनले फाइल बन्द गर्दै भने, 'तपैंले खोजेकै चिता मिलाइदिएको छु। सप्पै सामान चितामै आउँछ।'
म नमस्ते गरेर निस्केँ।
घाटमा फर्किंदा अलिकति मान्छे घटिहालेछन्। एकदुई नयाँ मान्छे भने मेरो बाटो हेर्दै रैछन्। देख्नेबित्तिकै उनीहरू मतिर आए। एकजनाले भने, 'तपैंलाई हार्दिक संवेदना।'
'धन्यवाद।'
'हामी अलि अघि आको।' उनले भने, 'तपैंको अनुहार हेर्नुथियो, हेरिहाल्यौं। तपैं जल्दासम्म पर्खिन सकिएलाजस्तो छैन। बन्दका दिन ढिला भयो भने घरमा चिन्ता गर्लान् फेरि।'
'हुन्छ। म मरिसकेको मान्छेको चिन्ता नलिनुस्।' मैले भनेँ, 'हजुरहरू घर गए हुन्छ।'
दुईतीन जनाले एकछिन मतिर हेरे, अनि गए।
दुईजना मान्छे काठ बोकेर आइरहेका थिए। उनीहरूले मेरो चिता बनाउने काठ पो ल्याएका रैछन्।
'दाइ।' कमलेश्वरले भन्यो, 'एउटा सानो कुरा गर्नु थियो।'
ऊ केही भन्न खोज्दैथ्यो, मोबाइल बज्यो। विवाहित प्रेमिका पो रैछ। उनले सोधेकी थिइन्, 'पशुपतिको कार्यक्रम भोलि सार्ने भयौ?'
'म पशुपतिमै छु।' मैले उत्तर लेखेँ।
साढे तीन भइसकेको थियो। बिहान एसएमएसमा पशुपति आउँछु भन्नेहरू त कोई पनि आइपुगेका थिएनन्। मलाई अलिअलि छटपटी हुन थालिसकेको थियो। त्यसैबेला एकजना मदिरामस्त मान्छे ढल्पलिँदै आयो। को रैछ?
उसले चितामाथि थुप्रिएका काठतिर हेर्यो र सोध्यो, 'लास खोई?'
'मै हुँ।' म हाँसेँ, 'हजुरको परिचय?'
'म घाटेज्यू।' ऊ बम्कियो, 'यस्तो पनि हुन्छ? न त चिता तयार भा छ, न त मलामी नै छ। मसँग टाइम थोरै छ। चाँडै जल्ने तयारी गर।'
'साथीहरू आउँदैछन्।' मैले नम्र भएर भनेँ, 'बाटोतिर होलान्। बन्द परेर समस्या भाको हो।'
'बन्दमा मर्ने हो?' घाटेले भन्यो, 'मसँग टाइम छैन। भोलि गरे हुन्न?'
म हाँसेँ।
'ल, म दुई खिल्ली चुरोट खार आउँछु। त्यतिबेलासम्म तयार हुनु।'
ऊ गयो।
घाटेसित कुरा गर्दैगर्दा दुईजना मानिस टाप कसिसकेछन्। मलाई तारन्तार म्यासेज आइरहेको थियो- म पुग्नै लागेँ/पुगिसकेँ। तर कोई आइपुगेको थिएन। त्यसैबेला झुम्पाको फोन आयो।
'कहाँ छौ?' उसले हतारिँदै सोधी।
'पशुपति।' मैले भनेँ, 'खोई त आको?'
'हेर न म स्कुटी लेर आउँदैथेँ।' उसले निरास स्वरमा भनी, 'बानेश्वर चोकमा बन्दकर्ताले हावा खुस्काइदे।'
'अनि?'
'म पशुपति जान लाको पनि भनेँ तर मानेनन्।' उसले भनी, 'हेर न बल्लतल्ल किनेको स्कुटी। तोडफोड भयो भने त!'
म चुप रहेँ।
'यसो गर प्लिज।' उसले आग्रह गरी, 'भोलि जल न। जसरी हुन्छ आउँछु के!'
'ल, म कोसिस गर्छु।'
अचम्मै भयो। मैले यस्तो होला भन्ने सोचेको पनि थिइनँ। कोई पनि आएन। न त एकेडेमी सदस्य पिकासो, न त लालटिन टिभी। न त मेरा हितैषी मित्रहरू। घाटमा भएका एकदुई जना पनि चुरोट तान्न गएकाथे, फर्केनन्। साँझको घाम बिस्तारै आकाशलाई रक्ताम्य बनाउँदै गयो।
आखिर घाटमा एक वृद्ध, कमलेश्वर, हारुकी र म रह्यौं।
त्यसैबेला घाटे फर्कियो।
'यस्तो पनि हुन्छ। मेरो अफिस टाइम सक्यो।' घाटेले भन्यो, 'सयौं मान्छे जलाइसकेँ, तिम्रोजस्तो अनम्यानेज्ड मराइ त कसैको थिएन हो!'
म वाल्ल परेँ।
'ल, अब तिम्लाई भेट्न घाटमा कोई आउलाजस्तो छैन।' उसले भन्यो, 'म पनि गएँ। बूढी घरमा छैन। छाउराछाउरी भोकै पर्छन्। बरु भोलि दस बजे नै आउँछु।'
ऊ गयो।
ममा झन् तनाव थपियो। मेरो तनाव देखेर कमलेश्वर छेउमा आयो। एक खिल्ली चुरोट मतिर बढाउँदै भन्यो, 'ल दाइ, चुरोट तान्नू, तनाव कम हुन्छ।'
मैले चुरोट ओठमा च्यापेँ। कमलेश्वरले लाइटर बाल्यो।
त्यसैबेला अघिदेखि मलाई केही भन्न कुरिरहेका वृद्ध नजिक आए। र, भने, 'बाबु, एउटा गोप्य कुरा गर्नु छ।'
र, उनले मेरो हात समातेर अलिपर लगे र मेरो कानमा भने, 'हेर्नुस् बाबु, मेरो पनि सल्लाह मान्नुस्। जल्ने कुरा ३ चार दिनपछि सार्नुस्।'
'अनि हजुर को नि?'
'म यमदूत हुँ, बाबु।'
लौ बा, यमदूत यस्ता मायालाग्दा बूढा पो रैछन्। धर्मशास्त्रमा त क्रुर, हेर्दै डरलाग्दो वर्णन गरिएको हुन्थ्यो।
'बाबुले पत्याउनु भएन?' उनले मेरो हात समाए, 'म यमदूत नै हुँ। नेपालाँ पोस्टिङ भाको ४४ वर्ष भो। पहिला तन्नेरी थेँ, गन्धैले मान्छे मर्न लाको थाह पाउँथँे र आउँथेँ। अहिले अलि गन्ध सुघ्न सक्दिनँ। बल्लतल्ल तिम्लाई खोजेँ।'
'अब म के गरूँ त?' मैले सोधेँ।
'हेर्नुस् बाबु, तपैं अहिले नै जल्नुभो भने म तपैंलाई लिएर हिँडिहाल्नुपर्छ। जलिहाल्नुहुन्छ कि भनेर झोलै बोकेर आछु। महिनौ हिँड्नुपर्छ।' उनले लामो सास फेरे, 'म ऐले क्षयरोगको औषधी खाइरहेको छु। तपैंले जल्ने कुरा एकदुई दिनपछि सारे, म आभारी हुने थिएँ।'
मैले उनको अनुहार हेरेँ, उनका ओठ काँपिरहेका थिए।
अब के गर्नु! झमक्क रात परिसकेको थियो। मित्र हारुकी पनि छट्पटिरहेका थिए। मैले यमदूततिर हेरेर भनेँ, 'तपैं जानुस्।'
उनले झोला बोके। मैले सोधेँ, 'अनि बाजे कहाँ बस्नुहुन्छ?'
'स्यम्भुमा ममः पसल खोलेको छु, बाबु। सिटी टप ममः नाम हो। जसलाई सोधे पनि देखाइदिन्छन्।'
उनी गए।
'हो, दाइ आज क्यान्सिल गर्नुस्।' कमलेश्वरले भन्यो, 'दाइ, खासमा केही दिन यतै बस्नुस्। म तपैंलाई एक ठाउँ लैजान्छु।'
'कहाँ?' मैले चुरोटको ठुटो पैतालाले कुल्चेँ।
'भूतमान्डु।' उसले सानो स्वरमा भन्यो, 'भूतमान्डुमा तपैंको खाँचो छ। त्यसैले त म बिहानैदेखि खबर गर्न बसेको।'
'भूतमान्डु?' म कन्फ्युज्ड भएँ।
'हो दाइ, हामी भूतहरूको पनि त सहर छ, काठमान्डुमा।'
'हामी भूत?'
'दाइ, म पनि भूतै हुँ नि!' ऊ हाँस्यो।
मित्र हारुकीको अनुहार बिग्रियो।
'लौ, कहिले मरेका हौ?'
'१३ वर्ष भो, दाइ।' उसले भन्यो, 'म अलि तर्साउन, मान्छेलाई बिरामी बनाउन असफल भएँ। अहिले साहित्य र कला बिट हेर्छु।'
'साहित्य र कला बिट?'
'कुनै साहित्यकार र कलाकार मरे भने म नै भूतमान्डुको निमन्त्रणा दिन आउँछु। त्यै भएर त गुरुकुल गइरहन्थेँ।'
लौ, अचम्म।
'अनि कहाँ छ भूतमान्डु?'
'दाइ, ठ्याक्कै भन्न सक्दिनँ।' उसले भन्यो, 'रत्नपार्कबाट केही माइक्रो छन्, त्यहाँ जाने।'
'म त प्रायः रत्नपार्क गइरहन्छु, मैले त कहिल्यै भूतमान्डुबारे सुनिनँ त।'
'अनि काँ दाइ, भूतमान्डुको माइक्रो त मरेपछि मात्रै देखिन्छ।' उसले भन्यो, 'एक्सिडेन्ड भएर काम नलाग्ने भका सबै गाडी भूतमान्डुको रुटमा चल्छन्।'
नयाँ कुरा थाह भो। मैले सोचेँ- न त जिउँदो रहेँ, न त जल्न नै पाएँ। न त मलामी नै पाएँ। भावीको लेखा। के गइदिऊँ त, भूतमान्डु?
'ल, म भूतमान्डु जाने कि नजाने भनेर भोलि सोच्छु है त!'
कमलेश्वरले मुन्टो हल्लायो।
आखिर धेरै मित्रहरूले सोचे होलान्- मरेको मान्छेसित के संगत गर्नु! मरेको मान्छे काम लाग्ने पनि त होइन नि। त्यै भएर आएनन्। यत्रैसित्ति। मलाई पनि जल्न केको हतार!
जीवनकालभरि कन्जुस थिएँ, मरेपछि मस्ती गर्छु।
मैले अलि ठूलो स्वरमा भनेँ, 'ल साथी हो, ठमेल जाऊँ। पैसाको चिन्ता नगर। आज सेलिब्रेसन गर्नुपर्छ।'
...
डान्स रेस्टुरामा निर्वस्त्र केटीहरू नाचिरहेका थिए। ठुल्ठुलो आवाजमा म्युजिक बजिरहेको थियो। चुरोटको धुवाँ उडिरहेको थियो। मातमा मान्छेहरू वेट्रेसलाई अँगालो मारिरहेका थिए।
हारुकी, कमलेश्वर र म भित्र पस्यौं।
हाँस्दै एउटी अर्धनग्न युवती नजिक आई र कुनातिरको टेबुलमा लगी। हारुकी र कमलेश्वर खिस्स-खिस्स हाँसिरहेका थिए। म भने असाध्यै नर्भस भएको थिएँ।
हाम्ले बियर माग्यौं।
एउटी युवती मेरो छेउमा आएर बस्दै मुसुक्क हाँसी। र, सोधी, 'पहिलोपल्ट आउनुभाको?'
'हो।'
'तपाईंलाई 'केही' चाहिए मलाई भन्नुहोला। म ख्याल राख्छु।' उसले आँखा हेर्दै भनी। उसको इसारा अर्कैतिर थियो।
'मलाई केही चाहिएलाजस्तो छैन।' मैले भनेँ, 'किनभने, म मरिसकेँ।'
'उस्।' ऊ हाँसी, 'त्यै भएर त स्वर्गमा आइपुग्नु भो नि। ह्याँ आइसकेपछि त कत्ति लास भइसकेकाहरू जुरुक्क-जुरुक्क उठ्छन्।'
म हाँसेँ।
'देख्नुभो दाइ, मान्छेहरू कत्ति मोजमस्ती गर्दा रैछन्।' कमलेश्वरले भन्यो, 'तपंै भूतमान्डु हिँड्नुस् क्या। भूत बनेपछि रमाइलो हुन्छ। अर्को कुरा, अहिले न्युरोड एरिया खाली छ। नयाँ भूत पोस्टिङ हुन बाँकी छ। म तपैंका पक्षमा लबिङ गरुँला।'
'साँच्चै हो?'
'हो दाइ, न्युरोडमा एक वर्षमात्र पोस्टिङ भो भने करोडौं कमाउँछन् भूतहरू।' कमलेश्वरले मेरो कानमा मुख जोत्दै भन्यो, 'किनभने, दाइ सारा मुलुकमा भूतहरूकै शासन जो छ।'
हाम्रो कुरा सुनिरहेको हारुकी हाँस्यो, 'मलाई पनि मरूँमरूँ लाग्यो त। रमाइलो हुने रैछ।'
म चुप रहेँ। किनभने, मरेकै दिनदेखि मैले जिन्दगी जिउन सिकेको थिएँ।

source .topnepalnews.com
No comments:
Post a Comment