समय, परिस्थिति र भाग्यको चक्रव्यूह यस्तो बनिदियो कि आज मलाई आफ्नै देश नेपाल फर्कने मन नै मरेर गयो। यसका पछाडि कैयौँ अनुत्तरित प्रश्न र छातीभित्र दबिएका कारणहरू छन्, जुन सायद कुनै दिन मेरो जीवनको डायरी वा किताबका पानाहरूमा आँसुका अक्षर बनेर कोरिएलान्। तर विडम्बना कस्तो छ भने, यो बेगानी देश, यो विदेशी भूमिमा पनि धेरै दिन टिकिरहने अवस्था र ऊर्जा अब ममा बाँकी छैन। म एउटा यस्तो दोबाटोमा उभिएको छु, जहाँबाट अगाडि बढ्ने बाटो धमिलो छ र पछाडि फर्कने पुल भत्किसकेको छ।
मलाई नजिकबाट चिन्नेहरूलाई राम्ररी थाहा छ मैले यो देश छोड्नु अघि ५० औँ वटाभन्दा धेरै फेसबुक स्टाटसहरू "नेपालमै केही गर्नुपर्छ, आफ्नै माटोमा पसिना बगाउनुपर्छ, देशमै सम्भावना छ" भनेर युवाहरूलाई प्रेरित गर्दै लेखेको थिएँ। मलाई देशको माया नभएको कहाँ हो र? मुटु तो अझै पनि त्यही नेपालकै माटोको सुगन्धका लागि धड्किन्छ। तर, यो बितेका तीन वर्षको कठोर प्रवासले मलाई जे सिकायो, जे भोगायो र जुन यथार्थको ऐना देखायो, त्यो मेरो ब्याचलर सम्मको डिग्री, विश्वविद्यालयको पढाइ र किताबी ज्ञानले कहिल्यै दिन सकेको थिएन। डिग्रीले मलाई अक्षर चिन्न सिकायो, तर यो प्रवासले मलाई 'मान्छे' चिन्न सिकायो।
यो तीन वर्षको भोगाइमा मैले आफन्त चिनेँ, परिवार चिनेँ, देश चिनेँ, दाजुभाइ चिनेँ, कठोर मिहिनेत चिनेँ र समग्रमा "दुःख" के हो भन्ने वास्तविक परिभाषा आफ्नै छातीमा घाउ लागेपछि चिनेँ। पैसा कमाउनु त केवल एउटा माध्यम मात्र रहेछ, यहाँ त मान्छेको असली अनुहार र सम्बन्धहरूको आयु चिन्न पाइने रहेछ।
परदेशको यो सुनसान कोठामा जब म टोलाएर बस्छु, तब छोराको अनुहार आँखाभरि नाच्न थाल्छ। भेट्ने जति सबैले भन्छन्, "छोरा दुरुस्तै तिमी जस्तै छ, तिम्रो प्रतिविम्ब हो उ।" जब म यहाँ ऐनामा आफ्नो थाकेको अनुहार हेर्छु र मोबाइलको तस्बिरमा उसको त्यो अबोध, निष्पाप अनुहार नियाल्छु, मुटु गाँठो परेर आउँछ, श्वास रोकिइला जस्तो हुन्छ। आफैँलाई धिक्कार्दै मनले भन्छ "म कस्तो अभागी र लाचार बाउ होला, जसले आफ्नो मुटुको टुक्रालाई, आफ्नै स्वरूपलाई छाडेर सात समुद्रपारि आउनुपर्यो।"
सन्तानको सुन्दर भविष्यकै लागि जब उसको आमा पनि कठोर बाध्यता बोकेर परदेशिनु पर्यो, तब त्यो सानो छोरो मप्रति यसरी आश्रित भयो, मप्रति उसको प्रेम यति गहिरो र कारुणिक बन्यो कि उ मबाहेक संसारमा कसैलाई देख्दैनथ्यो। म घरमा हुँदा उसले मलाई एक पल पनि आफ्नो आँखाबाट ओझेल हुन दिँदैनथ्यो। म ट्वाइलेट छिर्दा समेत त्यो सानो बच्चा बाहिर ढोकामा कान थापेर कुरी बस्थ्यो र सोध्थ्यो—"बा, कहिले निक्लिने? बा, तिमी भित्रै छौ नि?" उसको त्यो अबोध आवाज, त्यो व्यग्र पर्खाइ र मप्रतिको त्यो आशक्ति सम्झिँदा अहिले पनि यो परदेशको कोठामा मेरो छाती चर्किएर आउँछ। हामी बुढाबुढीले छोराछोरीको भोलिको सुखका लागि आज आफ्नो वर्तमान यसरी परदेशमा आहुति दिनुपरेको छ, सम्झिँदा मन भक्कानिन्छ।
अनि छोरी नानी... मेरी प्यारी छोरी! उसको माया र परिपक्वताको त म कुन शब्दमा बयान गरुँ? सम्भवतः यो सिङ्गो संसारमा ११ वर्षकी मेरी छोरी जत्तिको बुझ्ने, जिम्मेवार र महसुस गर्न सक्ने नानी सायदै होलान्। परिस्थितिलाई बुझेर, आफू सानी भएर पनि उसले जसरी एउटा परिपक्व मान्छेजस्तै मलाई सम्हाली, आफ्नो सानो भाइको आँसु पुछिदिई, त्यो सम्झिँदा म निसब्द हुन्छु। मेरो ओठ काँप्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यो कोलाहल र भिडमा, मेरो गलामा खादा लगाइदिँदै गर्दा मेरो छोरा र छोरीले मलाई हेरेको त्यो अन्तिम क्षण, उनीहरूका ती ओसिला र बिलौना गरिरहेका आँखाहरू... अहँ, म मरेर जाँदा पनि भुल्न सक्दिनँ। मलाई बिदा गरेर फर्कँदा उनीहरूको सानो मनमा कस्तो आँधी चलेको थियो होला? त्यो क्षण सम्झिने बित्तिकै आज पनि परदेशको यो एकान्तमा म भक्कानिन्छु, तकिया भिजेको पत्तै पाउँदिनँ।
हुन त म वास्तवमै निकै भावुक मान्छे हुँ। अरूको सामान्य दुःख देख्दा पनि आँखा रसाउने, कसैको पीडामा पग्लिने मेरो जन्मजात स्वभाव हो। तर आफ्नै जीवनका यी बज्रपातहरू र चोटहरूले मलाई भित्रभित्रै खाँदै लगेर यतिबेला निकै शून्य र निःसहाय बनाइदिएका छन्।
मलाई राम्ररी थाहा छ, मेरो भाग्यको पानामा सुखको मसी धेरै लेखिएको छैन। मैले भोग्न बाँकी अझै धेरै पिडाहरू छन्, सहन बाँकी धेरै आँसुहरू छन्, लड्न बाँकी धेरै आँधीहरू छन्। आखिर मेरो जन्म पनि सजिलै, सुख र सुविधाको ओछ्यानमा कहाँ भएको थियो र? संघर्ष मेरो नसा-नसामा बगेको छ।