नेपाली समाचार ,Nepal Flag

Saturday, November 15, 2025

आत्मा बेच्नेहरु

तिन लिटर पेट्रोलका लागि
दलको झन्डा बोकेर उफ्रिने ए हुतीहारा हो,
एक छाक मासुभात र एक कप चियामा
आत्मा बेच्न सकिने रहेछ भनेर सोच्छौ?

सुन् 
देश तिम्रो बाबुको बिर्ता होइन,
न नेताको झूटो भाषणले
अस्मिता तौलिने बजार हो।

आस्थाको पोको बोकेर
ढोंगी भक्त बनेर हिंड्नेहरू,
यही आत्मा किन्नेहरूले भोलि
तिम्रै छोराछोरीको कन्चटमा गोली तेर्स्याउनेछन्।

आज आफू बेच्नेहरूले
भोलि आमा बचाउने ग्यारेन्टी
कुन किताबमा छ?
कसले दिएको छ त्यो वाचा?

ए झन्डा बोक्ने आमाबाबु हो 
तिम्रा नातीनातिनी हुर्किँदैछन्,
तर चेत बहिरा भएको छ।
खाडीमा जलिरहेको
लाखौँ युवाको रगत र पसिनाले चलेको देशमा
तिमीहरू त्यही रगत पसिनाले किनेको
झन्डा–टिसर्टमा गर्व गर्छौ 
दुखः तिमीले देख्दैनौ,
छोराछोरीका सपनामा टाँसिएको विदेशी धुलो मात्रै देखिन्छ।

मासु–भातको थालमा
राष्ट्रभक्ति चपाउनेहरू,
क्षणभरको रमाइलोका लागि
देश डुबाउँछौ 
र हाँसो ठटाउँछौ।

सुन गद्दार 
देश मजाक होइन,
यो माटो हो, रगत हो, शहीदको मृत्यु हो।
गाउँहरू खाली हुँदैछन्,
शहरहरू उजाडिँदैछन्,
देश खरानी बनेको छ 
तर तिमीहरूको रातको चुस्स–चुस्स
अझै रोकिन्न।

आजको नेपाल हेर्नु 
सीमाना मिचिँदैछ,
लिपुलेक–कालापानी हराएको छ।
एकातिर चीनको ऋणले बाँध्छ,
अर्कोतिर  MCC ले घाँटी अठ्याउँछ।
युवा बालुवामा पसिना बगाउने,
तर नेताको पेटमा करोडौँ डुबाउने 
यही हो हाम्रो भाग्य?

ललिता निवास, वाइडबडी,
भूकम्पपीडितको त्रिपाल,
अस्पतालमा अक्सिजन नपाएर मरेका बाबुआमा —
सबै तिमीहरूको मौनता र भयको परिणाम हुन्।

हिमाल पग्लिँदैछ,
तर तिमीहरूको लोभ पग्लिँदैन।
नदी सुक्दैछन्,
तर नेताको झूटको भेल रोकिँदैन।
स्कुलमा किताब छैन,
तर नेताको फोटो झुन्डिएको छ।
गाउँमा बाटो छैन,
तर ऋणको चक्कु झन् गहिरिँदै छ।

ए मान्छे 
मान्छे बन्ने हैसियत कहिले बनाउँछौ?

एउटै दिन
छोरीहरूले सोध्नेछन् 
“बुबा, किन बेच्यौ देश?
किन तिन लिटर पेट्रोलमा बदल्यौ भविष्य?
किन हामी विदेशी झण्डामुनि घुँडा टेक्न बाध्य भयौं?”

त्यो दिन
माथि हेर्न लाज लाग्ला,
मुनि हेर्न जमीन नहोला 
किनकि
इतिहास लेखिसक्छ 
देश बेच्नेहरूको कुनै धर्म हुँदैन,
तिनीहरू सबैका साझा शत्रु हुन्।

यो आगो आजै निभाऊ,
नत्र सारा नेपाल जल्नेछ 
र तिम्रै सन्तानले तिमीलाई श्राप दिनेछन्।

No comments:

Post a Comment