आत्मसंवाद
सन्तोष सिम्खडा
मैले लेख्न छाड्दा देश बन्छ भने बनाऊँ,
मैले चिन्ता नलिँदा तिमी खुशी हुन्छौ भने होऊ।
म मर्दा तिमीलाई शान्ति मिल्छ भने शान्त होऊ।
मेरा कलमहरू म बन्द गरीदिन्छु,
मेरा धड्किँदा मुटुहरू पनि रोकिदिन्छु।
तर सम्झ
सत्यलाई चुप गराएर कुनै देश बन्दैन्,
कलम रोकेर कुनै आत्मा शान्त हुँदैन।
मैले लेखेको प्रत्येक शब्द
कसैको विरोध होइन,
कसैको भित्तामा चोट पुर्याउने प्रयत्न पनि होइन
त्यो त केवल अन्याय, पीडा र मौनतालाई
आवाज दिन खोज्ने साहस थियो।
धेरैले भने
“ ए भगौडा देशको चिन्ता लिएको”,
तर म कहाँ पलायन भए र?
देश त मभित्रै बोकेको छु
त्यो पीडा, त्यो माया, त्यो सपना,
सबै यही हृदयमा जिउँदै छन्।
लेखन छाड्न सक्छु,
तर देशलाई बिर्सन सक्दिनँ।
किनकि म बाँचुन्जेल देश मेरो सासमा हुन्छ,
र म नबाँच्दा पनि
मेरो कलमले छोडेको सन्देश
कुनै न कुनै हृदयमा धड्किरहनेछ।
कसैले भन्यो
“तँ विदेशको माटोमा हरायिस्।”
तर म त हिमालको हिउँ बोकेर हिँडेको छु,
गंगा-कोशीको बहाव मेरो रगतमा बगिरहेको छ।
विदेशी आकाशमुनि पनि
नेपाली आँसु झर्छ,
नेपाली सपना उड्छ।
कसरी भुलुँ त्यो माटो,
जहाँ आमा रोपाइँ गीत गाउँथिन्,
बाबा हलो जोत्थे,
र बाल्यकालको खेतमा
म आफ्नै भविष्य रोप्थें।
मौन बसुँ भने तिमीलाई सजिलो हुन्छ र?
मेरो कलम थन्क्याउँदा तिम्रो सिंहासन बलियो हुन्छ र?
तर हेर्छु
मौनताको यो अँध्यारोमा
बालबच्चा भोकले रोइरहेका छन्,
गाउँहरू खाली हुँदैछन्,
सपनाहरू मरिरहेका छन्।
यदि मेरो एउटा शब्दले पनि
एउटा आँखा खोल्छ भने
किन रोकूँ यो कलमको धार?
म मर्छु भने शान्ति छाउँछ र?
मेरो शवमाथि फूल चढाएर तिमी मुस्कुराउँछौ र?
तर मरेपछि पनि मेरो आत्मा कराउँछ
“उठ, बोल, लड!”
किनकि माटोको ऋण तिर्न बाँकी छ,
पीडितहरूको बदला लिन बाँकी छ।
मेरो रगतमा मिसिएको यो देशको माया
कुनै सीमाना, कुनै पासपोर्टले रोक्न सक्दैन।
समय आउँछ
जब मेरो कलम फेरि उठ्नेछ,
वा मेरो सन्देश कुनै नयाँ हातमा पुग्नेछ।
त्यो दिन तिम्रा झूटा महलहरू ढल्नेछन्,
सत्यको ज्योति फेरि बल्नेछ।
म बाँचुँ वा नबाँचुँ,
यो कविता मेरो अमर प्रमाण हुनेछ
देश मेरो मुटुमा छ,
र मुटु रोकिए पनि यो सन्देश अमर रहनेछ।
मलाई गाली गर, निर्वासित भन,
तर मेरो कलमको आगो निभाउन सक्दैनौ।
किनकि प्रत्येक अक्षरमा एउटा क्रान्ति लुकेको छ,
प्रत्येक विराममा एउटा विद्रोह सास फेरिरहेछ।
मौनताको यो जंजीर तोडेर
फेरि लेख्नेछु, फेरि बोल्नेछु
जबसम्म न्यायको लडाइँ चलिरहन्छ,
मेरो कलम अमर रहनेछ। 🇳🇵✍️
No comments:
Post a Comment