नेपाली समाचार ,Nepal Flag

Tuesday, November 25, 2025

मजदुरको कथा

काममा आएको भोलिपल्टै
पचासौँ तला माथिबाट
डोरीमा झुन्डिएर
आफ्नै साससँग सम्झौता गर्नुपर्छ
जीवन पनि त्यो डोरी जस्तै
कुनैबेला चुँडिएला कि भन्ने डर।

घामले छाला पोल्छ,
हावाले हड्डीसम्म चिस्याउँछ,
तर उसको हात चलिरहन्छ
किनकि घरमा
आमाले छोराको फोटो छुँदै भन्छिन्,
“ठिकै छस् होला नि त्यहाँ...”

उसले पसिनाले भिजेको आँखा
बुझेर तल्लो सडक हेर्छ
त्यो सडकमा
देशकै सबैभन्दा ठूलो प्राण
रातो बाकस बनेर बगिरहेको हुन्छ
—रेमिटेन्स।

देश चल्छ भने
यिनै रातो बाकसले,
देश टिक्छ भने
यिनै पसिनाको च्यापटाले,
देश बोल्छ भने
यिनै डोरीमा झुन्डिएको मजदुरको
निःशब्द चीत्कारले।

देश थामिन्छ भने
भिजेको ज्याकेटभित्र लुकाएको
बाबुको अपूर्ण सपनाले थामिन्छ।

देश बग्छ भने
रातो बाकसमा भरिएको
नुनिलो पसिनाको बाटो भएर बग्छ।

देश बोल्छ भने
अवसरविहीन युवाको
चिच्याइरहेको मौनताले बोल्छ।

देश टिकिरहन्छ भने
बच्चाको अनुहार सम्झँदै
जोखिमका तला चढ्ने कामदारको
धड्कनले टिकिरहन्छ।
देश उठ्छ भने
दलहरूको झूट होइन
विदेशमा जुत्ता च्यातिँदा पनि नटुट्ने
आत्माभिमानले उठ्छ।

तर विडम्बना हेर्नुस
दशकौँदेखि पुराना दलहरूले
हाम्रो भावनामाथि यति धेरै
खेलबाड गरे,
यति धेरै बलात्कार गरे आशाहरूको,
कि जनता आज
आफ्नै देशमा होइन,
आफ्नै भाग्यसँगै परदेशिएको छ।

हाम्रा भोट
बारम्बार बेचिन्छन्
उही भ्रष्ट, उही दलाल,
उही मुखैमा विकास बोकेर
मनभरि सौदाबाजी ल्याउनेहरूलाई।
हिजोको झूटलाई
भोलिको सत्य जस्तो मानी
फेरि–फेरि थमाइन्छ
निश्छलभन्दा निश्छल भोट।

अब त परिवर्तन
चिहानमै निदाएको आशाजस्तो
बिस्तारै कराउँदै उठ्दैछ
“भोट बदल, सोच बदल,
दशकौँका झूटहरूको
अन्त्य गर।”

डोरीमा झुन्डिएको त्यो मजदुर
देशका नाममा ज्यान दिनेछ
तर देशका नाममा
अब फेरि झूट सुन्न सक्दैन।
राता बाकस बोक्ने हातहरू भन्छन्
“हामीले देश धान्दै आएका छौँ,
अब हामीले नै
नेता पनि छान्नेछौँ।”

No comments:

Post a Comment