नेपाली समाचार ,Nepal Flag

Wednesday, October 2, 2013

प्रेम पत्र

मुटु भत्काउने मौनताबीच रहेका रात बित्ने गर्छ तिम्रो सम्झनामा र म सम्झने गर्छु हाम्रो अधुरो प्रेम कथा जुन कथाको एउटा पात्र तिमी अर्को पात्र सिर्फ म । छुट्ने बेलामा अमुक अंकमाल गर्दै अश्रुधारा चुहाएर भनेका थियौ, 'सुन्तली मेरो आगमनको प्रतिक्षामा बस है । सधैको
लागि जान लागेको कहाँ हो र ? पगली  हाम्रो सुन्दर संसारको आधार लिएर दुई वर्षमा आउनेछु, त्यति खेरसम्म मेरो प्रतिबिम्ब समेटेर बस्नु ।  म तिम्रो सिउँदोमा गुराँस सजाउन अवश्य आउनेछु ।भन्दै बिदाइको सांकेतिक हात हल्लाउँदै ऊ त्रिवुभन विमानस्थलको मूलगेटबाट भित्र पस्र्दै मबाट ओझेल भएर रोजगारीका लागि कतारको गएको थियो राज ।
राज मेरो पहिलो प्रेम, मेरो जीवनको आधार अथवा मेरो सम्पूर्ण संसार । एक अर्थपूर्ण सम्बन्धको सुरुवात । मेरोबीचको प्रेम सम्बन्ध हाम्रो परिवार, गाउँ समाज सबैलाई अवगत भएको थियो । हामी एक अर्कालाई प्रेम गथ्र्यौ सच्चा हृदयदेखि । हामीबीचमा विवाहको कुरा पनि भएको हो तर राजले आफू केही सक्षम भएपछि विवाह गर्ने सोच जनाएकोले मैले पनि उसको कुरालाई नकारात्मक रूपमा लिन चाहिन । हामीले गाउँ र समाजको हितविपरीत वा प्रेमको परिधिको धेरालाई कहिले तोडेनौं । हामी एक अर्का समाहित थियौं, एक अर्काप्रति हाम्रो विश्वास थियो, श्रद्धा र सम्मान गथ्र्यौं ।

राज रोजगारीको सिलसिलामा कतार पुग्यो । राजले पुगेपछि मलाई फोन गर्‍यो, 'सुन्तु यहाँ पनि सबै राम्रो छ, काममा भोलिदेखि जान्छुहोला, अलि हावापानी हाम्रोभन्दा फरक रैछ, धेरै साथीभाइहरू नेपाली नै हुनुहुन्छ मेरो काम गर्ने कम्पनीमा पनि, त्यसैले तिमीले मेरो चिन्ता नगर आफ्नो पढाइलाई निरन्तरता देऊ ल । अनि मेरो घरमा पनि बुबा आमा मात्र हुनुहुन्छ सन्चो बिसन्चो के कसो हुन्छ यसो कलेज जाँदा आउँदा पस्ने गर है । भन्दै फोनमा केही कुराहरू भए । राजसँग परोक्ष फोनमा संवाद गर्दा सकेसम्म ऊ विचलित नहुने प्रयास गथ्र्यो । तर उसको कम्पित स्वर आफन्तसँग छुट्टनिुको पीडा, जन्मभूमि छोड्दाको पीडा झल्कन्थ्यो जति नै लुकाउन खोजे पनि । मैले पनि आफूलाई सम्हालेर हाँसेर यहाँको चिन्ता नगर म छु नि तिमीले आफ्नो ख्याल गर म त परिवारको साथमा छु, आफ्नो देशमा छु भन्ने ढाडस दिएँ उसलाई । हामी नियमित सम्पर्कमा नै रहिरहेका थियौं । कहिलेकाहीं मलाई फोन गर्न अलि ढिलो गर्यो भने म कलेजबाट र्फकंदा उसको घरमा बुबाआमालाई भेट्ने बहाना पारेर जान्थे अनि उहाँहरूले छोराको फोन आथ्यो सुन्तली पस्छे होली नि कलेजबाट कहिलेकाहीं भनेर सोधेको थियो भन्दै गफ गर्नुहुन्थ्यो । म अनि मनमनै मख्ख पर्थें, जे होस् मलाई फोन नगरे पनि सम्झिरहेको रैछ राजले भनेर ढुक्क हुँदै त्यहाँबाट घरतिर लाग्थें ।

समयहरूसँग दिनहरू बदलिँदै गए । राज गएको पहिलो महिना, दुई महिना हुँदै वर्ष दिन पुग्न लागेको थियो । आफू जाँदा लागेको ऋण पनि चुक्ता गरिसकेको थियो । भन्थ्यो अबको एक वर्षको चाहिं जम्मा गर्नुपर्ला अनि नेपालमा नै आएर एउटा सानोतिनो व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ । मैले पनि उसको कुरामा हो मा हो मिलाउँथें । अनि हामी मिलनको कल्पनामा हराउँथ्यौं । उसले भन्थ्यो सुन्तु १ वर्ष बितिसक्यो अब एक वर्ष पनि बितिहाल्छ । अहिले म छुट्टीमा नै आउँछु काम राम्रो नै छ । यो छुट्टीमा तिम्रो सिउँदोमा सिन्दुर भर्ने सोच छ, तिमी तयार भएर बस है, ठट्यौली पारामा राजले मलाई जिस्काइरहन्थ्यो ।


सायद राजको छुट्टी आउने समय ३ महिना बाँकी थियो होला त्यो बीचमा नियतिले मेरो जीवनमा यस्तो खेल खेलिदियो कि मलाई  भगवान्प्रति पनि विश्वास लाग्न छाड्यो । बेलुकीपख म पढ्दै थिएँ, राजको नम्बरबाट फोन आयो । खुसी हुँदै उठाए, तर अपरिचित आवाज गुन्जियो कानमा । ए सुन्नु त हजुर सुन्तली दिदी बोल्नुभएको हो, म राजको साथी उहाँको आज गाडी दुर्घटनामा पर्नुभयो सिकिस्त हुनुहुन्छ । उहाँको बुबाआमालाई भन्दा झनै आत्तिनुहुन्छ होला भनेर हजुरलाई फोन गरेको हो, ऊ एकोहोरो बोल्दै थियो म छाँगाबाट खसेजस्तो भए, मेरा बोलीहरू अवरुद्ध भए, उसले कुन बेला फोन राख्यो मलाई होसै भएन । मेरा आँखाबाट आँसु तररर झर्‍यो, म त्यही बेहोस भएर ढलेछु । बिहानपख आँखा खुल्दा किताबहरू एकातिर छरिएका रहेछन्, बत्ती बलिरहेका छन्, उठ्नेबित्तिकै सरासर राजको घरमा गए, राजको घरमा बुबाआमाहरू भर्खरै उठनुभएको रहेछ, उहाँहरूले अहो सुन्तली किन यति छिट्टै आएको राजले फोन गरेको थियो ? भन्दै प्रश्नहरू तेर्साउन थाल्नुभयो म नतमस्तक भए उहाँहरूको अगाडि आँट गरेर केही भन्ने हिम्मत गर्छु भनेर लागेको थियो, फेरि एक्कासि राजको बुबाको मोबाइलमा घन्टी आयो । खुसी हुँदै आज छोराले किन यति छिट्टै फोन गर्यो भन्दै उठाउनुभयो । उताबाट आवाज आयो हेल्लो को बोल्नु भो ? बुबा हो । म राजको साथी हो । हामी एउटै कम्पनीमा काम गर्छौं हिजो उहाँ काममा जाँदा गाडी दुर्घटनामा परेर घाइते हुनुभएको थियो  तर उपचार गर्दागर्दै उहाँको अहिले निधन भयो । यही खबर दिऊँ भनेर फोन गरेको । बुबा हातबाट मोबाइल खसे, के भो छोरालाई राजको बुबा भन्नु भन्दै आमा मूच्छिर्त हुन थाल्नुभयो । बुबा थुचुक्क भुइँमा बस्दै टाउकोमा हात राख्दै हाम्रो बुढेसकालको सहारालाई कालले टपक्क टिपेछ बूढी सात समुद्रपारि । म त्यो कुराले त्यही बेहोस भएछु । पछि होस खुल्दा गाउँभरिका मान्छेहरू आएका रहेछन् ।

मैले आफू त्यहाँ बसी राख्नु उचित ठानिन । म त्यहाँबाट घरतिर लागंे । पथ हराएको यात्री जस्तो जिन्दगी बोकेर म त्यहाँबाट निस्कँदै गर्दा, कठै २४, २५ वर्षको उमेरमै यसको जीवन बर्बाद भयो, कस्तो अलच्छिनको खप्पर बोकेर ल्याएकी रैछ, कसरी नाक देखाएर बस्ली यो समाजमा भन्दै त्यो भीडमा खासखुस कुराहरू गर्दै थिए । मेलापात, पानी पँधेरो जताजतै मेरो र राजको सम्बन्धको बारेमा चर्चा चल्न थाले र मलाई कसैले सहानुभूति कसैले घृणाको नजरले हेर्न थाले । आखिर मेरो यसमा के दोष थियो र किन मलाई समाजले यस्तो घृणित रूपमा नियालेको होला, के मैले कसैलाई सच्चा प्रेम गर्नु पाप हो र ? आखिर किन नियतिले मप्रति यति ठूलो वज्रपात पार्‍यो ? मैले जीवनदेखि हार खाएर आत्महत्याको बाटो पनि रोजेको थिएँ तर राजेले भनेको थियो, हेर सुन्तु भोलिको जीवन कसले देखेको हुन्छ र ? कहिले आफूलाई हरेस नखानु दुःख सुख, हाँसो रोदनमा आफूलाई सम्हाल्नुपर्छ । प्रवासी भूूमिमा छु यदि मलाई यदाकदा केही भयो भने तिमीले त्यस्तो गलत बाटो नअपनाऊ ल म जहाँ भए पनि तिम्रो साथमा हुनेछु । त्यही शब्द मेरो मस्तिष्कमा बारम्बार गुन्जयमान हुन्छ अनि आफूलाई सम्हाल्छु । राज तिमीले चटक्कै छोडेर गइहाल्यौ, यहाँ यो समाजमा तिम्रो सुन्तुलाई बाँच्न कति गाह्रो भएको छ भन्ने त सायद तिमीले नियालिरहेका हौला । तर पनि म आफूलाई तिम्रो लागि बाँच्ने प्रयासमा यो मान्छेको सहर काठमाडौंमा भौतारिरहेको छु । अब त मलाई कोहीप्रति पनि विश्वास र श्रद्धा छैन । जीवनमा एक्लो केवल एक्लो यात्री भएर बाँचिरहेको छु । अब जानेछु नयाँ घाम फुल्ने बस्तीमा जहाँ हाम्रो प्रेमको सम्मान हुनेछ । जीवन रहेसम्म तिम्रो आराध्य गरेर बस्नेछु । विश्वास छ पृथ्वीभन्दा पर कुनै संसार रहेछ भने हाम्रो भेट अवश्य हुनेछ ।

तिम्रो आजन्म पुजारी

सुन्तली                                     साभारः    एकान्त कुना        (

No comments:

Post a Comment