बीस पिएर मर्नुपर्ने समाज
(कविता – सन्तोष सिम्खडा)
आफ्नै श्रीमतीको असह्य पीडा
छोराछोरीले हेरेनन्,
र अन्ततः ऊ
बीस पिएर ढलेको थियो
त्यो समाजसँग म के कुरा गरूँ?
पैसा नै सबैथोक ठान्ने
एउटै कोखका आत्माहरू बीच
मनमुटाव हुने यो समाजसँग म के कुरा गरूँ?
अरे, पैसामा बिकेका आत्माहरु!
एकदिन थाहा हुनेछ
त्यो पैसाको महत्व,
जो मरेको सम्बन्धमा औषधि बनेर कहिल्यै आउँदैन।
त्यो पैसा, जसले
मृतकको नशामा सास फुक्दैन,
न घाटमा हात समात्न आउँछ।
रगतको नातालाई परायो ठानेर
स्वार्थको पिसाबको न्यानोमा रमाउने
तिमीहरूसँग म के कुरा गरूँ?
तिमीहरूको चम्किलो घरभित्र
अन्धकार बस्छ,
र त्यो अन्धकारले एकदिन
तिमीहरूको आत्मा निल्नेछ।
फूल होइन, बाँच्नका लागि मान्छेपन देऊ समाज!
किनकि आत्महत्या कमजोरी होइन
यो त तिम्रो निर्दयताको प्रतिविम्ब हो।