शोकमानहरूले जति शोक मनाए पनि जोकमानहरूले जति जोक गरेपनि भुकमानहरू जति भुके पनि बोकमानले बोकेपछि र रोकमानले नरोके पछि लोकमानको मान बढेरै छाड्यो । लोकतान्त्रिक मूल्य सडेरै छाड्यो । शहीदको सपना डढेरै छाड्यो । रेडियोले अख्तियार प्रमुखको रूपमा उनको नाम पढेरै छाड्यो । फेरि एकपटक शहीद र घाइतेको अपमान भएरै छाड्यो । यस अघि ताकि ताकि निहत्था जनतामाथी गोली बर्साउनेलाई नै बढुवा विभूषण र आकर्षक पदले सुशोभन गरिसकिएको छ । शहीद तथा घाइतेहरूले यस्ता अपमानका शृंखलाहरू अझै कति सहनु पर्ने हो खेप्नु पर्ने हो थाहा छैन । भैरवनाथ गणका भैरबको पनि स-सम्मान बढुवा भो । राजु बस्नेतलाई त बाबुराम सरकारले नै बकाइदा बढुवा गरिदियो । कुमार लामालाई बचाउन बाबुराम सरकारले गरेको बहादुरी छर्लंगै छ । कटुवालको त कुरै भएन । उनलाई त राष्ट्रिय विभूति नै बनाए भने पनि अचम्म नमान्दा हुन्छ ।
लोकमान अर्थात् लोकले मानेका यानेकी राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबैले गनेका । लोकमान अर्थात् लोकतन्त्रलाई लोप्पा ख्वाएर ,गणतन्त्रलाई गाली गरेर पनि लोकतान्त्रिक गणतन्त्रमा लोकको एउटा महत्वपूर्ण पद हात पार्न सफल । लोकमान अर्थात् शाहीकालमा मुख्यसचिव भए पनि ठोकमानहरूका पनि ठालू । लोकमान अर्थात् एउटा बिम्ब – जुनसुकै व्यवस्थामा जोसुकैसंग पनि फीट हुन् सक्ने । लोकमान अर्थात् लोकसेवाको मुखै नदेखी निजामतीको सबैभन्दा ठूलो पद पाउन सफल निजामती कर्मचारी ।
अब ठोकमानको कुरा गरौं । ठोकमान अर्थात् जनआन्दोलनमा जथाभावी गोली ठोक्ने र ठोक्न आदेश दिने सेना पुलीसका हाकिमहरू । लोकतान्त्रिक आन्दोलनमा निहत्था जनतामाथि गोली ठोक्ने ठोकमानहरूको बढोत्तरी गर्ने, विभूषणले विभूषित गर्नेहरूले नै लोकमानको लक्ष्यमा भाँजो हाल्न खोज्दा भने कुरीकुरी लाग्यो । अहिले लोकमानलाई लोप्पा ख्वाउन लागिपरेका लोकतान्त्रिक लठैतहरूबाट हँसिया-हथौडा र चारतारे बोकेर वीर कटवाल जिन्दावाद! भन्दै सडक सेकेको अस्ति हो जस्तो लाग्छ । हो यस्तैलाई भुकमान भन्दा हुन्छ किनभने ताई न तुई संग भुकिरहनु यिनको विशेषता हो । यस्ता भुकमानहरू हरेक दलमा राम्रै संख्यामा छन् । विपक्षीलाई तर्साउन देखि जनतालाई सताउन सम्म यिनै भुकमानहरूको उपयोग हुन्छ । घरमा मालिकको लगौंटीयार आ’छ भुकमानहरू भुकि मात्रै रहन्छन् मालिकले चुप नभनुन्जेल तीनको हाब्रो बन्द हुँदैन । अहिले मालिक मालिक लोकमानको नाममा भित्रभित्रै मिलेका छन् अनि भुकमानहरूलाई लोकमानको बिरुद्धमा भुक्न लगाएर जनतालाई दु:ख दिंदैछन् ।
मेरा आँखाले लोकतान्त्रिक मूल्य मान्यताको कसीमा लोकमान र ठोकमानमा कुनै अन्तर देख्दैनन् । भुकमानहरूको अन्तरकुन्तरमा पनि यस्तै लाग्दो हो । तर ख्वामीत् को खटन खुरू खुरू मान्नुको मजै अर्कै होला । अथवा बुद्धि विवेकको भाँडोमा बिर्को नलगाई भुकमानको सर्टिफिकेट नपाइने होला । त्यसैले बन्द भो । हड्ताल भो । चक्का जाम भो । जनताले दु;ख पाए। लोकमानको चर्चा बढाए । भुकमानहरूको भुकाइले लोकमान लोकमा बस्नै नपाउने अनि ठोकमानहरूलाई मानपदवी अलंकार विभूषणबाट विभूषित गर्दै भटाभट बढुवाको बक्सिस पनि दिने कुराको वकालत गर्दो रहेछ भन्ने कुरा लोकमान लफडाले प्रष्ट पार्यो ।
अब कुरो गरौं बोकमानको । उनको कामै कहिले कसलाई कहिले कसलाई बोक्ने हो । तर बिडम्बना बोकमानले आजसम्म जस जसलाई बोके उसै उसैले बोकमानलाई टोके । तै पनि उनले चेतेका छैनन् ।कसैलाई नबोकी हिंड्ने बाटै देखेका छैनन् । बैध्यलाई बोके उनैले टोके । माधवलाई बोकेर संबिधान सभामा पुर्याए उनैले टोके । झललाई बोकेर प्रधानमन्त्री बनाए अहिले झल नै ऊनी माथि धेरै छल गर्ने भाका छन् । इन्द्रजित राई, कुमार फुदुंग, सूर्यबहादुर सेन ओली यिनलाई पनि बोके । सुन्दैछु कुमार फुदुंगले टोक्न शुरु गरिसके । खिललाई बोके । खिलको दिलले पनि बोकमानको मन्जिल हाँसिल हुन देला जस्तो लाग्दैन । अहिले लोकमानलाई बोक्या छन् । लोकमानले पनि बोकमानलाई टोके भनेर सुन्नु पर्ने दिन टाढा छैन जस्तो लाग्छ । सम्भवत: बोकमानले नबोकेका भए लोकमानको नियुक्ति सम्भव पनि थिएन । र अर्को कुरा बोकमानले आफ्नै बुद्धि विवेकले लोकमानलाई बोकेका हुन्थे भने रोकमानले अवश्यै रोक्थे । यहीं कुरा खिलराजको हकमा पनि उत्तिकै लागु हुन्छ ।जे होस् हाम्रा नेताहरूलाई मिलाउने शक्तिलाई सलाम गर्नैपर्छ । र यसैलाई राष्ट्रिय एकताको प्रतीक भन्ने पो हो कि !
अब एकछिन कुरो गरौं जोकमानको । हरेक राजनीतिक घटनालाई उखान-टुक्का, उपमा र जोकमा ढालेर भाषण गर्न माहीर नेता । आन्द्रै देखि आफ्ना विरोधी ( विशेषगरी माओवादी ) को विरोध गर्नमा सफल नेता । जोकमानले यसपाली पनि गतिलै जोक गरे । अचम्म यो भो कि बिना उखान-टुक्का नै उनले यसपाली नेपाली जनतासंग निर्मम जोक गरे त्यो पनि माओवादीको विरोधमा एकै शब्द नखर्चीकन । भित्र भित्रै लोकमान कि जय ! भनेर सहमत जनाए । लोकमान कै पक्षमा ल्याप्चे लगाए । बाहिर आएर लोकमानको विरुद्धमा आफ्ना लठैतलाई लाल झण्डा र लाइटर थमाईदिए । बस् झण्डा हल्लिन अनि टायर बल्न शुरू भो । सास्ती जनताले पाए । मस्ती तिनलाई हुँदो हो । खिलराजलाई राज गर्न दिने बेलामा पनि यिनले यस्तै जोक गरेका थिए । पहिला खिलराज हुँदै हुन्न भनेर ढिम्किनै दिएका थिएनन् । पछि त खिलका दिल त उनै पो भएर निस्के । खिलले गर्दा सर्बसत्तावाद ढल्यो रे! सत्ता कब्जाको सम्भावना टर्यो रे । लोकतन्त्रको पुनर्स्थापना भयो रे । यस्तै यस्तै के के हो के के । पुरानो स्मृतिमा जाँदा महाकाली सन्धिको कुरा चल्दा शुरूमा यिनी त्यसको घोर विरोधमा थिए । पछि त यिनी तगडा समर्थक भएर पो निस्के । यहाँ सम्म कि पार्टी फूटको समेत पर्वाह गरेनन् । ज्ञात रहोस् पार्टीमा ऊनी सबैभन्दा अडान भएका नेतामा गनिन्छन् । भनेपछि अडान नभएका नेता त्यहाँ कस्ता होलान अनुमान लाउने जिम्मा तपाईंकै ।
अब कुरो गरौं रोकमानको । बाबुराम र प्रचण्डका हरेक काममा रोक लाउनु तीनको धर्म थियो । तीनले आफ्नो धर्म राम्रैसंग निभाए । त्यसैले तिनलाई रोकमान भन्दा अत्युक्ति हुँदैन । रोकमानले प्रचण्डलाई असंबैधानिक रूपले रोकेर उनको सरकारै ढालिदिए । कटुवालको खुस्केको फूली टिपेर लाइदिए । त्यतिले नपुगेर पदक र विभूषणले विभूषित गरिदिए । अर्थात् रोकमानलाई पनि भुकमानलाई जस्तै पनि ठोकमानहरू ठीक लाग्दो रहेछ । बाबुरामले पेश गरेका अधिकांश अध्यादेश रोके । संबिधानसभा पुनर्स्थापनाको बाटो रोके । बाबुरामले घोषणा गरेको चुनाव रोके । बजेट रोक्न न्वारान देखिकै बल लगाए । तर अहिले भने रोकमानले लोकमानको नियुक्ति भने रोकेनन् । अघिल्लो दिन सम्म रोक्छु रोक्छु भन्थे कुन्नि कताको फोन आयो रोकेनन् ।
अब एक छिन कुरा गरौं बिजोकमानहरूको । बिजोकमान अर्थात् पहिलो संबिधान सभाको चुनावमा बिजोक भएका र लोकमानको कारणले आगामी चुनावमा पनि त्यस्तै बिजोक होला कि भनेर डराएकाहरू । बिजोकमान अर्थात् निर्णय प्रक्रियामा हेर्न लायकको बिजोग देखाउनेहरू । हामीले ल्याउनुपर्ने प्रस्ताब बोकमानले ल्याए भनेर दंग पर्दै लोकमानको नाममा ल्याप्चे लगाउने अनि अहिले केन्द्रीय कमिटिबाट निर्णय उल्ट्याउने, सिफारिस रोक्नलाई रोकमानलाई गुहार्ने ,भातृ संगठनहरू सडकमा झार्ने, जनतासंग माफीको नाटक गर्ने , लोकमानको नाम विदेशीको सिफारिशमा आको हो भन्ने निष्कर्ष निकाल्नेहरूलाई अब बिजोकमान भन्दा राम्रो उपमा अरू पाउन गाह्रो छ । शीर्ष नेताहरू मौन बसे भने सेकेन्ड क्लास नेताहरू नागरिक समाजको बर्को ओढेर रोकमान कहाँ विन्ती पत्र हाल्न पुगे, जसरी ज्ञानेन्द्रकहाँ पुग्ने गर्थे । कोही भने अझै पनि भाषणबाजीमा व्यस्त छन् । नेतृत्वको यस्तो विजोक यस अघि नेपालमा शायद देखिएको थिएन । online khaber
No comments:
Post a Comment