गोरखाको बारपाकबाट झण्डै १२ घण्टाको
पदयात्रापछि हाम्रो सात सदस्यीय टोली साँझ ७ बजेतिर लाप्राक पुग्यो ।
गोधुली साँझ थियो । बसाईको ठेगान थिएन । मनमनै कस्तो ठाउँमा रात बिताउनु
पर्ने हो भन्ने कौतुहलता मनमा छँदै थियो ।
जब लाप्राकवासीको माया, सदभाव र सम्मानको अनुभूति भयो, हाम्रो कौतुहलता एकै छिनमा मेटियो ।
डाँडाबाट लाप्राकको सुन्दर बस्ती देख्ने बित्तिकै कतिबेला पुगौँ भनेर मन छट्पटियो ।
‘लाप्राक एउटै गाउँ, ९ वडा एउटै ठाउँ’, बाटोमा जाँदा स्थानीय गाइड प्रविता गुरुङ भन्नुभएको थियो ।
‘आवश्यक परे एउटा घरको छानाबाट सबै छानामा
पुग्न सकिन्छ’, गुरुङको फुर्ति थियो, ‘यहाँका कर्मचारी, शिक्षक एउटा
गाउँबाट अर्को गाउँमा जानु पर्दैन ।’
‘खुब होला’, म नपत्याए जस्तो गर्दै थिएँ ।
नभन्दै लाप्राक पुगेपछि सबै सत्य सावित भयो ।
अबिरमाला सहितको स्वागतले मन झनै प्रफुल्ल
भयो । लाप्राकवासीप्रति भित्रैदेखि सम्मान जागेर आयो । घर बाहिर उभिएका
मात्र के थियौं, स्थानीय स्कुलकी शिक्षिका उम्नी गुरुङ मिसले भित्रै जाऊँ न
भन्दै कर गरेपछि हामी अक्क न बक्क ।
बाहिरैबाट अगेनोमाथि लहरै भर्सेलीमा
राँगाको मासु सुकाएको देख्दा मन त्यति मानि रहेको थिएन । तैपनि मिसको
आग्रह स्वीकार्न करै लाग्यो ।
पहिलो अनुभव
सबैजना घर भित्र गयौं । गर्मीको मौसम थियो
। के खान दिएर स्वागत गरौं भन्दै उम्नी मिसले जर्किनबाट एक एक गिलास पानी
सार्नुभयो । गर्मीको मौसम बुझेरै होला दिएको भन्दै पिउने जमर्को गरेको थिएँ
तर के सक्नु ? मुखमा छिराउनै गाह्रो ।
त्यो पानी थिएन, कोदोको लोकल रक्सी रहेछ ।
कहिलेकाहीँ बियरसम्म खाने भएपनि कोदोको रक्सी खाएको थिइनँ । धेरै कर
गरेपछि नखाई सुखै भएन ।
नखाए अपमान हुने डर, खाउँ अहिलेसम्म खाएको
छैन । त्यसैले आँखा चिम्म गरेर एक गिलास तन्काई हालेँ । अरु साथीहरु अझ एक
एक गिलास थप्दै थिए । म चुपचाप ।
बास बस्ने ठाउँको व्यवस्था गर्ने अबको तयारी थियो । कहाँ, कस्तो ठाउँमा बस्ने भन्ने अलिअलि चिन्ता पनि थियो ।
‘हैन, बास बस्ने कता हो ?’, गाइड प्रवितालाई सोधेँ ।
‘टुंगो लागिसक्यो । चिन्ता गर्नुपर्दैन ।’
मैले त पत्तै पाएनछु ।
तर बास बस्ने होटेल जानुअघि अर्को कार्यक्रम बन्यो ।
हाम्रै लागि भनेर गुरुङ संस्कृति झल्काउने
सांस्कृतिक कार्यक्रम राखिएको रहेछ । सबैजना त्यतै लाग्यौं । स्थानीय
बासिन्दाको ठूलै भिड थियो ।
मैले सोचेँ, कार्यक्रम त राम्रै हुने रहेछ
। हाम्रा लागि पो नयाँ, सधै देखिरहेको कार्यक्रम उहाँहरुका लागि भने नौलो
थिएन । कार्यक्रम हाम्रै सम्मानमा राखिएको रहेछ । निक्कै खुशी लाग्यो ।
भाषण
कार्यक्रमका उद्घोषक राज गुरुङले
लाप्राकको बारेमा आफ्नो भनाई राखिदिन एक्कासी आग्रह गरेपछि के भनुँ के भनुँ
भयो । हिम्मत जुटाएर लाप्राकको एकता र पाहुनालाई गर्ने सम्मानको खुलेरै
पंशंसा गरेँ । ‘भाषण गर्ने अवसर मिल्यो’ भन्दै अन्य साथीहरु पनि पालैपालो
बोले ।
घाटु र रोदी
टाउकोमा सेतो फेटा बाँधेका सत्तरी
हाराहारीका दुईजना बुबाको गीत अनि ६/ ७ वर्षका दुई नानी आँखा बन्द गरेर
एउटै लय र तालमा नाचेको देख्दा मन कम्ती अचम्मित भएन । घाटु नाचको विशेषता
नै त्यस्तै रहेछ ।
गुरुङ भेषमा सजिएका युवा युवतिले मकै नाच,
धाना र रोदी गाएको मनमा अझै ताजा छ । मादल बजेपछि नाच्न मन लाग्ने मान्छे
रोदीमा किन चुप बसिन्थ्यो ? खैँजडी मुजुराको तालमा धक फुकाएर नाचियो ।
लाप्राकको त्रास
लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा
आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । तर जोखिममा
रहेछ लाप्राक बस्ती । २०५६ सालमा पहिरोले दुईजनाको ज्यानै लियो ।
२०६० सालमा फेरी आएको पहिरोले त्यही पुरानो घाउ कोट्टयाई दिँदोरहेछ ।
केही घर भत्किएका र केही चर्किएका कारण पाँच सय १५ घर धुरी रहेको लाप्रकबाट २९ घर परिवार विस्थापित भए ।
स्थानीय सामाजिक परिचालक रामबहादुर गुरुङ पहिरोले विस्थापित भएकाहरु नवलपरासी, चितवन र तनहुँ पुगेको बताउनुहुन्छ ।
२०६८ सालको जनगणना अनुसार लाप्राकमा ४ हजार जनसंख्या छ ।
लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर
बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती
गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको
जोखिमबाट पीडित छ ।
सरकारले गाउँलाई पहिरो प्रभावित क्षेत्र
घोषणा गरेको छ । नेपाल आफैले पहिरो नियन्त्रण गर्न नसक्ने निष्कर्ष
निकाल्दै खतराको चिन्ह् स्वरुप रातो लगाएको छ । सरकारले वस्ती नै अन्यत्रै
सार्ने प्रयास नगरेको पनि होइन । तर हिमचुली युवा क्लबका अध्यक्ष राज गुरुङ
अहिलेको जस्तै मिलेको समाज, वस्ती र एकता कायम नहुने हो कि भनेर आफुहरुले
वस्ती सार्न नमानेको बताउनुहुन्छ ।
वर्षाको सिजन सुरु हुनै लागेको छ । पानी
पर्ने बित्तिकै माथिबाट बग्ने पहिरो र तलबाट बग्ने जेर्बो खोलाका कारण
सुन्दर लाप्राकवासीका आँखा निदाउन मान्दैनन् ।
लाप्राकवासीको न्यानो आतिथ्यले होला, मेरा साथीहरु सबैजना निदाइसकेका थिए । र, म पनि त्यही आतिथ्य सम्झँदै निदाउने प्रयासमा लागेँ ।
No comments:
Post a Comment