वसन्तप्रकाश उपाध्याय
एउटा समय थियो मान्छेहरू मजदुर र श्रमिक शब्द सुन्नासाथ र भन्नासाथ उनीहरूका अपेक्षा, आवश्यकता एवं आदर्श केवल लालरंगले परिभाषित गर्न सक्छ र सम्बोधित हुन सक्छन् भन्ठान्थे। मजदुर र श्रमिक शब्द र मर्म सीमित र वर्गीय चिन्तनको संकीर्ण परिवेशबाट धेरै माथि उठेर राष्ट्रिय महत्त्व र अर्थतन्त्रको मेरुदण्डीय अस्तित्वमा परिवर्तित भएको छ।
मूलत: अहिलेको परिवर्तित राजनीतिक परिदृश्यभित्र अस्तित्वमा देखिएका राजनीतिक पार्टीहरूले आआफ्ना संगठन र जनाधार विस्तारका क्रममा धेरै वर्गीय, व्यावसायिक र शुभेच्छुक संस्था बनाउने क्रमलाई गति दिएका छन्। यसमध्ये श्रम र श्रमिक क्षेत्र र यसले ओगट्ने बृहत्तर आयाममा पार्टीहरू आआफ्ना पकड जमाउन अनेकौं तवरबाट क्रियाशील पाइन्छन्। यस दृष्टिले श्रमिकहरू यतिखेर केवल पार्टीहरूका भोटबैंक नभएर समग्र पार्टी र गतिविधिलाई प्रत्यक्ष प्रभाव पार्ने एउटा गतिलो तह र तप्का ठहरिएको छ।
मुलुकमा ठूला मानिएका पार्टीहरू र त्यसको वृत्तमा अचेल श्रमिक मजदुर फाँट र त्यसका नेताहरूको ठूलो प्रभाव र असर दृष्टिगोचर हुन्छ। कम्युनिस्ट पार्टीहरूको हकमा त पार्टीसम्बद्ध मजदुर नेताहरूले ठूलै हैकम स्थापित गर्न सफल भएका पाइन्छन्। यस्ता परिदृश्यबीच यतिखेर मुलुकको सबैभन्दा पुरानो र प्रजातन्त्रको पर्याय मानिने नेपाली कांग्रेस पार्टी र उसको श्रमिक क्षेत्र एवं त्यस सम्बद्ध संघसंस्थामा भयंकर सल्बलाहट देखिएको छ। ट्रेड युनियन कांग्रेसको नाम र परिचयको फैलावटमा देखिएको उक्त संस्थाको आसन्न महाधिवेशनका कारण यस्तो अवस्था सिर्जित भएको हो। सो संस्थाको आउँदो भदौ ९-११ मा चितवनमा महाधिवेशन हुँदैछ।
नेपाली कांग्रेस आबद्ध र सम्बद्ध मजदुर एवं श्रमिकका आआफ्ना वर्गीय संगठनलाई एउटै छातामुनि गोलबद्ध गर्ने ट्रेड युनियन कांग्रेस स्वतन्त्र परिचयमा स्थापित छ। कांग्रेस पार्टीको विखण्डनपछि एकीकरण क्रममा न्वारन गरिएको स्वतन्त्र नामले शब्दार्थको मूल मर्मअनुरूप स्वतन्त्र दृष्टिकोण परावर्तन गरेको छैन। स्वतन्त्र परिचयभित्र कसले कसरी पकड जमाउने र त्यसको गृहकार्य सुरु भएको छ। ट्रेड युनियन कांग्रेसभित्रको उहापोह कम पेचिलो छैन।
नेपालको राजनीतिक आन्दोलनको इतिहास र संघर्ष जस्तै पुरानो इतिहास र महत्त्व छ : मजदुर आन्दोलनको। आफ्ना हकहित र पेसागत मर्यादासँगै राजनीतिक चेत र परिवर्तन संवाहक संस्कृतिको भावभूमि नेपाली कांग्रेसका नेता एवं शान्तिनायक गिरिजाप्रसाद कोइरालाले मजदुर फाँटबाट श्रीगणेश गरेका हुन्। ६ दशकभन्दा अघिको कालखण्डमा मजदुर समस्या र अपेक्षालाई शान्तिनायक कोइरालाले जसरी बुझेका थिए, त्यसैगरी आजको परिवर्तित समय र परिवेशले बरु श्रम समस्यालाई नजरअन्दाज गरे झैं लाग्छ।
कोइराला भइञ्जेल ट्रेड युनियन कांग्रेसको अविछिन्न नेतृत्वमा मजदुर नेता लक्ष्मणबहादुर बस्नेत थिए। आफू कहिल्यै मजदुर नभएको निसंकोच अभिव्यक्ति दिने बस्नेत र उनको मनोकांक्षाबिनाको नेतृत्व खण्डखातिरले यसअघि स्थापित हुन सकेको थिएन। फेरि अर्को रोचक र घोचक सन्दर्भ यसपटक तिनै मजदुर नेता बस्नेतले ट्रेड युनियन कांग्रेसको नेतृत्वका लागि अनिच्छा देखाएका छन्। कोइरालाले बस्नेत र उनको समूहलाई आशीर्वाद दिन्थे वा दिँदैनथे, त्यो बेग्लै कुरा हो। तर त्यो समूह भने सधैं आशीर्वादको चर्चा र चिन्तनले स्थापना हुँदै आएको थियो।
निश्चय पनि, ट्रेड युनियन कांग्रेस र यसअघिको नेतृत्वले कतिपय आशातीत कामलाई पूर्णता दिन सकेको थिएन। ट्रेड युनियनको नेतृत्वदेखि यसका गतिविधि मजदुरमैत्री वातावरणमा नभएको टिप्पणीदेखि तदर्थवादमा चलेको आरोपसम्म उठ्ने गरेकै हो। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा घट्दो साखसँगै श्रमिकको समृद्धितर्फ प्रचारित कामसमेत गर्न नेतृत्व सफल नभएकै हो। तैपनि ट्रेड युनियन कांग्रेस श्रमिकका सामाजिक सुरक्षा सबालमा र मातृ पार्टी कांग्रेसको जनमत निर्माणमा लागिपरेकै हो र छ पनि। यतिखेर कांग्रेस पार्टी र यसको नेतृत्वले मजदुर मर्म र बृहत्तर आयाममा फैलिएको ट्रेड युनियन कांग्रेसको संगठनलाई अलि गम्भीर र पृथक् तवरले बुझ्न थालेको छ।
नेताहरूका लागि गलैंचादेखि होटेल, चियाबगानदेखि कृषि मजदुर, शिक्षकदेखि सार्वजनिक संघसंस्थाका कर्मचारी, नाई संघदेखि पान संघ, विभिन्न पेसा आबद्ध महिलादेखि चलचित्रकर्मीसम्मका थुप्रै औपचारिक एवं अनौपचारिक संस्थामा फैलिएका श्रमजीवीलाई एउटै मञ्चमार्फत परिचालित र सम्बोधित गर्न पाउनु कम उपलब्धिमूलक काम होइन। पार्टी संयन्त्रभित्रका यस्ता मेरुदण्डीय संगठनमा आआफ्नो पकड र प्रभाव राख्न नेतृत्व गण उत्साहित हुन्छन्। यो सही सत्य कुरो हो।
कांग्रेसका ट्रेड युनियनकर्मी यसअघि आफू आफ्नो संगठन र समग्र आफ्ना अभियानमाथि पार्टी नेतृत्वले त्यतिविघ्न चासो नदिएको बताउँछन्। अहोरात्र लागेका ट्रेड युनियनकर्मी त हिजोसम्म पार्टीका नाममा आफूहरू आबद्ध हुने र संगठित रूपमा सम्बद्धता दिनेबाहेकको रुचि र चासो आफूहरूलाई नदिएको टिप्पणी गर्छन्। विसं २०६२/०६३ पछि अवस्था कस्तोसम्म देखियो भने ट्रेड युनियन कांग्रेस सम्बद्ध संघ, संगठन खोल्न कतिपय ठाउँमा कार्यसमितिमा बस्न पुग्ने ट्रेड युनियनकर्मीसमेत पाइन छोडेको थियो। यस्ता दुखेसो उनीहरूमा पोख्छन्। पेसागत रूपमा आवाज उठाउँदा, वर्गीय हकहितका माग राख्दा अझ टड्कारो मजदुरका पक्षमा काम गर्नुपर्दा पार्टी संयन्त्रको सहयोग र संरक्षणको अभावमा दु:ख मात्रै पाएका ट्रेड युनियनकर्मी यसैकारण यसपटक धेरै गम्भीर र सक्रिय देखिएका छन्।
आआफ्ना दु:ख र सुकर्मले सिर्जित संगठनमा पार्टी र नेताहरूको आकर्षणले युनियनकर्मी उत्साहित हुनु फरक हो। तर हिजोका दिन आफ्नो श्रम र सम्मानलाई बस्नेतको जिम्मा ठान्ने नेता किन एकाएक आफूप्रति साखुल्ले र स्नेही भइरहेका छन्? त्यसलाई ट्रेड युनियनकर्मीले बुझ्नु जरुरी छ। एउटा सपाट मर्मले हेर्ने हो भने धोबीखोला पुलछेउमा ट्रेड युनियन कांग्रेसले भर्खरै घर किनेको हो। त्यो घर किन्नमा को/कसका/कति श्रम र योगदान छ? छिनोफानो नगरे पनि मूल्यांकन गर्नैपर्छ। हैकमवादी शैली र संस्कारको गठजोडले युनियन चलाउनु हुँदैन। यो भन्नु र यथार्थको आत्मसमीक्षा गर्नु फरकफरक विषयवस्तु हुन्।
मजदुर र उनीहरूको संगठित अवस्था रैती हुनुको द्योतक पनि त होइन। चिया बगानको सौन्दर्य गीत एकछिन सुन्दा मज्जा लाग्छ, तर गलैंचा बुन्दाको पीडासँगै केवल कांग्रेस भएकै अर्थमा रोजीरोटी खोसिँदा नबोल्ने दाइहरूका पक्षमा उभिनुको के अर्थ हुन सक्छ?
करिब दुई दर्जन वर्ष बिताएको ट्रेड युनियन कांग्रेसको विगतभित्र यस्ता धेरै कुरा छन्। मनुषुदेखि मानुषु प्रवृत्ति एकातिर छ भने अर्कोतिर निष्प्राप्तिका गोपाल पाण्डेदेखि प्राप्तिको सर्वोच्च अच्युत पाण्डे त्यहीँ छन्। कोही त भने जहाजमा हरर… गीति विन्यासमा एकै व्यक्तिले आधा विश्व घुमिसकेका छन् भने लाखौंलाख श्रमिकको… पसिना तरर… त्यसै/उस्तै छ। सहिद परिवारका खिलानाथ एउटा निष्कपट बिम्बका प्रतिनिधि त हुँदै हुन् अर्कोतिर ट्रेनिङमा गएर विदेशमै लुक्ने निकम्मा प्रवृत्ति पनि त्यहीँ हाबी छ। यी सबै सन्दर्भ र विषयवस्तुको आत्मसमीक्षामा ट्रेड युनियनकर्मी उभिनु समीचीन हुने देखिन्छ।
निर्वाचन क्रममा व्यक्ति र उसको समूहले चुनाव जित्नेभन्दा श्रम र श्रमिकको सम्मान हुने, सामाजिक सुरक्षा उन्नयनमा प्रभाव पार्ने खालको खोजी ट्रेड युनियनकर्मीले गर्नु श्रेयष्कर हुन्छ, अन्यथा चितवनको चर्को गर्मीबीच जसले जसरी जिते पनि त्यो विषयले समग्र मजदुर आन्दोलन र यसको इतिहासलाई ठण्डा मात्रै गराउनेछ। यतातिर मौकामा बहस थाल्नु सुनमाथि सुगन्ध हुनेमा शंका छैन।

No comments:
Post a Comment