नेपाली समाचार ,Nepal Flag

Monday, April 22, 2013

देश रोज्ने कि स्वास्नी र सन्तान ? - संकेत कोइराला


भगवान् श्रीकृष्णको नेतृत्वमा महाभारत युद्ध सम्पन्न भयो । युद्ध सकिएको खुसीमा आफ्नै सक्रियतामा अश्वमेघ यज्ञ लगाए । त्यसै पनि द्वारका राजनीतिको प्रमुख केन्द्र । ऋषि महषिर्हरू ज्ञान आर्जन र राजा महाराजाहरू सहयोग सल्लाह माग्न कृष्णकहाँ धाउँथे । विकासले विनास निम्त्याउँछ भने भै+m परिवर्तनसंगै श्रीकृष्णका कारण यदुवंशीहरूमा घमण्ड बढेको थियो । फूर्ति, ढाँचा र अनावश्यक विषयमा मानिस लठ्ठएिका थिए । सबैमा विलासिता बढ्न थाल्ोको थियो । ध्यान चिन्तनभन्दा सुख सयलमा मानिसको आकर्षण देखिन्थ्यो । राम्रो लाउने र मिठो खाने लोभले समाज ग्रस्त बन्दै गएको थियो । विद्वान, त्यागी तपस्वीहरू हेपिन थालेका थिए । द्वारकाबासी दिनप्रतिदिन उत्ताउला र कर्तव्यच्यूत बन्दै गएका थिए । यस्तैमा एकदिन अनौठो घटना घट्यो । ऋषि महषिर्हरू भेला भएर लोक र परलोकका विषयमा बहस गरिरहेको ठाउँमा हुल्याहा केटाहरूले कृष्णका छोरा साम्बलाई महिलाको लुगा लगाइदिए । अनि अपमानजनक शैलीमा ऋषि महषिर्का अगाडि लगेर प्रश्न गरे- 'यो महिला छोरो पाउन चाहन्छे । यसको पेटमा के छ ? मन्त्रशक्तिको आधारमा बताइदिनु पर्‍यो ।' यस्तो हेपाहा प्रवृत्तिबाट ऋषिहरू क्रुद्ध भए । गर्भको रहस्य बताउन सक्ने तागत थिएन । अपमानबाट आगो भएका दुर्वासा ऋषिले तत्काल श्राप दिंदै भने- 'साम्बबाट तिमीहरू सबैलाई मार्न एउटा मुसल जन्मन्छ । त्यो हतियार यदुवंश नासको कारक बन्नेछ ।' यस्तो सुन्दा सबै तर्सिएर भागे । घटनाक्रम थाहा पाएका कृष्ण पिता वासुदेवले त्यो मुसल नष्ट गरेर पानीमा बगाइदिन अर्‍हाए । तिनै हुल्याहा केटाहरूले मुसल घोट्दा घोट्दा बाँकी रहेको सानो हतियार जे त होला भन्ठानेर त्यसै पानीमा मिल्काइदिए । हेपेर मिल्काइएको त्यही टुक्रा भविष्यमा बढ्दै गएर अन्त्यमा भगवान् श्रीकृष्णको इहलीला अन्त्यको कारण बन्यो । नियतिले नेपालको राजनीतिलाई पनि महाभारतको त्यही दृश्यसंग मेल खाने अवस्थामा पुर्‍याएको छ । राजनीतिको बर्को ओढाएर जात, धर्म र भूगोलका नाममा रोपिएका नर्सरी विरुवा अब तिनै मालीहरूका लागि मुसल बन्ने निश्चित छ । जसरी कहिल्यै ननुहाउने गाई पूजाको लागि योग्य र सधैं नुहाउने भैंसी पूजाका लागि अयोग्य हुन्छ, त्यसैगरी जनताका नाममा तिनै जनता उभिने धरातलमाथि दुर्भावनाका गैंती चलाउने धोकाधडीहरू अब सधैंका लागि बन्द हुँदै जाने पक्का छ । एउटा बिग्रेको घडीले पनि दिनमा दुईपल्ट एकुरेट समय दिन्छ तर जनताका पुजारी मानिने नेताहरूले वर्षमा एकपल्ट पनि पुण्यको काम गरेनन् । न आफू जाने, न अरुले भनेको नै माने । आर्यघाटदेखि सिंहदरबारसम्मलाई दलालीको अखडा बनाएपछि उनीहरू पानीमाथिको ओभानो भएर बसेका छन् । उनीहरूका लागि सत्ता अंगुर नपाएपछि अमिलोको बहाना बनाएर बसेको बाँदरको मनोविज्ञान जस्तै भएको छ । हात उठाएर सरकारी जागिरेलाई मुलुकको साँचो सुम्पिएपछि तिनीहरूको दैनिकी खेलो हराएको फलामकर्मीको जस्तो भएको छ । जसरी दान दिएको गाई फिर्ता लिन मिल्दैन त्यसरी नै नेताहरूका लागि सिंहदरवार पनि फुत्किएको जनैको साँच्ाो बनेको छ । यद्यपि देश चलाउने मुखिया बनेका सरकारी हाकिमहरूका अगाडि नेताहरू शिरमाथिको तरबार बन्न छोडेका छैनन् । नेताहरूको नजानिँदो धम्की र उपस्थिति टाट्नामा मिठो घाँस भएपनि अगाडि बाघ देखेपछि जिउ हाल्न नसकेको बोकासरह भएको छ । बरु आफ्नो कोटामा मन्त्री भएकाहरूबाट अहिलेसम्मका सम्पूर्ण क्षतिपूर्तिका विल भर्पाई चुक्ता गराउने मनसुवामा नेताहरू लागेको बुझ्न कठिन छैन । हुन पनि हो बाघले शिकार गर्ने हैसियत गुमाएपछि फट्याङ्ग्राको शिकारमा चित्त बुझाउनु उसको बाध्यता बन्छ रे ! चाणक्यले भनेका छन्- 'जसको गुण आफूलाई थाहा छैन, त्यस्ता मानिसको सेवा बुद्धिमानले गर्नु हुँदैन । किनभने यसो गर्नु बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।' वर्तमान सत्ताका सारथी यस विषयमा सचेत हुन जरुरी छ ।
एउटा मन्दिर बनिरहेको ठाउँबाट एक भिक्षु कतै गइरहेका थिए । त्यहाँ तीनजना ढुंगा फुटाउने काम गरिरहेका थिए । पहिलोलाई भिक्षुले सोधे- 'मित्र, के गरिरहनुभएको छ ?' काँचै टोकौंला भै+m गरेर उत्तर दियो- 'देख्नुहुन्न, तपाईंको आँखा छैन ? म ढुंगा फुटाउँदैछु ।' ऊ आक्रोशित र क्रुद्ध थियो । किनकी पत्थर तोड्नु त्यसै पनि आनन्दको काम हैन । त्यसपछि महात्माले अलि उता रहेको व्यक्तिलाई त्यही प्रश्न दोहोर्‍याए । उसले नम्र तर विरक्ति शैलीमा जवाफ फर्कायो- 'बच्चाको लागि रोटी कमाउँदै छु । खै जति गरे पनि कहिल्यै सुखको घिउ लाग्ने भएन ।' उसमा आक्रोस कम तर उदासिनता बढी थियो । तेस्रो व्यक्तिलाई यही जिज्ञासा राख्दा मुसुक्क हाँसेर जवाफ दियो- 'देख्नुहुन्न महाशय, म भगवान्को मन्दिर बनाइरहेको छु !' एउटा आक्रोस, अर्को उदासिन र अर्को आनन्दित व्यक्ति एउटै काम गर्नेमा देखिन्छ । आत्मीय प्रेम, सद्भाव र बन्धुत्व द्रौपदीको सारीजस्तै समाजबाट चिरहरण हुँदै गएको छ । सवैथोकको जड आखिर त्यही दृष्टिकोण त रहेछ । दृष्टिकोणलाई फराक र सकारात्मक बनाउन सके समस्या समाधानको बाटो पहिल्याउन सहज हुनेछ ।
अहिले पाइला पाइलामा महँगो शिक्षाले सस्तो व्यवहारलाई प्रश्रय दिएको छ । घर-घरमा असन्तुष्टिको आगो सल्किएको छ । कोही कसैसंग सन्तुष्ट छैन । सामाजिक सद्भाव यसरी खल्बलिएको छ कि एउटा पुस्ताले अर्को पुस्तालाई निषेध गर्ने अचम्मको संस्कार भित्रिएको छ । नातिले हजुरबाको अभिभावकत्व ग्रहण गरेको विरलै देख्न पाइन्छ । टुकुटुकु हिँड्ने सन्तानलाई दरिलो टेको दिएर उभ्याउने अघिल्लो पुस्ताका हातहरूमा अहिले नाति र छोराको हात नभएर निर्जीव लाठी जीवनको अन्तिम सहारा बनेको छ । क, ख, एबिसिडी बनाउनेहरू पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरूले बनाएको बार्‍हखरी पढेर आफूलाई स्वघोषित मूर्धन्य ठान्नेहरूले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूज्ााका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान् गौतम बुद्ध उठेका बुद्ध हुन् भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि !
भनिन्छ- आशावादी मानिसले जहाज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा आलोचना गरेर बस्छ । अबको हाम्रो बाटो के हो ? निर्धारण हुनु जरुरी छ । समय अनुसार मान्यता फेरिन्छ । मानिसको सोचमा परिवर्तन आउँछ । त्यही आस्थाले ढुंगालाई देउता बनायो । मानिस स्वयं कमजोरी र महानताको संयोग हो । कमजोरी सच्याउनु र महानता छर्दै जानु उसको मानवोचित कर्तव्य हो ।
राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने- 'तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरूप तिम्रो रूप, शरीर कालो र कुरूप छ ।' यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भाँडोमा पानी ल्याएर भने- 'महाराज ! यी दुई भाँडामध्ये कुन भाँडाको पानी पिउन चाहनुहुन्छ ?' राजाले भने- 'माटाकै भाँडाको पानी शीतल छ । त्यसैले म त्यही पिउन चाहन्छु ।' मौका यही हो भन्ठानेर कालिदासले पालाको पैंचो तिरे- 'महाराज, जसरी शीतलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।'
दुःख बटुलेर सुख खोज्नेहरू समयको बाली टिप्न नजान्ने बज्रस्वाँठ हुन् । यिनीहरू नाङलोबाट भुस छिन्किएजस्तै पाखा लाग्ने पक्का छ । कसलाई थाहा छैन- पोहोर यसपालिजस्तो थिएन । फूल फुलेजति फल झुण्डिदिने भए, झुण्डिएजति फल पाकिदिने भए संसारको तस्वीर पक्कै पनि यस्तो हुने थिएन । भगवान शिव हिमालय पर्वतमा बस्नुहुन्छ । तर उहाँका भक्तको बाहुल्यता मैदान रहेको तराईमा छ । गौतम बुद्ध मध्य तराईमा जन्मनु भयो । उहाँका तपस्वीहरूको घना उपस्थिति हिमाल तथा पहाडमा छ । प्रकृतिले नै यसरी सहिष्णु र समतामूलक ढंगले मिलाएको सन्तुलनमा फेरि खण्डखण्डको भाग खोज्नु भनेको अर्घेल्याइँसिवाय केही होइन ।
भगवान रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो ? उत्तर हाजिर छ- राजनीति । दक्षिण अपि|mका देशभन्दा अघि मानिस नेल्सन मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । आखिर किन ? राजनीतिप्रति उनको इमान्दार संकल्प । आफ्नो घरपरिवार कि देश ? यी दुई रोज्ने परिस्थितिमा देशको हितका लागि उनले स्वास्नी, छोराछोरी त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरूलाई थाहा छ । सवैथोक भएर पनि घर नहुँदा दलाई लामाको दैनिकी कसरी बितेको छ ? सबैलाई थाहा छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु-जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रमसिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्‍याउनुचाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाइट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन ! यसका लागि आफूबाहेक सवै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नबिर्सौं देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । उत्साह विना संसारमा कहाँ पो विकास भएको छ र ? राम्रो कामका लागि हरेक दिन शुभसाइत हो । नयाँ वर्ष त काम नगर्नेहरूका लागि पात्रोभित्रको पिउने बहाना मात्र हो । कतै तपाईं पनि छोडेको उपलक्ष्यमा पिइरहनुभएको त छैन ?
(जनआस्था अब- www.janaaasthanews.com.np मा।)

1 comment:

  1. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete