गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको
थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन
हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका
कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा
भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी
सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा
नै उमाको कथा हो।"
दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा)
प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने चाहना छ, अनि आमा (मिथिला
शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका
कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्,
साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल
सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका
पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल
सर माओवादी भएको निहुँमा प्रहरीबाट मारिन्छन्, माओवादी प्रति आस्था राख्ने
अनिल लगायतका युवाहरुको समूह सुनिल सरको हत्याको बदला लिन तम्सिन्छन् ।
अनिलको समूहको योजनाबारे बेखबर रहेकी उमा परिवन्दले माओवादी छापामार बन्न
पुग्छिन् । जनयुद्धले उनीहरुको घरमा आगो सल्काइदियो, दाजु र बहिनी बिचको
सम्बन्ध त्यही जनयुद्ध सँगै धमिलो हुँदै गयो, उनीहरु एक-अर्कका दुश्मन बन्न
पुगे।
सत्य घटनामा आधारित चलचित्र उमाले चलचित्रको सुरु देखि अन्त्य सम्म
दर्शकलाई सिटमा बाँधेर राख्न सफल भएकोछ । प्रत्येक दृश्यमा दर्शकहरुमा अब
के होला भन्ने खुल्दुली रहन्छ, मुटुको ढुकढुकी बढ्छ र फिल्महलबाट
निस्किसकेपछि पनि उनै उमा र उनको परिवार र सम्बन्धहरुकाबारेमा सोच्न बाध्य
भइन्छ, सायद यो नै चलचित्रको सबल पक्ष हो । जनयुद्धका कारण आपसमा दुश्मन
बन्न पुगेका दाजु बहिनीबिचको सम्बन्धको व्दन्द, मानविय संवेदना केलाउन
निर्देशक छिरिङ रितार शेर्पा सफल भएकाछन् । माओवादी वा तत्कालिन श्री ५ को
सरकार कसैको पक्ष नलिइ निर्देशकले चलचित्रमा मध्यमार्ग रोजेकाछन् ।
उमाको भूमिकामा रिचा शर्माले न्याय गरेकिछिन् । बहिनी, छोरी, विद्यार्थी
अनि माओवादी छापामार सबै एङ्गलबाट रिचाले आफूलाई अब्बल राख्न सफल भएकीछिन् ।
रिचाले जुनसुकै भूमिका आफूले गर्न सक्छु भनेर सावित गरिदिएकिछिन् । दाजु
मिलनको भूमिकामा रहेका सौगात मल्ल पनि आफ्नो भूमिकामा जमेकाछन् । उनको
हाउभाउ, बोलिचाली, अनि बानी व्यहोराबाट उनी पक्का प्हरी हुन् भन्नेलाग्छ।
उनले आफूलाई एउटा दाजु र प्रहरीको भूमिकामा उभ्याउन सफल भएकाछन् । प्रकाश
घिमिरे (सुनिल सर), प्रविण खतिवडा (अनिल) , मिथिला शर्मा (आमा) को भूमिकामा
आफ्नो छाप छोड्न सफल भएकाछन् ।माओवादि छापामार 'विनित' को रुपमा प्रमोद
अग्रहरीको भूमिका तारिफ योग्य छ । माओवादी छापामारको रुपमा
दयाहाङ पनि रहेकाछन्, उनको उपस्थितिले चलचित्रका केही दृश्यहरु रमाइला
भएकाछन्!
छायांकनले आँखालाई अनि गित संगितले कानलाई शितलता प्रदान गरेकाछन् ।
कलाकारले बोल्ने संवाद प्राकृतिक छन् । काभ्रेको गाउँमा खिचिएका दृश्यहरु
मनमोहक छन् । "बनकी चरी", "सिरिमा सिरी"
लगायत अन्य गितहरु अवस्था सुहाउँदा लाग्छन् । आफूले भोगेर आएको जनयुद्ध,
अनि जनयुद्दका दौरान देखेका, भोगेका र सुनेका घटनाहरु समेटिएका कारण कतिपय
दृश्य र पात्रहरुमामा आफ्नो गाउँ ठाउँ र आफैँलाई देखिन्छ ।
लुट र हाइवे
पछि आएका चलचित्रहरु मध्ये उमालाई एउटा अर्को राम्रो नेपाली चलचित्र मान्न
सकिन्छ । क्लाइमेक्सबाट सुरुभएको चलचित्रमा कथा फ्ल्यासब्याकमा भनिएकोछ
जुन काभ्रेको एक गाउँबाट सुरु हुन्छ र काठमाडौँमा आएर टुङ्गिन्छ । सबै कुरा
राम्रो भइकन पनि चलचित्र प्रति रहेको एउटै गुनासो भनेको, क्लाइमेक्स
(अन्तिम २-३ मिनेट) नै हो जुन अलि चित्त बुझेन। vedeo
समग्रमा चलचित्र उमा, साँच्चिकै नेपाली चलचित्र बनेकोछ जसले जनयुद्दले
निम्त्याएको एउटा समस्यालाई उठान गरकोछ र दाजु र बहिनीको सम्बन्धमार्फत
जनयुद्धलाई नियाल्ने प्रयास गरकोछ। जनयुद्धको समयको आस्था, मानविय संवेदना
र सम्बन्धलाई चलचित्र उमाले सशक्त रुपमा प्रस्तुत गरेकोछ । यसमा माओवादी र
सरकार दुबैको समर्थन वा विरोध गरिएकोछैन, अत: यस चलचित्रलाई जुनसुकै समूह
प्रति आस्था राख्नेले हेरेर, हाम्रो विगतको एक कालखण्डको साक्षी बन्नसक्छन्
। उमालाई सफलताको शुभकामना ।
No comments:
Post a Comment