हो, उही हो! |
ज्ञानी छ रे, मेधावी पनि ।
गितार बजाउँछ, कविता लेख्छ रे ।
अनुहार पनि खुबै सुहाँउदिलो
(भनेको सुन्छु सबैले) ।
मैले नि देख्या छु, हेर्छु भनेर हैन,
बजार जाँदा बाटो परिजान्छ ।
छतमा बसेर नानाथरी धुन गुनगुनाउँछ
भगवानले पनि सबैकुरा एउटै मान्छेमा खन्याएका
(भन्छन् अरुले, खुब इर्ष्या गर्दै) ।
मलाई भने फिटिक्कै घत परेको होइन,
केटी फकाउने चाल न हो उसको !
फेरि हत्ते नै हाल्नु पर्ने गरिको
राम्रो नि लाग्दैन मलाई ।
खै, किन मर्नै खोज्छन् मेरा संगी?
मलाई त चित्तै बुझ्दैन
अलि हेर्नहुने मुख भाका सबै केटाको
उस्तै त हुन्छ बानी ।
अनि त्यो काले
किन घरिघरि आउँछ मेरो बार्दली मुन्तिर?
तल भाडामा बसेकी बैनीसँग गफ गर्न होला ।
त्यो बैनी पनि चुपो लागेर पढ्न छाडेर
किन मख्ख पर्दै बसेकी हो, त्यो जगल्टेसामु?
जेसुकै होस्, मेलै किन वास्ता गर्नु?
तर यो मान्छेलाई त मान्नै पर्छ
कस्तो ढीठ हो, कति लाज नभएको
दिन बिराएर आउँछ, चाल मारेर सुस्तरी
पल्याकपुलुक गर्दै, अम्बकको बोटमुनि ।
खोज्न त कसलाई खोज्या हो,
मलाई नि थाहा छ ।
तर झुक्किएर जहिल्यै आँखा चाहीँ
जुधिजान्छ मैसँग ।
म किन हार मानौँ?
मेरो घर हो, मेरो खुशी!
उसैलाई पहिला नजर झुकाउन बाध्य पार्छु
कता कता जितको आभाष पनि हुन्छ ।
तर फेरि एकछिनमा
माथिल्तिर नचाइहाल्छ आँखा ।
असत्ति!
मेरो मन चोर्न खोजेको होला,
यत्ति पनि थाहा पाउँदैन,
उही हो –
मैले मन पराउन नसकेको मान्छे! yug zee Tah
No comments:
Post a Comment