नेपाली समाचार ,Nepal Flag

Saturday, December 6, 2025

जीवन नै एउटा लामो राजमार्ग



जीवन नै एउटा लामो राजमार्ग—
उकालो–ओरालोका चोट छोपेर बस्ने
धुलो पसेका आँसुसरह तिक्त मोडहरूको यात्रामा।

कहिले टायरको घर्षणमै सपनाहरू छिन्निन्छन्,
कहिले फ्रन्ट–सिसामा टल्किएको एउटा उज्यालो
भित्रको थाकेको आगोलाई फेरि जिवन्त बनाइदिन्छ।

हाँसोको पेट्रोलले गाडी दौडाउँछ,
दुःखको ब्रेकले बीच बाटोमै रोक्छ।
रातको ताल्चा खोलेर एक्लोपनले पछाडि धकेल्दा पनि
अगाडि देखिने अनन्त सडक
मुस्कुराएर भन्छ—
“साहस छ भने हिँड, डरले होइन।”

जीवनको यो राजमार्गमा
परिचित अनुहारहरू ओभरटेक भएका जस्तै
क्षणमै हराउँछन्।
तर केही मान्छे—
रातको मोडमा उभिएको रोड–साइनझैँ
मौन भएर पनि
सधैं दिशा देखाइरहन्छन्।

कहिले गन्तव्य आफैँ हराउँछ,
कहिले पुग्दा पनि थकान बाहेक केही हात लाग्दैन।
तर प्रत्येक मोडमा भेटिन्छन् कथाहरू—
कसैको हाँसो, कसैको बिदाइ,
कसैको स्नेह, कसैको प्रतीक्षा।

जीवन त्यही कुहिरोले ढाकिएको जंगली सडक हो—
जहाँ क्षणभर पनि दिशा स्पष्ट हुँदैन।
तर बिहानको उज्यालोसँगै
प्रत्येक यात्रा भित्र भित्रै भन्छ—
“आफूलाई चिनेको छैनौ भने हिँड।
एक नयाँ मोडले फेरि तिमीलाई तिमी नै बनाउँछ।”

जीवन नै एउटा लामो राजमार्ग—
हरेक किलोमिटर कानमा भन्छ—
“जबसम्म तिमी हिँडिरहेछौ,
हारेर होइन—
अगाडि बढेर नयाँ अध्याय लेख्दै छौ।”


---

Tuesday, November 25, 2025

मेरो गाउँ


बगुवाखेतको बिहानैमा
बुबाको आँखा जस्तो उही पहाड उभिन्छ,
आमाले चुल्हो सल्काउँदा
धुवै–धुवामा मेरो बालापन बग्छ।

उही करेसाबारीको बासना
आज पनि मनभित्र बोल्छ,
म जहाँ पुगेँ संसारभर—
माटोले फुसफुसाउँछ,
“तँ फर्क न, मेरो छोरा,
यहि हो  त तेरो जन्म भएको ।”

तान्द्राङकोटको डाँडामा
आशिर्वादको उज्यालो पग्लिन्छ,
घ्याम्पेसालको साँझमा
पुराना कथाले फेरि बोल्दिन्छ।

बगुवाको खोला
गीतै–गीतसँगै बगिरहन्छ,
ओखले चौताराको हावाले
सपना झन् टल्काइदिन्छ।

दूरीले टाढा पार्ला
तर मन कहाँ छुट्छ?
घडेरी गाउँको माटो
रगतसँगै बगिरहन्छ।

देश टाढा भए पनि
मन त उही घर,
पहाड, बाटा, खेत–पाखा,
तिमी नै मेरो भोलि–परसि भर।

जुन दिन फर्केर आउँछु,
माटोलाई हात हालेर
फेरि एकछिन बालक बन्नेछु
गाउँको काखमा बसेर।

बगुवाखेतदेखि घ्याम्पेसाल,
तान्द्राङकोटदेखि कयापानी
हरेक पाइलामा अडिएको छ
मेरो सानो–सानो कहानी।

ओखले चौताराको हावाले
अहिले पनि मेरो नाम बोल्छ,
घडेरी गाउँको माटो
एकनासले फुसफुसाउँछ

“घर नबिर्स है,
तँ फर्केपछि मात्रै
पूरा हुन्छ
देशको अधुरो कथा।”

मजदुरको कथा

काममा आएको भोलिपल्टै
पचासौँ तला माथिबाट
डोरीमा झुन्डिएर
आफ्नै साससँग सम्झौता गर्नुपर्छ
जीवन पनि त्यो डोरी जस्तै
कुनैबेला चुँडिएला कि भन्ने डर।

घामले छाला पोल्छ,
हावाले हड्डीसम्म चिस्याउँछ,
तर उसको हात चलिरहन्छ
किनकि घरमा
आमाले छोराको फोटो छुँदै भन्छिन्,
“ठिकै छस् होला नि त्यहाँ...”

उसले पसिनाले भिजेको आँखा
बुझेर तल्लो सडक हेर्छ
त्यो सडकमा
देशकै सबैभन्दा ठूलो प्राण
रातो बाकस बनेर बगिरहेको हुन्छ
—रेमिटेन्स।

देश चल्छ भने
यिनै रातो बाकसले,
देश टिक्छ भने
यिनै पसिनाको च्यापटाले,
देश बोल्छ भने
यिनै डोरीमा झुन्डिएको मजदुरको
निःशब्द चीत्कारले।

देश थामिन्छ भने
भिजेको ज्याकेटभित्र लुकाएको
बाबुको अपूर्ण सपनाले थामिन्छ।

देश बग्छ भने
रातो बाकसमा भरिएको
नुनिलो पसिनाको बाटो भएर बग्छ।

देश बोल्छ भने
अवसरविहीन युवाको
चिच्याइरहेको मौनताले बोल्छ।

देश टिकिरहन्छ भने
बच्चाको अनुहार सम्झँदै
जोखिमका तला चढ्ने कामदारको
धड्कनले टिकिरहन्छ।
देश उठ्छ भने
दलहरूको झूट होइन
विदेशमा जुत्ता च्यातिँदा पनि नटुट्ने
आत्माभिमानले उठ्छ।

तर विडम्बना हेर्नुस
दशकौँदेखि पुराना दलहरूले
हाम्रो भावनामाथि यति धेरै
खेलबाड गरे,
यति धेरै बलात्कार गरे आशाहरूको,
कि जनता आज
आफ्नै देशमा होइन,
आफ्नै भाग्यसँगै परदेशिएको छ।

हाम्रा भोट
बारम्बार बेचिन्छन्
उही भ्रष्ट, उही दलाल,
उही मुखैमा विकास बोकेर
मनभरि सौदाबाजी ल्याउनेहरूलाई।
हिजोको झूटलाई
भोलिको सत्य जस्तो मानी
फेरि–फेरि थमाइन्छ
निश्छलभन्दा निश्छल भोट।

अब त परिवर्तन
चिहानमै निदाएको आशाजस्तो
बिस्तारै कराउँदै उठ्दैछ
“भोट बदल, सोच बदल,
दशकौँका झूटहरूको
अन्त्य गर।”

डोरीमा झुन्डिएको त्यो मजदुर
देशका नाममा ज्यान दिनेछ
तर देशका नाममा
अब फेरि झूट सुन्न सक्दैन।
राता बाकस बोक्ने हातहरू भन्छन्
“हामीले देश धान्दै आएका छौँ,
अब हामीले नै
नेता पनि छान्नेछौँ।”

Saturday, November 15, 2025

आत्मा बेच्नेहरु

तिन लिटर पेट्रोलका लागि
दलको झन्डा बोकेर उफ्रिने ए हुतीहारा हो,
एक छाक मासुभात र एक कप चियामा
आत्मा बेच्न सकिने रहेछ भनेर सोच्छौ?

सुन् 
देश तिम्रो बाबुको बिर्ता होइन,
न नेताको झूटो भाषणले
अस्मिता तौलिने बजार हो।

आस्थाको पोको बोकेर
ढोंगी भक्त बनेर हिंड्नेहरू,
यही आत्मा किन्नेहरूले भोलि
तिम्रै छोराछोरीको कन्चटमा गोली तेर्स्याउनेछन्।

आज आफू बेच्नेहरूले
भोलि आमा बचाउने ग्यारेन्टी
कुन किताबमा छ?
कसले दिएको छ त्यो वाचा?

ए झन्डा बोक्ने आमाबाबु हो 
तिम्रा नातीनातिनी हुर्किँदैछन्,
तर चेत बहिरा भएको छ।
खाडीमा जलिरहेको
लाखौँ युवाको रगत र पसिनाले चलेको देशमा
तिमीहरू त्यही रगत पसिनाले किनेको
झन्डा–टिसर्टमा गर्व गर्छौ 
दुखः तिमीले देख्दैनौ,
छोराछोरीका सपनामा टाँसिएको विदेशी धुलो मात्रै देखिन्छ।

मासु–भातको थालमा
राष्ट्रभक्ति चपाउनेहरू,
क्षणभरको रमाइलोका लागि
देश डुबाउँछौ 
र हाँसो ठटाउँछौ।

सुन गद्दार 
देश मजाक होइन,
यो माटो हो, रगत हो, शहीदको मृत्यु हो।
गाउँहरू खाली हुँदैछन्,
शहरहरू उजाडिँदैछन्,
देश खरानी बनेको छ 
तर तिमीहरूको रातको चुस्स–चुस्स
अझै रोकिन्न।

आजको नेपाल हेर्नु 
सीमाना मिचिँदैछ,
लिपुलेक–कालापानी हराएको छ।
एकातिर चीनको ऋणले बाँध्छ,
अर्कोतिर  MCC ले घाँटी अठ्याउँछ।
युवा बालुवामा पसिना बगाउने,
तर नेताको पेटमा करोडौँ डुबाउने 
यही हो हाम्रो भाग्य?

ललिता निवास, वाइडबडी,
भूकम्पपीडितको त्रिपाल,
अस्पतालमा अक्सिजन नपाएर मरेका बाबुआमा —
सबै तिमीहरूको मौनता र भयको परिणाम हुन्।

हिमाल पग्लिँदैछ,
तर तिमीहरूको लोभ पग्लिँदैन।
नदी सुक्दैछन्,
तर नेताको झूटको भेल रोकिँदैन।
स्कुलमा किताब छैन,
तर नेताको फोटो झुन्डिएको छ।
गाउँमा बाटो छैन,
तर ऋणको चक्कु झन् गहिरिँदै छ।

ए मान्छे 
मान्छे बन्ने हैसियत कहिले बनाउँछौ?

एउटै दिन
छोरीहरूले सोध्नेछन् 
“बुबा, किन बेच्यौ देश?
किन तिन लिटर पेट्रोलमा बदल्यौ भविष्य?
किन हामी विदेशी झण्डामुनि घुँडा टेक्न बाध्य भयौं?”

त्यो दिन
माथि हेर्न लाज लाग्ला,
मुनि हेर्न जमीन नहोला 
किनकि
इतिहास लेखिसक्छ 
देश बेच्नेहरूको कुनै धर्म हुँदैन,
तिनीहरू सबैका साझा शत्रु हुन्।

यो आगो आजै निभाऊ,
नत्र सारा नेपाल जल्नेछ 
र तिम्रै सन्तानले तिमीलाई श्राप दिनेछन्।

Saturday, November 8, 2025

मुक्तिको सपना

रातभरि मर्छु, बिहान आफ्नै लास बोकेर निस्कन्छु,
दिनभरि मलामी बनेर हिँड्छु तर भेट्न सकिन
जिन्दो लास बिसाउने घाट कतै...
साँझको छायाँले मेरो मुटु चिथोर्छ,
रातको अँध्यारोमा सपनाहरू जल्छन्,
बिहानको उज्यालोमा ती खरानी बन्छन्,
म तिनै खरानी बोकेर बाटो हिँड्छु।
हावाले सोध्छ, “किन यस्तो बोझ?”
म हाँस्छु, “यो त मेरो आफ्नै इतिहास हो।”
गल्लीहरूमा म एक्लैको मलामी बन्छु,
आफ्नै लासलाई काँधमा राखी,
मान्छेहरू हाँस्छन्, “यो पागल हो!”
म चुपचाप हिँड्छु, आँसु लुकाउँदै।
कुनै चिहानमा पुगेर सोध्छु,
“यहाँ ठाउँ छ र?”
चिहान मौन रहन्छ, म मौन रहन्छु।
दिउँसोको घामले मेरो छाया पोल्छ,
म छायाँलाई नै लास ठान्छु,
रातको जूनले मेरो अनुहार हेर्छ,
म जूनलाई नै मलामी बनाउँछु।
बाटोमा भेटिएका यात्रुहरूले भन्छन्,
“तिमी कता जाँदैछौ?”
म भन्छु, “घाट खोज्दैछु,
जहाँ जिन्दो लासलाई बिसाउँछु।”
कहिले नदी किनारमा पुग्छु,
पानीले मेरो लास धुन्छ,
कहिले जङ्गलमा हराउँछु,
रूखहरूले मेरो कथा सुन्छन्।
कहिले शहरको भीडमा मिसिन्छु,
मान्छेहरूको हाँसोमा डुब्छु,
तर कतै पनि घाट भेट्दिन,
कतै पनि मुक्ति पाउँदिन।
रात फेरि आउँछ, म फेरि मर्छु,
बिहान फेरि लास बोकेर निस्कन्छु,
यो चक्र चलिरहन्छ, अनन्तसम्म,
जिन्दो लासको खोजीमा म भौँतारिन्छु।
कुनै दिन शायद घाट भेटिएला,
कुनै दिन शायद मुक्ति मिलेला,
तर अहिले त म मलामी मात्र हुँ,
आफ्नै लासको, आफ्नै पीडाको।



यो यात्रा कहिले सकिएला?
यो बोझ कहिले हल्का होला?
म हिँडिरहन्छु, मर्छु र बाँच्छु,
घाटको आशामा, मुक्तिको सपनामा...

Friday, November 7, 2025

चिहान

जबसम्म हत्याराहरू सडकमा हिँड्छन्,
खुट्टाले रगतको धर्सा कुल्चँदै,
मिडियाका पर्दामा ‘अन्तर्वार्ता’ भन्दै
रगतको दाग लुकाउँछन्,
हाँसोको पछाडि लाशको गन्ध छोप्छन्।  प्रहरीका हाकिमहरू नेताको
गोजीका मालझैँ, चम्किला सिक्का चपाउँदै
मालिकको बचाउमा लाग्छन्
बफादार कुकुरझैँ नियम र न्याय चपाउँछन्,
घाँटीमा लगाइएको पट्टा हल्लाउँदै
आफ्नै छायाँलाई तर्साउँछन्।  अदालतका न्यायाधीशहरू
कानुनको किताबमा आँखा गाडेर
७६ कोपिलाको रगत पुछ्छन्,
कागजको कलमले लाशको नाम मेटाउँछन्।
ती कठपुतलीहरूको हातमा
न्यायको तराजु होइन,
मालिकको डोरी बाँधिएको हुन्छ।  ती कार्यकर्ता, ७६ जना भाइ–बहिनीको
कलीला ज्यान, फूलझैं झरेका सपना
रातो माटोमा सुकेर पनि हरियो बन्छन्,
हरेक आमाको आँसुमा डुबुल्की मार्छन्,
हरेक बाबुको चित्कारमा आगो बन्छन्।
तर तिनलाई सुन्दैनन्,
चुप लाग्छन्, चुप।  घर–घरमा एउटै प्रश्न गुन्जिन्छ—
“मेरो छोरो कहाँ गयो?”
“मेरी छोरीको किताब कसले च्यात्यो?”
आमाहरू रातभरि सिरानी भिजाउँछन्,
बाबुहरू आँगनमा उभिएर
खाली झोला हेर्छन्, खाली जुत्ता हेर्छन्।  स्कूलका बेञ्चहरू रित्ता छन्,
चकको धुलो उड्छ, तर हात छैन लेख्न।
खेल मैदानमा बल गुड्छ,
तर कसैको हाँसो गुन्जिंदैन।
७६ जोडी आँखा आकाशतिर हेर्छन्,
बादलमा आफ्नो नाम खोज्छन्।  मिडिया, प्रहरी, दलका नेताहरू मिलेर
चिहानमाथि उभिएर
झूटो ‘शान्ति’को नारा बोल्छन्,
हातमा माला बोकेर,
मुखमा ‘विकास’को झूट कोच्छन्।
तर ती मालाहरूमा
रगतको गन्ध अझै ताजा छ।  यो देश ठूलो चिहान रहिरहन्छ
हरेक गल्लीमा लाशको छायाँ,
हरेक चौकमा रुवाइको प्रतिध्वनि।
जबसम्म हत्यारा सडकमा हिँड्छन्,
जबसम्म मिडियाले तिनको मुस्कान बेच्छ,
जबसम्म प्रहरीले तिनको रक्षा गर्छ,
जबसम्म न्यायाधीशले तिनको पक्ष लिन्छ
यो देश ठूलो चिहान रहिरहन्छ।  तर सुन्नुस्,
ती ७६ कोपिलाको रगत सुकेको छैन,
सडकको धुलोमा लेख्छ
“हामी फर्केर आउँछौं, आगो बनेर।”
हरेक आमाको आँसुमा आगो सल्किन्छ,
हरेक बाबुको मुटुमा विद्रोह पलाउँछ।  एक दिन यो चिहान फुट्नेछ,
रगतको माटोबाट नयाँ फूल फुल्नेछ।
ती ७६ कोपिलाहरूको सपना
फेरि उड्नेछ, आकाश चिरेर।
त्यो दिनसम्म यो देश
ठूलो चिहान रहिरहन्छ
तर चिहान पनि बोल्छ,
रगतले लेख्छ, आगोले गाउँछ।

Sunday, November 2, 2025

आत्मसंवाद

आत्मसंवाद
सन्तोष सिम्खडा

मैले लेख्न छाड्दा देश बन्छ भने  बनाऊँ,
मैले चिन्ता नलिँदा तिमी खुशी हुन्छौ भने होऊ।
म मर्दा तिमीलाई शान्ति मिल्छ भने  शान्त होऊ।

मेरा कलमहरू म बन्द गरीदिन्छु,
मेरा धड्किँदा मुटुहरू पनि रोकिदिन्छु।
तर सम्झ 
सत्यलाई चुप गराएर कुनै देश बन्दैन्,
कलम रोकेर कुनै आत्मा शान्त हुँदैन।

मैले लेखेको प्रत्येक शब्द
कसैको विरोध होइन,
कसैको भित्तामा चोट पुर्‍याउने प्रयत्न पनि होइन 
त्यो त केवल अन्याय, पीडा र मौनतालाई
आवाज दिन खोज्ने साहस थियो।

धेरैले भने 
“ ए भगौडा देशको चिन्ता लिएको”,
तर म कहाँ पलायन भए र?
देश त मभित्रै बोकेको छु 
त्यो पीडा, त्यो माया, त्यो सपना,
सबै यही हृदयमा जिउँदै छन्।

लेखन छाड्न सक्छु,
तर देशलाई बिर्सन सक्दिनँ।
किनकि म बाँचुन्जेल देश मेरो सासमा हुन्छ,
र म नबाँच्दा पनि 
मेरो कलमले छोडेको सन्देश
कुनै न कुनै हृदयमा धड्किरहनेछ।

कसैले भन्यो 
“तँ विदेशको माटोमा हरायिस्।”
तर म त हिमालको हिउँ बोकेर हिँडेको छु,
गंगा-कोशीको बहाव मेरो रगतमा बगिरहेको छ।
विदेशी आकाशमुनि पनि
नेपाली आँसु झर्छ,
नेपाली सपना उड्छ।

कसरी भुलुँ त्यो माटो,
जहाँ आमा रोपाइँ गीत गाउँथिन्,
बाबा हलो जोत्थे,
र बाल्यकालको खेतमा
म आफ्नै भविष्य रोप्थें।

मौन बसुँ भने तिमीलाई सजिलो हुन्छ र?
मेरो कलम थन्क्याउँदा तिम्रो सिंहासन बलियो हुन्छ र?
तर हेर्छु 
मौनताको यो अँध्यारोमा
बालबच्चा भोकले रोइरहेका छन्,
गाउँहरू खाली हुँदैछन्,
सपनाहरू मरिरहेका छन्।

यदि मेरो एउटा शब्दले पनि
एउटा आँखा खोल्छ भने 
किन रोकूँ यो कलमको धार?

म मर्छु भने शान्ति छाउँछ र?
मेरो शवमाथि फूल चढाएर तिमी मुस्कुराउँछौ र?
तर मरेपछि पनि मेरो आत्मा कराउँछ 
“उठ, बोल, लड!”
किनकि माटोको ऋण तिर्न बाँकी छ,
पीडितहरूको बदला लिन बाँकी छ।

मेरो रगतमा मिसिएको यो देशको माया
कुनै सीमाना, कुनै पासपोर्टले रोक्न सक्दैन।

समय आउँछ 
जब मेरो कलम फेरि उठ्नेछ,
वा मेरो सन्देश कुनै नयाँ हातमा पुग्नेछ।
त्यो दिन तिम्रा झूटा महलहरू ढल्नेछन्,
सत्यको ज्योति फेरि बल्नेछ।

म बाँचुँ वा नबाँचुँ,
यो कविता मेरो अमर प्रमाण हुनेछ 
देश मेरो मुटुमा छ,
र मुटु रोकिए पनि यो सन्देश अमर रहनेछ।

मलाई गाली गर, निर्वासित भन,
तर मेरो कलमको आगो निभाउन सक्दैनौ।
किनकि प्रत्येक अक्षरमा एउटा क्रान्ति लुकेको छ,
प्रत्येक विराममा एउटा विद्रोह सास फेरिरहेछ।

मौनताको यो जंजीर तोडेर
फेरि लेख्नेछु, फेरि बोल्नेछु 
जबसम्म न्यायको लडाइँ चलिरहन्छ,
मेरो कलम अमर रहनेछ। 🇳🇵✍️

Friday, October 31, 2025

बीस पिएर मर्नुपर्ने समाज

बीस पिएर मर्नुपर्ने समाज

(कविता – सन्तोष सिम्खडा)

आफ्नै श्रीमतीको असह्य पीडा
छोराछोरीले हेरेनन्,
र अन्ततः ऊ
बीस पिएर ढलेको थियो
त्यो समाजसँग म के कुरा गरूँ?

पैसा नै सबैथोक ठान्ने
एउटै कोखका आत्माहरू बीच
मनमुटाव हुने यो समाजसँग म के कुरा गरूँ?
अरे, पैसामा बिकेका आत्माहरु!
एकदिन थाहा हुनेछ 
त्यो पैसाको महत्व,
जो मरेको सम्बन्धमा औषधि बनेर कहिल्यै आउँदैन।
त्यो पैसा, जसले
मृतकको नशामा सास फुक्दैन,
न घाटमा हात समात्न आउँछ।

रगतको नातालाई परायो ठानेर
स्वार्थको पिसाबको न्यानोमा रमाउने
तिमीहरूसँग म के कुरा गरूँ?
तिमीहरूको चम्किलो घरभित्र
अन्धकार बस्छ,
र त्यो अन्धकारले एकदिन
तिमीहरूको आत्मा निल्नेछ।


फूल होइन, बाँच्नका लागि मान्छेपन देऊ समाज!
किनकि आत्महत्या कमजोरी होइन 
यो त तिम्रो निर्दयताको प्रतिविम्ब हो।

Tuesday, June 24, 2025

श्रमिक

श्रमिक

त्यो तातो सूर्यको तीव्र प्रकाशमुनि
छालामा पोल र निधारमा जलनले
दुई छाक टार्न र परिवारको पेट पाल्न
दिनरात संघर्षरत हुन्छ एक मजदुर।

उसले बनाउँछ गगनचुम्बी भवनहरू,
विशाल पुलहरू, उचाइलाई चुनौती दिन,
तर बनाइसकेपछि ती विशाल संरचनाहरूलाई
मक्ख हुँदै हेर्छ—
तर त्यसै क्षणमा आफैँलाई 'श्रमिक' भनेर
फेरि बिर्सिन्छ।

श्रमिकको नाम कहिल्यै
ती भवनहरूको शिलालेखमा लेखिन्न,
त्यो नाम जसले शहरको चेहरा बनाउँछ,
कसैले पनि उसलाई सम्झँदैन।
छैन कुनै मूर्ति,
छैन कुनै माला,
छ केवल थाकेका हत्केलाहरू
र अधुरो सपना।

श्रमले शहर बन्छ,
श्रमले सभ्यता बन्छ,
तर श्रमिकको सपना भने
दिनहुँ अधुरो रहन्छ।

उनकै काँधमा टेकेर
समाज र सृष्टि अगाडि बढ्छ,
तर उनीहरूको पाइला
जहिल्यै पछाडि धकेलिन्छ।

बजारमा ‘दशैं अफर’ लाग्दा पनि
श्रमिकको घरमा नयाँ लुगा हुँदैन,
उसले बनाएका पसलहरूमा
ऊ आफैं ग्राहक बन्न सक्दैन।

श्रमिक दिवस आउँछ हरेक वर्ष,
फूल चढाइन्छ, भाषण गरिन्छ,
तर श्रमिकको जिन्दगीमा
कसैले सुन्दै नसुनेको मौनता भरिन्छ।

श्रमिकको श्रममा बाँच्नेलाई
हामीले गुमेको छ, कुनै एक भव्य सम्मान।
उसको मूल्य हाम्रो शब्दमा छैन,
उसको मूल्य भने व्यवहारमा मात्र छ।


अर्को जन्म (कविता )

अर्को जन्म  (कविता )
कहिलेकाहीँ सोच्छु साँच्चै,
अर्को जन्म त्यो देशमा नहोस्,
जहाँ सपनाले जरा गाड्न नपाएर
आफ्नै माटो छाड्न बाध्य बनाओस्।

जहाँ बासको आशाले
हजारौं पाइला पर धकेल्ने होइन,
हजारौं हातहरूले समातून्,
जहाँ आफ्नै जन्मथलो छाडेर होइन,
माटोसँगै सपनाहरू उम्रून्।

जहाँ रित्तिएको आँगनमा
मायाका पाइलाहरू ओइलाउने होइन,
मायाका फूलहरू फक्रून्,
जहाँ आफ्नै सन्तान आफ्नै सपना बन्दै
आँखाबाट ओझेल पर्ने होइन,
संगै बसेर सपना सजाउन सकून्।

जहाँ आँगनको तुलसी हरियै रहोस्,
जहाँ दैलोको बास्नाले आत्मीयता छरून्,
जहाँ बुबाको ओछ्यान चिसो नहोस्,
जहाँ आमाको हात कहिल्यै रित्तो नहोस्।

जहाँ बिहानको घाम ढोकैबाट छिर्दा
नयाँ आशाका रंगहरू कोरून्,
जहाँ साँझपख आँगनमा बसेर
गफ गर्न पाइयोस्, हाँस्न पाइयोस्।

जहाँ पिँढीमा बसेर बुबाले
पुराना कथाहरू सुनाइरहून्,
जहाँ आमाको हातले
सन्तानको निधार सुम्सुम्याइरहोस्।

जहाँ खेतका गराहरू हाँसून्,
जहाँ हलोले चिरेको माटो
पसिनाका थोपा पिउँदै
हरियो बालाजस्तै लहलहाउँदो बनोस्।

जहाँ झरनाको सङ्गीतमा
मनका व्यथाहरू बगून्,
जहाँ साँझ परेपछि जुनको छायाँमा
सबैले सपनाहरू हेर्न सकून्।

जहाँ बस्तीका बाटाहरू
छोडिने होइन, समेटिने बनून्,
जहाँ गाउँका पर्खालहरू
उचालिने होइन, माया गाँसिने बनून्।

जहाँ जंगलमा बास रहोस्,
तर मनहरू निर्जन नहोऊन्,
जहाँ पाखाहरू मौन नबसून्,
परेवा जस्तै स्वतन्त्र गुञ्जून्।

जहाँ घर फर्किनु भाग्यको खेल नहोस्,
सपना सँगाल्नकै लागि
जन्मथलोमै आफ्नोपन महशुस होस्।

जहाँ माटो पराइ नबनोस्,
जहाँ जरा उखेलिन नपरोस्,
जहाँ गाऊँका चौतारीहरू
माया बाँड्ने थलो बनून्।

जहाँ गीतहरूले इतिहास गुनगुनाऊन्,
जहाँ गीता-मन्त्र झैँ मूल्यहरूले जीवन सिखाऊन्,
जहाँ आत्माहरू बीच कुनै पराइपन नहोस्,
जहाँ हरेक अनुहारमा उज्यालो हाँसो झल्कोस्।

जहाँ मनका दुःखहरू
बादलझैँ तैरिएर विलिन होऊन्,
जहाँ नदीहरू जस्तै
सम्बन्धहरू निरन्तर बगून्।

जहाँ कोही आफ्ना रहन
परदेशको गल्लीहरू धाउन नपरोस्,
जहाँ कोही सपना बेच्न
सुनसान सहरहरूमा बास बस्न नपरोस्।

जहाँ आफ्नोपनको सुगन्ध बोक्ने
हावा बहिरहोस्,
जहाँ मायाले अँगाल्ने समाज
सधैं सजीव रहोस्।

जहाँ छोरीहरूले आफ्नै माटोमा
स्वाभिमानका पाइला टेकून्,
जहाँ आमाहरूका आँखामा
मायाका रसिला दृश्यहरू झल्कून्।

त्यसैले, यदि अर्को जन्म हुन्छ भने,
त्यो देशमा जन्मिने आशा होस्,
जहाँ सन्तान बोटझैँ फैलिउन्,
जहाँ जरा उखेलिन नपरोस्।

सन्तोष सिम्खडा
टोकियो जापान

⏰ घडीका तीन सुई

⏰ घडीका तीन सुई 

पहाडको काखैबाट बगेको नदी जस्तै,
कुदिरहेछ सेकेण्ड सुई 
जहाँ थकाइको छुट छैन,
पग्लेको हिउँजस्तो
उमर घामसँगै बग्दै जान्छ।
बर्खाको पानी जस्तै
माटोभित्र हराएर पनि
उसकै जीवनले हरियाली छर्छ,
तर सधैं भिजेको चप्पलजस्तो
कसैले वास्ता गर्दैन उसको गुनासो।

धैर्यको घाम हो मिनेट सुई,
न त उज्यालो, न त अँध्यारो
मध्यान्हको छायाँजस्तो
हिँड्छ ढिलो,
तर अघि बढ्छ।

बेंसीका बोटहरूजस्तै,
न ठूलो, न सानो,
तर ठाँटिएको 
सेकेण्ड सुईतिर हेर्छ,
घण्टासँग हार्न डराउँछ।
ऊ संघर्ष गर्छ 
साँझमा हराउने पहेँलो फूलजस्तै,
जसको गन्ध त हुन्छ,
तर सम्झिने कोही हुँदैन।

र त्यो घण्टा सुई 
पारिलो बिहानको सूर्य जस्तो देखिन्छ,
तर त्यो त केवल
बादलभित्र लुकेको प्रभुजस्तो 
आफ्नो समयमा देखा पर्छ,
सबैलाई तातो बनाउँछ,
तर आफ्ना घाउ कोही देख्दैन।

ऊ राजद्रुमजस्तै उभिएको छ 
सेकेण्ड र मिनेटको जरा उसैमा गाडिएको,
तर उसले भन्छ,
"म छैन भने घडी चल्दैन!"
त्यो भूल हो 
घामलाई पूजा गरे पनि,
बर्खाले नै धर्ती सिञ्चिन्छ।

घडी ticking गर्छ 
तर त्यसको कथा प्रकृतिभित्र छ।
बर्खामा भीज्ने किसान,
झरनामा आँखा धोइरहने मजदुर,
र गगनछुने गगन हेर्ने प्रभुत्वशाली 
तीनै मिलेर बनेको समाज।

तर एक दिन
सेकेण्ड सुई रोकिन्छ 
नदी सुकेझैं।
मिनेट सुई थाक्छ 
बेंसी उजाडझैं।
र घण्टा सुई फर्कन्छ 
फूल बिना डाँडाजस्तै,
एक्लो… निसंग।

यदि हामीले सेकेण्ड सुईको श्रम बुझेनौँ,
मिनेट सुईको आशा देखेनौँ,
र घण्टा सुईको सत्तालाई विवेकले नहेरेनौँ,
प्रकृतिको घडी बिग्रन्छ।
त्यसपछि न घाम उदाउँछ, न वर्षा पर्छ।
फेरि समय रोकिन्छ, घडी मौन हुन्छ…।

प्रिय जापान

प्रिय जापान,
तिमी दिन्छौ
वेतन, बीमा, बोनस र सुरक्षित सडकहरू,
तर लिन्छौ
निन्द्रा, मुस्कान, र मेरो देशको माटोको गन्ध।

तिमी दिन्छौ
कानूनको काँटामा बेरिएको घडीको कडाइ,
जसले मापन गर्छ हाम्रा सासहरूको मूल्य।
तिमी दिन्छौ
मेसिनको आवाजमा हराएको विहानी,
पेटभर खान पाइने, तर मनभर रोकिने भातहरू।

तर तिमी लिन्छौ
छोरीको पहिलो नृत्यको ताल,
छोराको पहिलो शब्द “बुबा” को मिठास।
लिन्छौ
आमाको चिच्याइझैँ हर्ष मिश्रित फोन कल,
र श्रीमतीको त्यो मौन,
जहाँ सारा पीडाहरू शब्दबिनै पोखिन्छन्।

प्रिय जापान,
तिमी ठिकै छौ
शान्त, सफा, सुगठित र अनुशासित।
तर कति कठोर छौ तिमी
जहाँ सपनाहरू पाइपलाइनमा झुन्डिएर हिँड्छन्,
र हरेक नेपाली श्रमिक
पसीनाको चापले झुकेको काँध बोकेर
घर फर्कन नपाउने सम्झौतामा बाँचिरहन्छ।

तिमी हेर्दैनौ
छुट्टिएका बाबुहरूका च्यातिएका तस्वीरहरू,
जुन सानातिना डब्बामा राखेर
हामी प्रत्येक दिन मुस्कानको अभिनय गर्छौं।
तिमी सुन्दैनौ
भाँडा माझ्दा भित्रभित्रै फुटेका आशाहरूको चर्को चुरचुर।

हाम्रो देशमा
धूलोले भरिएका बाटाहरू छन्,
तर ती बाटामा हाम्रा पाइला छन्।
हाम्रो माटोमा भोक छ,
तर त्यही भोकमा हाम्रो पहिचान छ।

प्रिय जापान,
तिमी अवसर हौ,
तर सौन्दर्यमा लुकेको एकान्त पीडा पनि हौ।
तिमी दिएरै लिन्छौ
हामीबाट हाँसो, निद्रा, पहिचान,
र एक दिन, पुरै ‘म’ नै हराउने डर।

प्रिय जापान,
तिमी साहु हौ
तर पैसाको होइन, सपना र समयको हिसाब किताब राख्ने।
म ऋणी छु,
न त केवल तलबी कागजमा,
न त बैंकको खातामा,
तर त्यो साँझको थकानमा,
जसले हरेक दिन मलाई “आफ्नो”भन्दा टाढा धकेलिरहेछ।

म तिर्दै छु
पसिनाको व्याज,
जहाँ न घाट देखिन्छ, न त घाटाको हिसाब।
जीवनको मूलधन
पुर्ब जन्ममानै साचेर राखिएको रैछ
छोरीको हात समाउने समयसँगै,
आमाको निधारमा हात राख्ने छायाँसँगै।

प्रिय जापान,
तिमी मलाई आम्दानी दिन्छौ,
तर त्यो आम्दानीसँगै म गुमाइरहेछु
आफ्नो “म” भन्ने सम्पूर्ण अस्तित्व।

सम्बन्ध (कबिता

सम्बन्ध (कबिता )

 सन्तोष सिम्खडा

दाजु भनियो,
तर बुबाको मुटु चिरेर जग्गा मापन गरियो।
भाइ भनियो,
तर आमाको आँशु साटेर स्वार्थको व्यापार गरियो।

घरभित्रै शान्तिको चिहान खनियो,
जहाँ गाडिएका छन् 
हिजोको साझा बिहान,
सिँढीको कुनामा सँगै हाँसेको विगत,
बुबाको टकटक बुटको आवाज,
आमाले राखिदिएको हातको चामलभात,
र सँगै रोएको त्यो दिन 
जब दाइलाई चोट लाग्दा म पहिलोपल्ट डराएको थिएँ।

अब ती सबै सम्झनाहरू कागजका धर्साजस्ता छन्,
जसमा सम्पत्तिको सीमाना कोरिन्छ,
र नाताभित्रै सन्देहको काँडेतार तानिन्छ।

कसरी भयो यस्तो ?
हामीले त एउटै कोठामा सँगै निदाएका थियौं,
तर आज 
हामी एउटै बाबाको छोराहरू
बाहिरकाहरूभन्दा पनि
पारखी भएर छुट्टिएका छौं।

आज म भन्छु 
जिन्दगी यात्रा मात्र होइन रहेछ,
यो त स्वार्थको दौड हो,
जहाँ पहिल्यै हारिसकेका अनुहारहरूले
अझ कसरी जित्ने भनेर षड्यन्त्र बुन्छन्।

अन्त्य त बाबाको मृत्युले होइन,
भाइचारा मरेपछि सुरु भयो।
अझ जिन्दगी बाँकी छ भन्नु झुटो लाग्छ,
जब घरमै
"धनी को र गरिब को?" भनेर तुलो ठडिन्छ।

रहरहरू थिए 
एकैपटक आमाको मुख हेर्ने,
बुवाको श्राद्धमा एउटै थालमा पिणड राख्ने।
तर अहिले 
त्यो थाल पनि छुट्टिएको छ,
र माटोमा हालिएको पानी पनि
कसको हो भन्ने बहस भइरहेछ।

मन्दिर बनाउने कुरा त परै जाओस्,
अब मनभित्रको देवता नै मरेको छ,
जहाँ पूजा होइन
दाजुभाइको मोल तोकिन्छ।

हो,
म मृत्युभन्दा पनि बढी डराउँछु 
त्यो बाँचिरहेका अनुहारहरूको,
जहाँ हाँसोको पछाडि छुरा लुकाइएको हुन्छ।

कहिलेकाहीँ त लाग्छ 
यसरी नै एक दिन मलाई मर्ने बनाउने
कतै तपाईंको मौनता त होइन?

आमा अझै त्यही बिछ्यौनामा सुतेकी छिन्,
तर उनी अब पर्खिन छोडिसकिन।
कहिल्यै केही मागिनन् 
तर उहाँको आँखाको थकानले
धेरै कुरा बताइरहेको छ।

र, म ?
म पनि बाँचेको छु,
तर स्वाभिमानको सास अब गाह्रो छ।
किनकि घरको आँगनमै लास छ भाइचारा 
र चिहानको टाउकोमा
नाम लेखिएको छ 
"स्वार्थ"।
तर एकदिन 
हामी सबै जान्छौं,
अनि सायद फेरि एउटै थलोमा पुगिन्छ।
त्यसदिन साक्षी हुनेछ माटो 
जसले सम्झाउनेछ 
कि हाँसोभन्दा अमूल्य केही थिएन,
तर हामीले त्यही गुमायौं।

बाघको कोख, चुपचापको चित्कार


बाघको कोखमा जन्मिएको म,
तर बारम्बार बलात्कार सहेँ —
र तिमीहरू,
तिमीहरू नै थियौ बलात्कारी,
रगत मिल्ने, तर मुटु च्यात्ने
ती आफन्तका अनुहारभित्र लुकेका लोलुप छायाहरू।

मैले कहिल्यै सोचिन
कि हामी फरक थियौँ,
मेरो मनमा सधैँ तिमीहरूको पीडा
मेरो जस्तै लाग्थ्यो —
तिमी चोटिँदा म रोइदिने,
तिमी मुस्काउँदा म नाच्ने।

तर तिमीहरू?
तिमीहरूलाई मेरो आँसु होइन,
मेरो रकम देखिन्थ्यो।
मेरो नाताको स्पर्श होइन,
मेरो तलबको फिक्स मिति देखिन्थ्यो।

जब जिबनभरको कमाइले बनेको घर
भत्कियो,
तिमीहरू मलाई सम्झियौ 
"दाजु! घर टाल्नु छ, के सकिन्छ?"
डाँडामा बस्ती बसाउनु थियो —
"कुनै जग्गा किनिदिन सकिन्छ?"

र म…
हर्षले भिजेको मन लिएर
थप घाउ लिएँ, थप ऋण गरेँ, थप भरोसा राखेँ।
तर अन्त्यमा?
रुखमा चढाएर मलाई भुइँमा लडायौ!

तिमीहरूको प्रेम
एउटा व्यापार थियो 
जहाँ आत्मीयता सौदाबाजीको वस्तु बनाइन्थ्यो।
जहाँ सम्झना एक 'request message' थियो
र माया
"खाता नम्बर" पठाइसकेपछि मात्र आउँथ्यो।


हो, तिमीहरू भन्न सक्छौ 
"पैसाबिना संसार चल्दैन!"
ठीकै छ,
तर सम्झ 
ठमेलका रन्डीहरूका घर पनि आलिसान हुन्छन्!
तर उनीहरू जस्तै
तिमीहरू पनि
इज्जत बेचेर मात्र महल बनाउने रह्यौ।

तिमीहरू आफन्त होइनौ 
तिमीहरू त
बाघको सन्तानमाथि कायरता देखाउने समाजको सहयात्री हौ,
जसले दाजुको धैर्यलाई कमजोरी ठान्यो,
र भाइको फाइलमा नाताको नाममा ऋण मात्र थप्यो।

अब म बोल्दिन,
किनभने शब्दहरू थाकिसकेका छैनन् 
तिनीहरू त झन् धारिलो बन्दैछन्।
अब म लेख्छु 
तिमीहरूको घात र मेरो चुप्पी,
तिमीहरूको स्वार्थ र मेरो चिहानभित्रको विश्वासलाई।

एकदिन,
जब मेरो आत्मा शब्द बन्छ,
त्यो किताब
तिमीहरूको घरको भित्तामा पनि पुग्नेछ —
जहाँ तिमीहरूको छोराछोरीले पढ्नेछन्:
"यी त ती हुन् —
जसले माया बेचेर रगतको सम्बन्ध रेटमा राखे।"

र त्यसदिन...
तिमीहरू थुक्नेछौ,
तिमीहरू टाउको निहुराउनेछौ —
तर म फर्किएर हेर्दिन।

किनभने…
अब म तिमीहरूको इतिहासबाट आफूलाई हटाइसकेको छु,
र तिमीहरूलाई आफ्नो कविता बनाएर,
संसारलाई ‘कलङ्क’ भनेर चिनाइसकेको छु।