नेपाली समाचार ,Nepal Flag

Thursday, August 1, 2013

जति पनि लिन पाइन्छ घरभाडा?

अहिले मुख्यत: काठमाडौं र अरु केही प्रमुख सहरको एउटा मुख्य समस्या कोठा नपाउने र महँगो भाडा भएको छ । एउटा कोठाको भाडा कतिसम्म लिन पाउने भन्ने कुनै नियमकानुन नहुँदा घरबेटीहरुले मनलाग्दी भाडा लिने गरेका छन् । यसको मारमा परेका छन् सहरमा बस्ने लाखौं नेपाली ।

आजभन्दा चार वर्षअघि म काठमाडौँ आउँदा एउटा कोठाको भाडा बढीमा १५०० रुपैयाँ थियो तर अहिले कुनै सुबिधाबिनै रिङरोडभित्र एउटा कोठाको ४००० देखि ५००० रुपैयाँसम्म भन्न थालिएको छ । यसमाथि पानी, फोहोर, बिजुलीको राखिदिनुस् अर्को हजार रुपैयाँ ।

केही दिनअघि तीनकुनेमा खाली भएको दुइटा कोठालाई १० हजार भनियो जबकि यसअघि त्यही कोठालाई छ हजार तिरेको थियो ।

अहिले काठमाडौंमा कोठा पाउन मुस्किल छ । जति महँगो भए पनि बस्नैपर्ने बाध्यताको फाइदा घरबेटीहरुले लिन थालेका छन् ।

कोठामा प्रत्येक वर्ष नयाँ नयाँ मान्छे राख्दै कोठा भाडा बढाउने चलन पनि मैले देखेको छु । कोठाभाडा बढाउन बर्षौंदेखि बसेका पुराना मान्छेलाई विभिन्न बहानामा हटाएर कोठाभाडा भारी रुपले वृद्धि गरिएको मैले धेरै देखेको छु । पहिलेपहिले एउटा मान्छे लामो समय बहालमा बसिदियोस् भन्ने घरबेटीहरूको सोच हुन्थ्यो भने अहिले महिनैपिच्छे मान्छे फेर्न पाए हुन्थ्यो भन्ने कतिपयको चाहना देखिन्छ ।

कोठाबाट मान्छे निस्कनेबित्तिकै पाँच सयदेखि २ हजारसम्म भाडा वृद्धि गरेको मैले धेरै देखिसकेँ । पछिल्लो समयमा १ वर्षमै २ हजारले कोठा भाडा बढेको देखिन्छ । साधारण खालका र सुबिधा नभएका कोठाका भाडा पनि घरबेटीको इच्छाअनुसार तोकिएका छन् । ब्यापारिक सटरको भाडा पनि मनलाग्दी बढाउनाले गर्दा सानो पुँजीबाट आफ्नो व्यापार सुरु गर्ने पनि मर्कामा परेका छन् । ब्यापारिक सटरको भाडा त एक्कासी १० हजारसम्म बढाउने गरिन्छ रे ।

हाम्रो यो समस्याबाट आफ्नै घरमा बस्ने नेता र उच्च तहका सरकारी कर्मचारी बेखबर होलान्, किनकि उनीहरुले कोठाभाडा तिरिरहनु पर्दैन ।

सरकारी तलब १२००० जति– निजी क्षेत्रमा काम गर्ने धेरैको आम्दानी भनेको पनि मासिक १० हजार हाराहारी हो । अब एउटा कोठाको भाडा ४-५ हजार तिर्नुपर्ने अवस्था आएपछि जीवनयापन कसरी गर्ने?

यो समस्याले विशेषगरी विद्यार्थी र ती नेपाली पीडित छन् जसले आफ्नो कमाइको ५० प्रतिशतभन्दा धेरै कोठा भाडामा मात्र खर्च गर्नुपर्ने बाध्यता छ । तेलको भाउमा २ रुपैयाँ वृद्धि हुनेबित्तिकै आन्दोलन गर्ने विद्यार्थी नेताहरु यो विषयमा किन चुप छन्– जबकि यो समस्याबाट धेरै विद्यार्थी नै पीडित छन् |

अब कोठाको क्षेत्रफ़ल, सहरको मुख्य ठाउँबाटको दुरी– पानी, यातायातको सुविधा आदिलाई आधार मानेर सकरारले कोठा बहालको सीमा तोकिदिन ढिला भइसकेको छ । कस्तो घरको भाडा कति लिन पाउने हो भन्ने नीति राज्यले बनाइदिनु पर्छ ।

४ वर्षअघिको तुलनामा हेर्दा अहिले एउटा कोठाको भाडा धेरैमा २५०० रुपैयाँ हुनुपर्ने हो तर एउटा कोठाकै ५ हजारसम्म भनिन्छ । मैले कोठाभाडा बढाउन पाइँदैन भन्न खोजेको पनि हैन- तर वार्षिक कति बढाउन पाइने भन्ने अब सरकारी मापदण्ड हुनुपर्छ ।

सरकारले विभिन्न खाध्यान्नको अधिकतम मूल्य तोकेजसरी नै कोठाभाडा कति लिन पाउने हो भनेर सीमा तोकिदिनु पर्छ । तर, नीति निर्माण तहमा भएकालाई यो समस्या नपरेकोले वास्ता गर्दैनन् ।

सरकारले सुरु गरेको घरबहाल करको अभियान पनि खासै प्रभावकारी हुन सकेको छैन । महँगो भाडा तिरेर दोस्रो दर्जाको मानिससरह बसे पनि त्यसबापत घरबेटी राज्यलाई राजस्व बुझाउँदैनन् । कोठाको बसाइ ब्यबस्तित गर्दा सरकारले पनि अर्बौं राजस्व उठाउन सक्छ जुन अहिले खेर गइरहेको छ ।

यस बिषयमा सम्बधित निकायको छिट्टै ध्यान जाओस् – यदि हाम्रो गुनासोको कुनै सुनुवाइ हुँदैन भने अब हामी कोठा भाडामा बस्ने विद्यार्थी, मजदुर, पेसाकर्मी, ब्यापारी एकजुट भएर खबरदारी गर्नुपर्ने बेला आएको छ ।

(सिन्धुली घर भएका थापा हाल नेपाल इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै छन् ।)

No comments:

Post a Comment