नेपाली समाचार ,Nepal Flag

Saturday, April 20, 2013

ग्यास्टिक र धुर्मुसबीच ग्यांगफाइट

भनिन्छ- चार्ली च्याप्लिन अरूलाई हँसाउन जति माहिर थिए, व्यक्तिगत रूपमा उनी त्यति नै दुःखी पनि थिए। अरूलाई हँसाएर आफ्नो दुःख कम हुने त होइन। तर, अर्काको दुःख भने अवश्य कम हुन्छ। संसारका प्रायः कमेडियनहरूले पर्दामा जति ठट्टा गरे पनि पर्दा पछाडि उनीहरूसँग दुःखको भकारी नै हुन्छ। कसैलाई हँसाउनु सानो सेवा होइन। र, हँसाउन सजिलो पनि हुँदैन। पछिल्लो समय आफ्नो अद्वितीय हँसाउने क्षमताका कारण चर्चामा रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पनि आफनो अन्तरमा दुःखको पोका लुकाएर अरुलाई हँसाउने कलाकारमा पर्दछन। नेपालमा थुप्रै कमेडियन छन्। एकप्रकारले हास्य कलाकारहरूको त बाढी नै आएको छ। सबैका आ-आफ्नै विशेषता छन्।। धुर्मुसले ‘मेरी बास्सै’ हास्य टेलिशृंखलामा लगभग दुई दर्जन पात्रको भूमिका निर्वाह गरेका छन्। ती पात्रमध्ये ‘धुर्मुसे’, ‘खड्काजी’, ‘खडानन्द गुरु’ आदि व्यापक रुचाइएका भूमिका हुन्। धेरै व्यक्तित्व समाहित एक व्यक्ति सीताराम कट्टेलसँग स्वरूप आचार्यले गरेको अन्तरंग कुराकानी :

(THURSDAY, 04 OCTOBER 2012 13:28 नागरिक दैनिक )

हिजोआज के गर्दै हुनुहुन्छ?
धेरै समय त टेलिफिल्मले खाइदिन्छ। त्यसपछि विभिन्न कम्पनीले ब्रान्ड एम्बेसडर बनाएका छन्। तिनको प्रचार-प्रसारका लागि पनि केही काम गर्नै पर्‍यो। हरेक दिन बिहान छ देखि दश बजेसम्मको समय शुभ-तारा प्राकृतिक चिकित्सालयमा जान्छ। त्यहाँ मलाई सूचना संस्कृति विभागको संयोजकको भूमिका दिइएको छ। म आफू पनि अस्वस्थ भएकाले त्यहाँ योग, ध्यान गरिन्छ।
के रोग छ तपाईँलाई?
मलाई पेटको रोग छ। ग्यास्ट्रिक बिग्रेर आन्द्रामा गिर्खा परेको थियो। अहिले निको हुँदै छ।
तपाईँको मूल घर कता हो?
जन्मेको सोलुखुम्बु। हुर्केको झापा। हाल काठमाडौँ। (हाहा…)
कति भयो तपाईं यो क्षेत्रमा लागेको?
२०५९ साल देखि हो। एक दशक भएछ।
कसरी र किन लाग्नुभयो?
यही कारणले लागेको भन्ने त छैन। सानैदेखि क्यारिकेचर गर्न मनपर्ने। गाउँमा हुँदा नाटकमा भाग लिइन्थ्यो, हँसाइन्थ्यो। राति सबैजना सुतेपछि बार्दलीबाट हाम फालेर रिहर्सल गर्न गइन्थ्यो। हाम फाल्दा कतिपटक बार्दलीको रेलिङ सहित झरेको छु। कतिपटक कुखुराको खोरमाथि झरेकोले चोट लागेको छ। एक प्रकारको क्रेज थियो। बुबा भने, ‘यस्तो नौटंकी लाइनमा लागेर केही हुन्न केटा’ भन्नु हुन्थ्यो। साथीभाइ हौस्याउथे। त्यसैले जे पर्ला-पर्ला काठमाडौँ गएरै केही गर्छु भनेर यहाँ आइयो। अरु केही जानेको थिइनँ। यतैतिर लागियो। दुई वर्षसम्म बाँच्नकै लागि संघर्ष गरियो।
के के गर्नुभयो?
के के गरियो के के! काठमाडौंको गल्लीमा भाँडा बेच्नसम्म पनि हिँडियो। सन्तोष पन्त दाइको ‘हिजो आजका कुरा’को लागि अडिसन दिन म कैयौं पटक भाँडा नै बोकेर पनि पुगेको छु।
तपाईँले पहिलोपल्ट गरेको टेलिफिल्म कुन हो त?
‘झमेला’ भन्ने हो। त्यसमा पुलिस जवानको भूमिका गरेको थिएँ। हामी चार जना थियौं। भद्रकालीमा राति सुटिङ भएको थियो। चारजना मध्ये म सबैभन्दा पछाडी थिएँ। लुते, सकिन लागिसकेको ‘तुराई’। स्यालुट ठोक्नु पर्ने थियो। अन एयर हुँदा त तीन जनाले छेकेर आफ्नो त नाक मुख नै छैन। (हाहा…)
काठमाडौं के सपना बोकेर आउनुभयो?
म घरको जेठो छोरा। ठूलो ऋण थियो। त्यसमा पनि ३६ टका ब्याज। गाउँमै बसेर तिर्न नसकिने भयो। हाम्रो पारिवारिक स्थिति एकदमै कमजोर थियो। बल्लबल्ल एसएलसी पास गरेँ। हलो जोतेरै पास गरेको थिएँ। अब अगाडी पनि हलो जोतेर पढ्ने कि अरू केही गर्ने भन्ने भो। चिनेजानेको कोही थिएन। तैपनि जाउँ कि भनेर, आइयो। क्यारिकेचर प्राय सबैको गर्थें। त्यसैले पनि कतै न कतै काम त अवश्य पाउँछु भन्ने कन्पि्कडेन्स थियो। त्यही बेला हास्यरसको माहोल बन्यो, भनौं बाढी नै आयो। त्यही बाढीले किनार लगायो भन्नुपर्‍यो। परिवारको दायित्व जुन हिसाबमा निर्वाह गर्छु भनेर आइएको थियो। त्यो पूरा गर्न सकियो।
भनेपछि हास्य-व्यंग्यको भेलले तपाईंको ‘नैया’ पार लगाइदियो?
भेलले त बगाइहाल्छ नि। हामीलाई ठीकसँग डुंगा चलाउन पनि आयो। वा भनौं हामीले चलाएको डुंगा भाग्यले किनार लगायो। (हाहा…) हाम्रो नाउ पनि ठूलै थियो, हामी कलाकारहरु वीच एकता थियो। त्यसैले जोगिएको हो।
एकताको कुरा गर्नुभयो। संघर्षका दिनहरूमा तपाईंहरू सबैजना एक भएपनि पछि फुट्दै-फुट्दै जानुभयो नि?
छैन फुटेको। यो धेरै त मिडियाले चलाएको हल्ला हो। जीतु दाइसँग हामी सल्लाहै गरेर छुट्टिएको हो। मिडिया हबलाई अर्को कमेडी सिरियल चाहिएको थियो। केदारजी र मैले केसी जोडीको रुपमा नयाँ केही गर्ने सोच बनाएका थियौं। दमन दाइ पनि हामीसँग मिलेर कामगर्न राजी हुनुभयो र ‘मेरी बास्सै’को जन्म भयो। यो जम्मा ४५ भागको हुने भन्ने थियो। दर्शकले यति मनपराइ दिनुभयो कि अहिलेसम्म चलिरहेको छ। पछि दमन दाइ सल्लाह गरेरै छुट्टिनु भएको हो। केदारजी र म बिच पनि फुट आयो भन्ने हल्ला चल्यो। तर, सुटिङको व्यस्तताले गर्दा एकै ठाउँमा देखिन सकिएको थिएन। त्यसले ठूलै रूप पो लियो त। तर, त्यस्तो केही छैन।
पैसा देखेपछि महादेवको त तीन नेत्र भन्छन्। त्यस्तै भएको त होइन नि?
हाहा… होइन। पैसा भन्दा पनि नाम हो अहिले।
नामसँग दाम पनि जोडिएर आइसक्यो नि अहिले।
हामी भन्दा अग्रज दाइ दिदीको तुलना गर्ने हो भने हामीले केही गर्न सकेकै छैनौं। त्यसैले राम्रो काम गर्नुपर्छ भन्ने मान्यता राख्छु।
ठूलो पर्दामा आकर्षित हुनुभएन?
आकर्षित नभएको होइन। पहिलो आकर्षण त फिल्मै थियो। मलाई याद छ। मेरो घर नजिक एकजना दाइ हुनुहुन्थ्यो। फिल्म डिस्ट्रिब्युसनको काम गर्नुहुन्थ्यो। उहाँलाई म फिल्ममा बाटो हिँड्ने बटुवाको रोल भए पनि दिलाइ दिनुस् भन्थेँ। त्यस्तो क्रेज थियो। तर, पछिल्लो समयमा नेपाली फिल्ममा हास्य कलाकारलाई प्रयोग गर्ने शैली मलाई मन पर्न छाड्यो। खाली गोज्याङग्रो, हिरोको सहायक। फिल्म बनाउने योजना छ?
योजना र रहर त जसलाई पनि हुन्छ। एकपटक फिल्म त बनाउनै पर्‍यो नि।
फिल्मको क्रेज अझै बाँकी छ?
छ नि। त्यो त रही रहन्छ। कमेडीलाई सेन्ट्रल थिम मानेर कसैले फिल्म बनायो, अफर आयो भने गरिन्छ पनि।
तपाईंलाई कहिल्यै लागेको थियो नेपालको एक चर्चित कमेडियन हुन्छु भन्ने?
यो त मेरो कल्पनामा थिएन। मेरो चिनेजानेको मान्छे कोही थिएन यो क्षेत्रमा। यति परसम्म आइपुगिन्छ जस्तो पनि लागेको थिएन। तर, म भेडा जस्तो एकोहोरो मान्छे हुँ। गर्छु भनेपछि गर्छु, गर्छु। त्यो संघर्षको दिन कटेको पनि त्यसैले हो। कुनै न कुनै दिन त गर्छु भनेर। म हार्नु हुँदैन भन्ने थियो।
तपाईंलाई नेपालमा मान्छेलाई हँसाएरै जीवन गुजार्न सकिन्छ जस्तो कहिलेदखि लाग्यो?
त्यो त हरिवंश-मदनकृष्ण दाइलाई देखेरै लागेको हो। उहाँहरूले गर्नुभयो भने म पनि गर्न सक्छु भन्ने लागेको थियो। नयाँ कन्सेप्ट र क्रियसन गर्ने मान्छे जसरी पनि बाँच्छ। हास्यमा मात्र नभएर जुनसुकै सेक्टरमा पनि जसले क्रियसन गर्न सक्छ त्यो बाँच्छ।
अहिले त बाघ मारियो जस्तो लागेको होला नि?
अझै कन्पि्कडेन्ससँग त्यो भन्न सकिन्न।। सिंगै देशको आर्थिक सामाजिक स्थिति राम्रो भए न हामीलाई पनि राम्रो हुने हो। नत्र कुन दिनदेखि ओरालो लाग्न थाल्छ के थाहा?
साँच्चि नै ओरालो लाग्यो भने के गर्नुहुन्छ?
हाहा… बंगुर र माछा फारम खोलेको छु नि ठेंचोमा। बंगुरको पाठा बेच्न थाल्छु। उत्पादन शुरु भइ नै सक्यो। ब्याकअप, हाहा…।
दयसको जन्म त्यही भाँडा बोकेर काठमाडौं डुल्दा खेरि भएको हो। एकजना मित्र भेट हुनुभएको थियो, उहाँकै क्यारिकेचर गरेको हो।
धुर्मुस उट्पट्याङ गर्न माहिर छ। छक्कापन्जा पनि गर्छ। तपाईं कत्तिको उट्पट्याङ गर्नुहुन्छ?
म वास्तविक जीवनमा धेरै सोझो छु।
पर्दा बाहिर गर्न नपाएको उट्पट्याङ पर्दामा गरेको हो?
त्यस्तो भन्दा पनि हुन्छ। मान्छेहरू त्यसैमा रमाउँछन्। त्यसैले पनि गरेको हो।
अहिले चलेको खड्काजीको जन्म कसरी भयो?
महेश खड्का दाइले त्यसरी नै कहिलेकाहीँ बोल्नु हुन्थ्यो। सिंगापुरमा सँगै प्रोग्राम गर्न जाँदा देखेको थिएँ। भयो के भने खडानन्द गुरूको भूमिका गरिरहेको थिएँ। त्यो क्यारेक्टर ठ्याक्कै पोखराको खडानन्द गुरूसँग मिलेछ। उहाँको बिजनेस नै चौपट हुन थाल्यो भनेर कम्प्लेन आयो। अनि त्यो बन्द गरेर खड्काजीलाई शुरु गरेको हो। वास्तवमा यो क्यारेक्टर गर्न निकै गाह्रो छ। रबर लगाएर ओठमाथि तान्दा दुख्छ, रगत आउँछ, बोल्न पनि अप्ठ्यारो हुन्छ।
कतिवटा क्यारेक्टर निर्वाह गर्नुभएछ त अहिलेसम्म?
२७ वटा पुगेछ। अब फेरि नयाँ गर्ने सोचिरहेको छु।
तपाईंको र कुञ्जनाको आँखा चाही” कसरी जुध्यो?
आँखा भनेर आँखा जुध्नेबित्तिकै लभ परेको होइन। लभ पर्‍यो भनेर अहिलेका ठिटाठिटीको जस्तो बाइकको टाँडीमा राखेर कहिल्यै डेटिङ पनि गइएन। अन्धाधुन्ध टाइपको भित्री लभ पर्‍यो क्या।
पहिलो पटक कहाँ भेट भएको थियो तपाईँहरूको?
दमन दाइको डमि टेलिफिल्ममा हो। त्यसपछि धुर्मुस-सुन्तली भएर ‘मेरी बास्सै’मा नजिक भइयो। सबैले ‘जोडी मिलेको छ, बिहे गरे राम्रो हुन्छ’ भन्थे। केटीसँग बोल्न भने पछि आफूलाई टेन्सन हुने। तैपनि एकदिन गएर झ्याप्पै प्रपोज गरेको। टिमुर्केको कुरा गरिन्। करिअर भरखरै शुरु हुँदैछ, नराम्रो गर्छ भन्ने कुरा आयो। त्यतिखेर मैले उनलाई भनेको थिएँ, ‘हेर्नुस कुञ्जनाजी तपार्इंले जति जे गरे पनि तपाईंको बिहे मसँगै हुन्छ।’ आखिर वोल्या कुरो पुग्यो पनि।
तपाईं आफ्नो टेलिफिल्ममा नेताहरूलाई त्यति धेरै घोचपेच गर्नहुन्छ। नेताहरूलाई भेट्दा के भन्छन् त?
राम्रो छ भन्नुहुन्छ। भित्रभित्रै रिसाएको भए त थाहा छैन। तर, अहिलेसम्म कसैले गाली गरेका छैनन्।
तपाईंले नेपाली राजनीतिज्ञको क्यारिकेचर गर्नुहुन्छ।राजनीतिमा चाहिँ के देख्नुहुन्छ?
राजनीति त राजनीति धेरै नै राजनीति भयो। राजनीति भित्र पनि राजनीति भएकोले यस्तो भएको हो। व्यक्तिगत स्वार्थका लागि राष्ट्रलाई बन्देज गरियो। म जन्मनुअघि जुन नारा थियो होला त्यही नारा अहिले पनि छ। भाषण गर्ने नेता परिवर्तन भए तर भाषणको प्रकृति परिवर्तन भएन। त्यसैले अहिलेको स्थिति आएको हो।

No comments:

Post a Comment