नेपाली समाचार ,Nepal Flag

Thursday, April 18, 2013

एमाओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति जीनपिङबीच भेटवार्ता (फोटोफिचर सहित)

काठमाडौँ, ५ वैशाख । चीनको साताव्यापी भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आज चीनका राष्ट्रपति सी जीनपिङसँग भेट गर्नुभएको छ। चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपलमा करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल–चीन सहयोग, द्विपक्षीय सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्ध विस्तारका विविध विषयमा छलफल भएको थियो।
भेटका अवसरमा राष्ट्रपति जीनपिङले नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सदैब तयार रहेकोे बताउनुभएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।चिनीयाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति जीनपिङले नेपाल र चीनबीच विगतदेखि नै अत्यन्त निकट र सौहाद्रपूर्ण सम्बन्ध रहेको बताउँदै नयाँ आधारमा दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तार र विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो।
श्री जीनपिङले नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको निर्वाचन बारे जिज्ञासा राख्दै नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन चीन सरकार तयार रहेको बताउनुभएको थियो।
राष्ट्रपति जीनपिङको जिज्ञासामा एमाओवादी अध्यक्ष प्रचण्डले विभिन्न कारणवश संविधानसभाको विघटन भए पनि प्रमुख राजनीतिक दलहरूको सहमतिमा मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढेको र छिट्टै नेपालमा संविधानसभाको नयाँ निर्वाचन सम्पन्न हुने जानकारी गराउनुभएको थियो। भेटवार्तामा दुई नेताबीच नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई बदलिँदो विश्व परिस्थितिअनुसार अगाडि बढाउने विषयमा छलफल भएको थियो। एमाओवादी अध्यक्ष प्रचण्डले नेपालमा ऊर्जा, कृषि, पर्यटन, यातायातलगायतका क्षेत्रमा चिनियाँ सहयोग बढाउन आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको आग्रहमा चिनियाँ राष्ट्रपति जीनपीङले नेपाल र नेपाली जनतालाई सक्दो सहयोग गर्न आफूहरू सदैब तयार रहेको विश्वास दिलाउनुभएको बताइएको छ। नेपालको राजनीतिक सङ्क्रमणकाललाई हल गर्नका लागि एमाओवादी पार्टी र त्यसको शीर्ष नेतृत्व दृढताका साथ लाग्नेमा चीन सरकार विश्वस्त रहेको समेत राष्ट्रपति जीनपिङले बताउनुभएको थियो। त्यस अवसरमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको तथा चिनियाँ जनताको नेतृत्व गर्ने राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा श्री जीनपिङलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।
भेटवार्तामा दुवै पार्टीको महाधिवेशनबाट पारित कार्यदिशाबारे चर्चा भएको बताइएको छ। चीनमा नेतृत्व परिवर्तन भएपछि दक्षिण एसियाली मुलुकहरूको तर्फबाट चीन भ्रमण गर्ने पहिलो नेता एमाओवादी अध्यक्ष प्रचण्ड हुनुभएको छ। सो अवसरमा चीन, भारत र नेपालबीच रणनैतिक समझदारी गरेर जाने विषयमा समेत कुराकानी भएको बताइएको छ।

No comments:

Post a Comment