Friday, July 31, 2026
फर्कन मन मरेको देश
Saturday, December 6, 2025
जीवन नै एउटा लामो राजमार्ग
Tuesday, November 25, 2025
मेरो गाउँ
मजदुरको कथा
Saturday, November 15, 2025
आत्मा बेच्नेहरु
Saturday, November 8, 2025
मुक्तिको सपना
दिनभरि मलामी बनेर हिँड्छु तर भेट्न सकिन
जिन्दो लास बिसाउने घाट कतै...साँझको छायाँले मेरो मुटु चिथोर्छ,
रातको अँध्यारोमा सपनाहरू जल्छन्,
बिहानको उज्यालोमा ती खरानी बन्छन्,
म तिनै खरानी बोकेर बाटो हिँड्छु।
हावाले सोध्छ, “किन यस्तो बोझ?”
म हाँस्छु, “यो त मेरो आफ्नै इतिहास हो।”गल्लीहरूमा म एक्लैको मलामी बन्छु,
आफ्नै लासलाई काँधमा राखी,
मान्छेहरू हाँस्छन्, “यो पागल हो!”
म चुपचाप हिँड्छु, आँसु लुकाउँदै।
कुनै चिहानमा पुगेर सोध्छु,
“यहाँ ठाउँ छ र?”
चिहान मौन रहन्छ, म मौन रहन्छु।दिउँसोको घामले मेरो छाया पोल्छ,
म छायाँलाई नै लास ठान्छु,
रातको जूनले मेरो अनुहार हेर्छ,
म जूनलाई नै मलामी बनाउँछु।
बाटोमा भेटिएका यात्रुहरूले भन्छन्,
“तिमी कता जाँदैछौ?”
म भन्छु, “घाट खोज्दैछु,
जहाँ जिन्दो लासलाई बिसाउँछु।”कहिले नदी किनारमा पुग्छु,
पानीले मेरो लास धुन्छ,
कहिले जङ्गलमा हराउँछु,
रूखहरूले मेरो कथा सुन्छन्।
कहिले शहरको भीडमा मिसिन्छु,
मान्छेहरूको हाँसोमा डुब्छु,
तर कतै पनि घाट भेट्दिन,
कतै पनि मुक्ति पाउँदिन।रात फेरि आउँछ, म फेरि मर्छु,
बिहान फेरि लास बोकेर निस्कन्छु,
यो चक्र चलिरहन्छ, अनन्तसम्म,
जिन्दो लासको खोजीमा म भौँतारिन्छु।
कुनै दिन शायद घाट भेटिएला,
कुनै दिन शायद मुक्ति मिलेला,
तर अहिले त म मलामी मात्र हुँ,
आफ्नै लासको, आफ्नै पीडाको।
यो यात्रा कहिले सकिएला?
यो बोझ कहिले हल्का होला?
म हिँडिरहन्छु, मर्छु र बाँच्छु,
घाटको आशामा, मुक्तिको सपनामा...
Friday, November 7, 2025
चिहान
Sunday, November 2, 2025
आत्मसंवाद
Friday, October 31, 2025
बीस पिएर मर्नुपर्ने समाज
Tuesday, June 24, 2025
श्रमिक
श्रमिक
त्यो तातो सूर्यको तीव्र प्रकाशमुनि
छालामा पोल र निधारमा जलनले
दुई छाक टार्न र परिवारको पेट पाल्न
दिनरात संघर्षरत हुन्छ एक मजदुर।
उसले बनाउँछ गगनचुम्बी भवनहरू,
विशाल पुलहरू, उचाइलाई चुनौती दिन,
तर बनाइसकेपछि ती विशाल संरचनाहरूलाई
मक्ख हुँदै हेर्छ—
तर त्यसै क्षणमा आफैँलाई 'श्रमिक' भनेर
फेरि बिर्सिन्छ।
श्रमिकको नाम कहिल्यै
ती भवनहरूको शिलालेखमा लेखिन्न,
त्यो नाम जसले शहरको चेहरा बनाउँछ,
कसैले पनि उसलाई सम्झँदैन।
छैन कुनै मूर्ति,
छैन कुनै माला,
छ केवल थाकेका हत्केलाहरू
र अधुरो सपना।
श्रमले शहर बन्छ,
श्रमले सभ्यता बन्छ,
तर श्रमिकको सपना भने
दिनहुँ अधुरो रहन्छ।
उनकै काँधमा टेकेर
समाज र सृष्टि अगाडि बढ्छ,
तर उनीहरूको पाइला
जहिल्यै पछाडि धकेलिन्छ।
बजारमा ‘दशैं अफर’ लाग्दा पनि
श्रमिकको घरमा नयाँ लुगा हुँदैन,
उसले बनाएका पसलहरूमा
ऊ आफैं ग्राहक बन्न सक्दैन।
श्रमिक दिवस आउँछ हरेक वर्ष,
फूल चढाइन्छ, भाषण गरिन्छ,
तर श्रमिकको जिन्दगीमा
कसैले सुन्दै नसुनेको मौनता भरिन्छ।
श्रमिकको श्रममा बाँच्नेलाई
हामीले गुमेको छ, कुनै एक भव्य सम्मान।
उसको मूल्य हाम्रो शब्दमा छैन,
उसको मूल्य भने व्यवहारमा मात्र छ।
अर्को जन्म (कविता )
⏰ घडीका तीन सुई
प्रिय जापान
सम्बन्ध (कबिता
बाघको कोख, चुपचापको चित्कार
बाघको कोखमा जन्मिएको म,
तर बारम्बार बलात्कार सहेँ —
र तिमीहरू,
तिमीहरू नै थियौ बलात्कारी,
रगत मिल्ने, तर मुटु च्यात्ने
ती आफन्तका अनुहारभित्र लुकेका लोलुप छायाहरू।
मैले कहिल्यै सोचिन
कि हामी फरक थियौँ,
मेरो मनमा सधैँ तिमीहरूको पीडा
मेरो जस्तै लाग्थ्यो —
तिमी चोटिँदा म रोइदिने,
तिमी मुस्काउँदा म नाच्ने।
तर तिमीहरू?
तिमीहरूलाई मेरो आँसु होइन,
मेरो रकम देखिन्थ्यो।
मेरो नाताको स्पर्श होइन,
मेरो तलबको फिक्स मिति देखिन्थ्यो।
जब जिबनभरको कमाइले बनेको घर
भत्कियो,
तिमीहरू मलाई सम्झियौ
"दाजु! घर टाल्नु छ, के सकिन्छ?"
डाँडामा बस्ती बसाउनु थियो —
"कुनै जग्गा किनिदिन सकिन्छ?"
र म…
हर्षले भिजेको मन लिएर
थप घाउ लिएँ, थप ऋण गरेँ, थप भरोसा राखेँ।
तर अन्त्यमा?
रुखमा चढाएर मलाई भुइँमा लडायौ!
तिमीहरूको प्रेम
एउटा व्यापार थियो
जहाँ आत्मीयता सौदाबाजीको वस्तु बनाइन्थ्यो।
जहाँ सम्झना एक 'request message' थियो
र माया
"खाता नम्बर" पठाइसकेपछि मात्र आउँथ्यो।
हो, तिमीहरू भन्न सक्छौ
"पैसाबिना संसार चल्दैन!"
ठीकै छ,
तर सम्झ
ठमेलका रन्डीहरूका घर पनि आलिसान हुन्छन्!
तर उनीहरू जस्तै
तिमीहरू पनि
इज्जत बेचेर मात्र महल बनाउने रह्यौ।
तिमीहरू आफन्त होइनौ
तिमीहरू त
बाघको सन्तानमाथि कायरता देखाउने समाजको सहयात्री हौ,
जसले दाजुको धैर्यलाई कमजोरी ठान्यो,
र भाइको फाइलमा नाताको नाममा ऋण मात्र थप्यो।
अब म बोल्दिन,
किनभने शब्दहरू थाकिसकेका छैनन्
तिनीहरू त झन् धारिलो बन्दैछन्।
अब म लेख्छु
तिमीहरूको घात र मेरो चुप्पी,
तिमीहरूको स्वार्थ र मेरो चिहानभित्रको विश्वासलाई।
एकदिन,
जब मेरो आत्मा शब्द बन्छ,
त्यो किताब
तिमीहरूको घरको भित्तामा पनि पुग्नेछ —
जहाँ तिमीहरूको छोराछोरीले पढ्नेछन्:
"यी त ती हुन् —
जसले माया बेचेर रगतको सम्बन्ध रेटमा राखे।"
र त्यसदिन...
तिमीहरू थुक्नेछौ,
तिमीहरू टाउको निहुराउनेछौ —
तर म फर्किएर हेर्दिन।
किनभने…
अब म तिमीहरूको इतिहासबाट आफूलाई हटाइसकेको छु,
र तिमीहरूलाई आफ्नो कविता बनाएर,
संसारलाई ‘कलङ्क’ भनेर चिनाइसकेको छु।
Monday, November 11, 2024
पृष्ठभुमि विवरण (बिहिनताको कगारको )
मेरो बाल्यकाल धावा घडेरी गाउँ बाट सुरु हुन्छ, जहाँ मैले पहिलो श्वास लिएको थिएँ। त्यहाँको वातावरण, गाउँका हरीया पहाडहरू र हावा, यी सबै मैले बचपनदेखि महसुस गरेको थिएँ। यो ठाउँ मेरो जीवनको पहिलो पाठशाला थियो। यहाँको एउटा सानो एकतले घर, जुन माटो र ढुङ्गले बनेको थियो, जसमा हामी पाँचजनाको परिवार बस्दथ्यौं, ती दिनका कयौं यादहरु बिर्सएपनी केही भने अझै मलाइ हृदयमा महशुसहुन्छ
घडेरी गाउको जनजीवन त्यति सहज थिएन खान लाउन हामिलाइ निकै धौधौ थियो दुई छाक भात खाने हैसियत गुमाउदै जान थालेपछी बुवाले बसाइसर्ने निधो गर्नुभो बगुवाखेतको पुच्छारमा खोलाको नजिकै हामी एउटा पुरानो घरमा बसाइसर्यौ त्यतीबेला म १० वर्ष जतीको हुदा हु परिवारको आवश्यकता र भविष्यका सपना पुरा गर्नका लागि हामी बगुवाखेतमा सर्नुपरेको सुरुवाती दिनहरु खडेरी गाउँको भन्दा पनि निकै कठिन र चुनौतीपूर्ण थियो। मेरो बाल्यकालको यही समय संघर्ष र मिहिनेतले भरिएको थियो।
मेरो बा चारदाजुभाइको माइला छोरा, एउटा सामान्य परिवारमा जन्मनुभएको हो। घरको कमजोर आर्थिक अवस्थाका कारण उहाँलाई स्कुल जान मौका उहाले नजुरेपनी ; घरमै आफ्नो हजुरबा स्व. इश्वरी प्रसाद सिम्खडाबाट लेखपढ सिक्नुभयो, जो गोर्खाका एक नम्बर ज्योतिष थिए। बगुवखेत बसाइ सरेपछी करीब एक बर्समै उहाले बगुवाखेतको कृषि कर्मबाट उजाड बस्तीलाई हराभरा बनाउनुभयो र सफल कृषकको पहिचान बनाउनुभयो। त्यसपछी रिणको भार र छोराछोरी हुर्कदै जादा पढाइलेखाइ र थप जिम्मेवारीले उहाँ भारतको टाटा भन्ने ठाउँमा मा भारी बोक्न समेत बाध्य बनायो। उहाँले हामिलाई पढाउन र कहिल्यै भोकै नराख्न कडा मेहनत गर्नुभयो।ती सबै दुख अनि सुख र गाउको अहिले झलझली याद आइरहन्छ !
गाउँको रहेको खमारे खोलाको पानीको बग्ने आवाज, बगुवाफाटमा उब्जेका मकै र धान लहलह झुलेको टारागाउमा झुलेका कोदोका बोटहरु हुलाकी र पान्डे अनि कासी गाउका बालबालिकाहरू काका काकी अनि दाजुभाइ र साथी सङतीको हाँसो मिलेर यस्तो सन्देश दिन्थ्यो कि यो भूमि मसँगै सास फेरेको छ। त्यो खमारेको बग्ने पानीले जस्तो हामीसँगै जिउनको लहरलाई सञ्चार गरिरहेछ मलाई अहिलेपनि गाउँको प्रत्येक हरियाली र हरिया बारीहरूले कल्पनामा नै भएपनि अदृश्य शान्ति महसुस हुन्छ। यहाँको हावाले मलाई जता गए पनि रहेपनी आनन्दको अनुभुती हुन्छ यहाको माया र समृद्धि मानसपटलमा झलझलाउछ जहाँ कती कठिनाईहरू भए तापनि, त्यो भूमि सधैं म सङ्गै सुस्ताइरहेछ कक्षा 10 मा हुदा मैले लेखेको एउटा कबिता यस्तो छ !
शिर्षक :स्मृतिको सुगन्ध
बगुवाखेतमा लहलह झुलेका धानका बोट,
मेरो बालापन त्यहीँ बित्यो, छैन कुनै खोट।
हरपल रमाइला क्षण, मनमा बस्ने लहर,
आँखा अघी उड्छ त्यही समयको सुगन्ध र फेर।
कासिखोलाको चिसो पानी, सजीव बनायो,
त्यो मिठो साथी संगत, सम्झनामा सधैँ बसायो।
पानीको हलचल, लहरले छोडेको प्रभाव,
यादमा अझै जिउँदै छ, त्यो पुरानो संवाद।
नबरात्रिमा कोटको कालिकामा हात जोडेको त्यो पल,
मनले अझै पुकार्छ, प्रीयतमा संग चढाएको जल।
कसम गरेर भन्छु,गाउघरको याद आउँछ झलझल
त्यो आस्था, त्यो विश्वास ताजै छन सम्झन्छु हरपल
बगुवाखोलाको काली दहमा पौडी खेल्दै, रमाउँदै,
म जहाँ भएपनी ,बालापनका साथीसँगत सम्झन्छु सधैँ।
हर्ष र उमंगका ती दिन, थिए हाँसोको उमङ्ग
त्यो समयको संगीत अझै गुञ्जिरहेको छ तरंग
पानीको छालले पुकार्छ, मनको हर एक हर्ष,
सम्झनामा कहिल्यै लुक्दैन त्यो पुरानो वर्ष।
बगुवाखेतको माटो, त्यो अतीतको गन्ध,
आज पनि जिन्दगीको कथामा सँगै हर एक पन्थ।
बसाइँसराइ सङसङ्गै बरभन्ज्याङबाट ताराखसे स्कुलमा म मेरो भाइ र दिदी हामी पढन जान थाल्यौ । बिहानको समयमा ४० मिनेटको उकालो चढेर स्कुल जानु निकै गाह्रो थियो। दिनको प्रत्येक घण्टा संघर्ष र परिश्रममा बित्थ्यो। स्कुल जानु र पढ्नाका लागि संघर्ष भनेको के हो भन्ने मैले थाहा बल्ल त्यतीबेला थाहा पाएँ। त्यही समयमा, देशभर माओवादी द्वन्द्व तीव्र भइरहेको थियो। धेरै रात हामी घरमा सुतिरहेका हुनथियौं, अचानक केही कमरेडहरू हाम्रो घरमा आश्रय लिन आइपुग्थे ।कयौ रात म माओवादी कमरेड सङ्गै सुतेको छु उनीहरूको चुपचाप बोल्ने शैली र आँखा भरिएका आशंका मैले सानो उमेरमै देखे ती रातहरूको अनुभवले मलाई डर र साहसको अर्थ सिकायो। मेरो बालपनमा देखेको त्यो माओवादी र आजको माओवादी सम्झ्दा केही कुरा लेख्न मन लाग्यो ! जुन कुरा मैले 2016 मा फेसबुकमा स्टाटस लेखेको थिए !
जनयुद्धताका माओबादी कमरेडहरु संग हात मिलाँउदा उनीहरुको हात को "ठेला" र साही सेनाले जङ्गलमा लखेटदा काडा ले कोतरेका शरीर देखीन्थे , अचेल हातमा सुन र हिरा को "औठी" र सरीरमा लाखौंका कोर्ट पाइन्ट र अत्तर बास्ना सहीत पजेरोमा गुडीरहेको भेटीन्छ यही हो मैले बुझेको माओवादी युद्धले ल्याएको नेताको परिवर्तन , जन्ताको अवस्था त कोस्लाइ पो चीन्ता हुदोरहेछ र सत्तामा पुगेपछि ! आज गाउँमा युवाहरूको खडेरी परेको छ लाखौं युवा खाडी बनाउन हीडीरहेका छन मन्टेश्वरीको गेटमा नातीनातिना कुरीरहेका बुढा बाआमा,मनी ट्रान्सफरमा लाईन बसीरहेकी महिला,एअरपोर्टमा कफिन कुरीरहेका आफन्त।समाजमा यही रंग हाबी छ यी सबै समाजका रङ्गहरु यसो सोची हेर्दा मन भक्कानियर आउँछ...अनि बेशकन आवाज आउने गरी डाँको छोडेर रुनु मनलाग्छ...जब नजिकैको मन्टेस्वरीको गेटको बुढाबुढि , मनी ट्रान्सफर को लाइनकि महीला ,एयर्पोर्ट मा कफीन कुरीरहेका आफन्तको आँखामा आँशु रसाँऊन थाल्छ
यसो कहिले काहीँ बीगत सम्झन्छु २०५६/५७ ताका को कुरा हो दसैं नजीकीदै थीयो बीहान ४ बजेतिर रगताम्मे शरीर बनाउदै लामो श्वास तान्दै एक जना माओवादी काम्रेड मेरो घर आज पनि दुश्मनको मुखबाट जोगीए भन्दै छीरे आमाले दही र कोदाको रोटी हाल्दीनु भो खाए बा ले लुगा खोल्न लगाए र आफ्नो लुगा लगाइदीए आमाले रगतले भीजेका उनको लुगा धोइदीनुभो त्यही दीन बेलुकाबाट तीनलाइ टाइफाइड भो कयौं दीन मेरो घरको तलामा थला परे उपचार गरीयो समय बीत्दै गयो केहि महीनापछी उनी यो सन्सार बाट बीदा भएको खबर सुन्नासाथ मेरो आमा डाको छाडेर रुनु भयो कयौं दीन आमाको आखाबाट आँसु थामीएन!
जत्तीनै कठिन अवस्था आए पनि बीचलीत नहुने त्यति बेलाको माओवादीको त्याग सम्झदा आज पनि रगत उम्लीन्छ तर आज समय बदलीयो हिजो जनयुद्धमा जन्तालाइ दीयको बाचा बीर्सीसके आज सत्तामा पुगेपछि छेपारोले जस्तै उनीहरुको रङ्ग बदलीयको छ
यसरी रङ्ग बदल्नु थीयो भने कीन जनयुद्धमा त्यत्रा मान्छेलाई मारीयो ? कहाँ गयो माओवादी को त्यो त्याग ?माओवादी का अध्यक्ष प्रचण्ड अहिले सत्ताको बागडोर सम्हालीरहेका छन उनले के बुझ्नुपर्छ भने माओबादीले जनताको घरमा खाएको एकएक सीता भातको रिण खाइराछ। जुन चुक्ता नगरे जनताले अब छोड्नेवाला छैन। सहीदको सपना पूरा गर्ने बाटो मा हीच्कीचायौ भने तीम्रो दसा अब सुरु हुनेछ
सहीदले देखाएको बाटोमा हीडने अवस्था कहिँ बाट पनि देखीदैन सम्सदीय भासमा काङ्ग्रेस एमाले भन्दा नराम्रो सङ्ग फसीसक्यो तैपनि आसा नगरेर पनि भएन
जिउन त बचेका सबै कम्रेडहरुले बोनसको जिन्दगी नै जिइरहेका हुन !
अब जाऔ ती दिनहरु तर्फ
त्यस्तै एक दिन, बुवा भारतबाट फर्किए। उहाँले फर्केर आउनु खुशीको कुरा थियो, तर प्रशासनले उनलाई माओवादीसँग सहानुभूति गरेको आरोपमा यातना दिन थाल्यो। म सधैं बुवासँगै तारेख बुझ्न जान्थें। उहाँले आमालाई सान्त्वना दिँदै भन्नुभएको शब्द म कहिल्यै बिर्सन सक्दिनँ: “यदि कुनै दुश्मनले मलाई मार्छ भने, बच्चाबच्चीको हेरचाह गर।” छोराछोरी लाई पढाउनु हिम्मत नहार्नु यी वाक्यहरुले बालमनमा गहिरो असर गर्यो। यसले मलाई डरको सँगसँगै जिम्मेवारीको नयाँ बोध दिलायो।
साही सेनाको डर त्रास र भयको बाबजुद थपिएको आर्थिक समस्याहरूका बीचमा, मैले घरको जिम्मेवारीलाई आफ्नो कन्धामा लिने कोशिश गरेँ। यस्ता चुनौतीहरूको बीचमा, मैले जीवनका सरल र ठूला पाठहरू सिक्न थालेँ। म परिश्रमलाई कदर गर्न थालें र विचार गर्न थालेँ कि, जीवन केवल आफ्नो लागि मात्र होइन, परिवार र समाजको लागि पनि हो। मैले बुवाको संघर्ष र आमाको ममता देख्दै ठूलो भएँ, र ती सबै भावनाले मलाई हिम्मत दिए।
बगुवाखेतको प्राकृतिक सौन्दर्य मेरो बाल्यकालको एक अविभाज्य हिस्सा थियो। कासिखोलाको कलकल आवाज र सल्लाघारीको हरियालीले दुःखका बीचमा पनि शान्ति ल्याउँथ्यो। म दिनभरि पराने खोलाको झर्ना सुर्जे पाखाको त्यो अग्लो भिर कोट को कालिका माइको त्यो निस्चल अडीग अनि शान्त मन्दीर हेरेर बिताउँथें। प्रकृतिले मलाई जीवनको गहिराइ र संघर्षको अर्थ सिकायो। त्यहाँका हावाका ठण्डा थप्पाइहरूले मलाई अडिग र दृढ बनाए। यद्यपि त्यहाँको जीवन कठिन थियो, मसँग आशा र संघर्षको शक्ति थियो।
मेरा बुवाले सदैव मलाई सिकाउन चाहन्थे, कि जीवनमा केही पनि प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्छ। उहाँले हरेक चोट र थकानका बाबजुद, हामीलाई सधैं राम्रो भविष्यको लागि प्रेरित गर्नुभएको थियो। उहाँका सपना र आशीर्वादहरूले मलाई हिम्मत दिन थाले। मैले सोच्न थालेँ कि, जीवनलाई सफलता र संघर्षका माध्यमबाट मात्र परिभाषित गर्न सकिँदैन। यो अनुभव, हिम्मत र उमंगको मिश्रण हो, जसले मानिसलाई जीवनका चुनौतीहरूलाई जित्न सघाउँछ।
यस क्रममा, मैले धेरै कुरा सिकें। जीवनका उतारचढाव र परिश्रमले मलाई सानो उमेरमै परिपक्व बनाइदिएको थियो। परिवारको आर्थिक स्थितिले मलाई आफ्ना जिम्मेवारीहरू साच्चै बुझ्नमा मद्दत गर्यो। मले बुवाका सन्देशलाई साँचो अर्थमा लिन थालेँ। ती सन्देशहरूले मलाई जीवनका कष्ट र संघर्षलाई केही फरक दृष्टिकोणबाट हेर्न सिकाए।
आज यो आत्मबृतान्त लेख्ने प्रेरणा पनि मैले मेरो बा बाट पाएको हु जुन समय म विदेश गएका थिएँ, त्यस समयमा म आफूलाई अझ बढी जिम्मेवार महसुस गर्दै थिएँ। परदेशी भूमिमा संघर्ष गर्दा, मैले थाहा पाएँ कि मेरो मेहेनत र काम केवल मेरो भविष्यका लागि मात्र होइन, मेरो परिवार र देशको लागि पनि हो। जब मैले बुवाले भनेको कागजको चिर्कटो भेट्टाएँ, त्यो एक गहिरो सोचको कारण बन्यो।
मैले सम्झें, कि मैले भनेजस्तो नाम कमाउन सकिनँ, तर मैले केही गरेको छ।
जीवनका उर्जाशिल बसन्तहरू परदेशी भूमिमा सक्काएर थकित, म एक दिन बुवाको हातले लेखिएको एउटा सानो कागजको चिर्कटो फेला पार्छु। कागजको चिर्कटो बाक्साको कुनामा अड्केर बसेको थियो। त्यो चिर्कटोमा लेखिएको कुरा आज मलाई जीवन, जगत र संघर्ष लेख्नको लागि प्रेरणा बन्यो
उक्त कागजको टुक्रोमा लेखिएको थियो: "छोरा, बिकास गर, मेहेनत गर, आफ्नो नाम कमाउ, ठूलो मान्छे बन।"
यो चिर्कटो मेरो हातमा परेपछि मेरो मनमा भुइचालो जान्छ। म सोच्न थाल्छु—"बा, मान्छेका सफलताको कथाहरू त सबैको लेखिन्छन्, तर मेरो जिवनको यात्रा भनेको के हो?" जीवनको ४० वर्षमा मैले देश, समाज र राष्ट्रको लागि कुनै ठुलो काम गरेको छैन। केवल रेमिटेन्स पठाउने काम मात्र गरेँ। मेहेनत भने गरेको छु, तर त्यो मेहेनत मेरो देशको लागि होइन, विदेशको लागि थियो।
यो कागजको चिर्कटोले मलाई प्रायश्चित र पछतापले जलाउने गर्दछ। म सोच्छु, अब म मेरो जीवनको कथा लेख्छु। हुन त यो संसारमा हरेक मान्छेको सफलता मात्र लेखिन्छ, तर यो कथा कसैले पढ्ला कि नपढ्ला, कम्तीमा मेरो सन्तानहरूले मेरो मृत्यु पछि पढ्नेछन् र बुवाका सपनाहरू एक दिन साकार पार्नेछन्।
यो कागजको चिर्कटोले मलाई सोच्न बाध्य बनायो। मैले बुझें कि यो संसारमा सबैको सफलता लेखिन्छ, तर संघर्ष र असफलताका बीचको यात्रा पनि महत्त्वपूर्ण छ। आज, म जस्तो संघर्षरत जीवनको कथा लेख्दैछु, त्यो केवल मेरो कथा मात्र होइन, यो हाम्रो परिवारको संघर्ष बिदेशी भुमिमा रहेका लाखौ मजदुरको संघर्सको को कथा होस आफू जन्मेको बाताबरण ठाउँ र त्यहाँको प्राकृतिक सौन्दर्यको प्रेरणाको कथासमेत होस !!