म सधैं सोच्थेँ, विदेशको जीवन कस्तो होला? सायद चम्किला शहरहरू, प्रगतिको रंगीन चित्र, अनि सफलताको राजमार्ग। तर जब मैले पहिलो पटक जापानको भूमिमा पाइला राखें, वास्तविकता ती सोचभन्दा धेरै टाढा थियो। यो सहर चकमन्न थियो, रातभरि बत्तीको झिल्कोले चम्किए पनि मेरो मनको अँध्यारो मेटिन सकेको थिएन।
तर मैले जुन गाउँमा जन्मेको थिएँ, बगुवाखेत, त्यहाँको चिसो पानीको सम्झना र काली रह मा पौडी खेल्दा आउने तरल ताजगी भने मनमा गहिरो रूपमा समेटेको थियो। त्यहाँको कलोगैरा जङ्गलको हरियाली र बगुवाखोलाको ताजगीले मेरो बाल्यकाललाई सँधै ताजै राखेको थियो। त्यस बेला बगुवाखोलाको काली रहमा पौडी खेल्ने मज्जा, ती दिनका ताजगीका क्षणहरू, सम्झँदा आज पनि मलाई त्यो शीतलता र स्वच्छता सम्झनामा आउँछ। कासिखोलाको मीठो पानी र शान्त वातावरणले मलाई सधैं खुशी राख्थ्यो। ती क्षणहरू कुनै सपना जस्ता थिए जसको आभासले मलाई अहिले पनि परदेशमा जीवन जिउँदा एक अनौठो शक्ति दिन्छ।
बगुवाखेतका मेरो साथिहरू—सुझन भट्ट, रुपेश भट्ट, पत्रकार भाइ सुभास भट्ट, कलाकार रबिन लामिछाने, दोहोरी गायिका जेरी, गायक गकुल पाण्डे, समाजसेवी हरी पाण्डे र नबराज पाण्डे लगायतका सबै साथीहरूको योगदान र मित्रताको म मूल्यांकन गर्छु। यी साथीहरूले मेरो जीवनमा एक महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको साथ र प्रेरणाले मैले आफ्नो संघर्षमा सधैं बल पाएँ।
सानो हुँदा पढेको बरभन्ज्याङ स्कुल, ताराखसे स्कुल र दुर्लभ उच्चमाबी शिक्षाले मेरो जीवनको दिशा निर्धारण गर्यो। यहाँका बरभन्ज्याङका शिक्षिकाहरू—उमा सिम्खडा र कमला मिस जसले अक्षर लेख्न सिकाए, र आदरणीय नेपाली पढाउने गुरुहरु नुरेश्वर सर र गोकर्ण अङाइ सर जसले मलाई कविता, कथा मात्रै नभै जीवन र जगत लेख्नको प्रेरणा दिए, उनीहरूको योगदानको म उच्च मूल्यांकन गर्छु। उहाहरूका कसम, म आज जे छु, त्यसमा ठूलो योगदान छ।
जापानमा आएका सुरुवाती दिनमा, यहाँको संस्कृतिले मलाई अचम्ममा पार्यो। म एक नयाँ जीवनको सुरुवात गर्दै थिएँ। भाषा र संस्कृति नबुझ्दा थुप्रै चुनौतीहरू सामना गर्नु पर्यो। यहाँका मान्छेको शिष्टाचार देख्दा अनौठो लाग्यो—सबैजना विनम्र, सधैं झुकेर अभिवादन गर्ने। यहाँको बोलचाल, हरेक कुरामा अदब-आदब छ। तर त्यो विनम्रता भित्रको असलियत के थियो, मैले केही समयपछि मात्रै बुझें।
यहाँको हावा खासै चिसो थियो, तर त्यसले मेरो जीवनको तातो सपनालाई कुनै असर पार्न सकेको थिएन। म सपनाको खोजीमा आएर पनि त्यो सपना आफैंलाई कतै टाढा पुगेकोजस्तो लाग्यो। काममा हरेक दिन म यहाँका मानिसहरूको आदर र विनम्रताले प्रभावित हुन्थेँ। कतिपय जापानी साथीहरूले मेरो संघर्ष बुझ्न खोजे, मलाई सहयोग गर्न चाहन्थे, तर कतिपयको नजरमा म केवल एकजना विदेशी कामदार मात्र थिएँ।
म काममा ध्यान केन्द्रित गरिरहेको थिएँ, जब एक दिन अचानक हात काटिएर रगतको धारा बग्न थाल्यो। त्यो दिनले मलाई कठोर वास्तविकताको सामना गरायो। मैले सोचेँ—जापानको यो चम्किलो सपना, मेरो आत्मबलको एउटा कठोर परीक्षा मात्रै थियो। काम छोड्नुपर्ने भयो, अनि बिदा बस्दा मन शून्य भयो। त्यो चोट केवल शारीरिक मात्र थिएन; आत्मा नै चोटिल भएको महसुस भयो।
म श्रीमतीले परदेशको बाटो समातेको नौ महिना नबित्दै बिदेश हिडेको मान्छे । मेरो सानो छोरो एरिकलाई झलुङ्गोमा सुताएर बिदा गरेको सम्झना ताजै छ अनि मेरी छोरी आशिकाको मुस्कान झल्झल्ती याद छ जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा लगाएर आमालाई विदाइ गरेकी थिईन म मात्रै टाढाबाट साक्षी थिएँ त्यो विदाइको। तर आफ्नो सपना पूरा गर्न म पनि उनीहरूलाई छोडेर यहाँ आएको थिएँ। म आफ्नो भूमिमा रहेर केही गर्न सकिनँ, अनि विदेश आएर पनि आफ्नै अस्तित्वको संघर्ष गरिरहेको थिएँ।
जापानका मानिसहरूको आदर र सत्कार त मैले बुझेँ, तर त्यो सत्कारभित्र लुकेको दूरी र अलगावको महसुस भयो। उनीहरूको शिष्टाचारले मेरो आत्मालाई सम्मान दिन्छ, तर कहिलेकाहीँ त्यो आदर नै जालझेलजस्तो लाग्थ्यो। कतिपयजना जापानीहरू मलाई आफ्नै साथी सम्झन्थे, तर कतिपयले पराईको जस्तो व्यवहार गर्थे। मैले यहाँको सहरको भव्यता देख्दै पनि त्यो रंगीन पृष्ठभूमिको अँध्यारो पक्षलाई महसुस गर्न थालेँ।
विदेशको जीवनले मलाई धेरै कुरा सिकायो—कसैको नजरमा म सम्मानित थिएँ, भने कसैको नजरमा केवल कामदार मात्र थिएँ। म हरेक दिन आफ्नो भूमिमा फर्कने सपना देख्थेँ। तर सम्झन्छु, त्यो दिन, जुन दिन घरपरिवारमा अंशबन्डाको कुरा उठ्यो। म परदेशमा संघर्ष गर्दै थिएँ, तर परिवारको सम्पत्ति विभाजनमा मात्र म सम्झिइएँ। यहाँ मेरो परिश्रमले मात्रै होइन, मेरो आफ्नो परिवारको टाढापनले पनि मलाई गहिरो चोट दिन थाल्यो।
हामी नेपालीहरू घर-परिवार र नातेदारीलाई धेरै महत्व दिन्छौं, तर परदेशले त्यो सब केवल सम्झनामा सीमित गराइदियो। हरेक दिनको संघर्षले मलाई थप कमजोर बनायो। तर त्यही कमजोरपनले मेरो आत्मबललाई बलियो बनाउन थालेको थियो। म केवल एक जना व्यक्तिमा सीमित छैन, म सारा नेपालीहरूको प्रतिनिधित्व गरिरहेको थिएँ, जो यस्तै संघर्षमा डुबेका छन्।
विदेशको जीवनमा संघर्षको प्रत्येक चरण मेरो आत्माको नयाँ परीक्षा थियो। म यहाँ एक्लोपनको संघर्षसँगै जापानको हावा-पानी, यहाँको भाषा र सांस्कृतिक विविधताको बीचमा आफ्नो अस्तित्वको खोज गरिरहेको थिएँ। यहाँको चिसो हावाले भित्रको आत्मालाई फेरि सम्झायो कि म केवल आफ्नो परिवारको लागि होइन, आफ्नो आत्मबलको लागि पनि संघर्ष गरिरहेको छु।
त्यसैले, यो कथा केवल मेरो मात्रै होइन, यो हरेक त्यो नेपालीको हो, जसले सपनाको खोजीमा परदेशको बाटो समात्नुपरेको छ। यो संघर्षको कथा हो, जुन केवल सपना मात्र होइन—जसले हरेक दिन जिन्दगीलाई नयाँ पाठ पढाउँछ।
No comments:
Post a Comment