प्रिय जापान,
तिमी दिन्छौ
वेतन, बीमा, बोनस र सुरक्षित सडकहरू,
तर लिन्छौ
निन्द्रा, मुस्कान, र मेरो देशको माटोको गन्ध।
तिमी दिन्छौ
कानूनको काँटामा बेरिएको घडीको कडाइ,
जसले मापन गर्छ हाम्रा सासहरूको मूल्य।
तिमी दिन्छौ
मेसिनको आवाजमा हराएको विहानी,
पेटभर खान पाइने, तर मनभर रोकिने भातहरू।
तर तिमी लिन्छौ
छोरीको पहिलो नृत्यको ताल,
छोराको पहिलो शब्द “बुबा” को मिठास।
लिन्छौ
आमाको चिच्याइझैँ हर्ष मिश्रित फोन कल,
र श्रीमतीको त्यो मौन,
जहाँ सारा पीडाहरू शब्दबिनै पोखिन्छन्।
प्रिय जापान,
तिमी ठिकै छौ
शान्त, सफा, सुगठित र अनुशासित।
तर कति कठोर छौ तिमी
जहाँ सपनाहरू पाइपलाइनमा झुन्डिएर हिँड्छन्,
र हरेक नेपाली श्रमिक
पसीनाको चापले झुकेको काँध बोकेर
घर फर्कन नपाउने सम्झौतामा बाँचिरहन्छ।
तिमी हेर्दैनौ
छुट्टिएका बाबुहरूका च्यातिएका तस्वीरहरू,
जुन सानातिना डब्बामा राखेर
हामी प्रत्येक दिन मुस्कानको अभिनय गर्छौं।
तिमी सुन्दैनौ
भाँडा माझ्दा भित्रभित्रै फुटेका आशाहरूको चर्को चुरचुर।
हाम्रो देशमा
धूलोले भरिएका बाटाहरू छन्,
तर ती बाटामा हाम्रा पाइला छन्।
हाम्रो माटोमा भोक छ,
तर त्यही भोकमा हाम्रो पहिचान छ।
प्रिय जापान,
तिमी अवसर हौ,
तर सौन्दर्यमा लुकेको एकान्त पीडा पनि हौ।
तिमी दिएरै लिन्छौ
हामीबाट हाँसो, निद्रा, पहिचान,
र एक दिन, पुरै ‘म’ नै हराउने डर।
प्रिय जापान,
तिमी साहु हौ
तर पैसाको होइन, सपना र समयको हिसाब किताब राख्ने।
म ऋणी छु,
न त केवल तलबी कागजमा,
न त बैंकको खातामा,
तर त्यो साँझको थकानमा,
जसले हरेक दिन मलाई “आफ्नो”भन्दा टाढा धकेलिरहेछ।
म तिर्दै छु
पसिनाको व्याज,
जहाँ न घाट देखिन्छ, न त घाटाको हिसाब।
जीवनको मूलधन
पुर्ब जन्ममानै साचेर राखिएको रैछ
छोरीको हात समाउने समयसँगै,
आमाको निधारमा हात राख्ने छायाँसँगै।
प्रिय जापान,
तिमी मलाई आम्दानी दिन्छौ,
तर त्यो आम्दानीसँगै म गुमाइरहेछु
आफ्नो “म” भन्ने सम्पूर्ण अस्तित्व।
No comments:
Post a Comment