नेपाली समाचार ,Nepal Flag

Tuesday, June 24, 2025

अर्को जन्म (कविता )

अर्को जन्म  (कविता )
कहिलेकाहीँ सोच्छु साँच्चै,
अर्को जन्म त्यो देशमा नहोस्,
जहाँ सपनाले जरा गाड्न नपाएर
आफ्नै माटो छाड्न बाध्य बनाओस्।

जहाँ बासको आशाले
हजारौं पाइला पर धकेल्ने होइन,
हजारौं हातहरूले समातून्,
जहाँ आफ्नै जन्मथलो छाडेर होइन,
माटोसँगै सपनाहरू उम्रून्।

जहाँ रित्तिएको आँगनमा
मायाका पाइलाहरू ओइलाउने होइन,
मायाका फूलहरू फक्रून्,
जहाँ आफ्नै सन्तान आफ्नै सपना बन्दै
आँखाबाट ओझेल पर्ने होइन,
संगै बसेर सपना सजाउन सकून्।

जहाँ आँगनको तुलसी हरियै रहोस्,
जहाँ दैलोको बास्नाले आत्मीयता छरून्,
जहाँ बुबाको ओछ्यान चिसो नहोस्,
जहाँ आमाको हात कहिल्यै रित्तो नहोस्।

जहाँ बिहानको घाम ढोकैबाट छिर्दा
नयाँ आशाका रंगहरू कोरून्,
जहाँ साँझपख आँगनमा बसेर
गफ गर्न पाइयोस्, हाँस्न पाइयोस्।

जहाँ पिँढीमा बसेर बुबाले
पुराना कथाहरू सुनाइरहून्,
जहाँ आमाको हातले
सन्तानको निधार सुम्सुम्याइरहोस्।

जहाँ खेतका गराहरू हाँसून्,
जहाँ हलोले चिरेको माटो
पसिनाका थोपा पिउँदै
हरियो बालाजस्तै लहलहाउँदो बनोस्।

जहाँ झरनाको सङ्गीतमा
मनका व्यथाहरू बगून्,
जहाँ साँझ परेपछि जुनको छायाँमा
सबैले सपनाहरू हेर्न सकून्।

जहाँ बस्तीका बाटाहरू
छोडिने होइन, समेटिने बनून्,
जहाँ गाउँका पर्खालहरू
उचालिने होइन, माया गाँसिने बनून्।

जहाँ जंगलमा बास रहोस्,
तर मनहरू निर्जन नहोऊन्,
जहाँ पाखाहरू मौन नबसून्,
परेवा जस्तै स्वतन्त्र गुञ्जून्।

जहाँ घर फर्किनु भाग्यको खेल नहोस्,
सपना सँगाल्नकै लागि
जन्मथलोमै आफ्नोपन महशुस होस्।

जहाँ माटो पराइ नबनोस्,
जहाँ जरा उखेलिन नपरोस्,
जहाँ गाऊँका चौतारीहरू
माया बाँड्ने थलो बनून्।

जहाँ गीतहरूले इतिहास गुनगुनाऊन्,
जहाँ गीता-मन्त्र झैँ मूल्यहरूले जीवन सिखाऊन्,
जहाँ आत्माहरू बीच कुनै पराइपन नहोस्,
जहाँ हरेक अनुहारमा उज्यालो हाँसो झल्कोस्।

जहाँ मनका दुःखहरू
बादलझैँ तैरिएर विलिन होऊन्,
जहाँ नदीहरू जस्तै
सम्बन्धहरू निरन्तर बगून्।

जहाँ कोही आफ्ना रहन
परदेशको गल्लीहरू धाउन नपरोस्,
जहाँ कोही सपना बेच्न
सुनसान सहरहरूमा बास बस्न नपरोस्।

जहाँ आफ्नोपनको सुगन्ध बोक्ने
हावा बहिरहोस्,
जहाँ मायाले अँगाल्ने समाज
सधैं सजीव रहोस्।

जहाँ छोरीहरूले आफ्नै माटोमा
स्वाभिमानका पाइला टेकून्,
जहाँ आमाहरूका आँखामा
मायाका रसिला दृश्यहरू झल्कून्।

त्यसैले, यदि अर्को जन्म हुन्छ भने,
त्यो देशमा जन्मिने आशा होस्,
जहाँ सन्तान बोटझैँ फैलिउन्,
जहाँ जरा उखेलिन नपरोस्।

सन्तोष सिम्खडा
टोकियो जापान

No comments:

Post a Comment