नेपाली समाचार ,Nepal Flag

Saturday, June 8, 2013

बेलायती शिक्षाले पढाएको पाठः सोह्र दुना आठ


बेलायती साम्राज्यवादको नयाँ शैलीको रुपमा आएको विश्वमा आफ्नो सम्प्रभूत्व कायम राख्ने र सधैझैं आफूलाई मात्रै संसारको राजनैतीक र आर्थिक शक्तिकेन्द्र बनाईराख्ने कुटिल चाल स्वरुप थापिएको टायर फोर नामको भिषा नीतीको बल्छीमा परेर उनीहरुकै साल सन् २००९ को अन्ततिर बेलायती साम्राज्यको भौगोलिक केन्द्र र आर्थिक राजधानी र अझै उनीहरुकै शब्दमा भन्दा विश्व प्रवेश गर्ने ढोका भित्र अध्येताको हैसियतमा प्रथम पाईला टेक्ने सौभाग्य प्राप्त भयो। त्यसो त विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दी र बढ्दो वेरोजगारीपनि यो बल्छी थाप्नुको प्रमुख कारणहरु थिए। विदेश भासिनुमा मूलत आफ्नै देशको राजनैतिक र सामाजिक कारणहरु पनि अनगिन्ती थिए। एक दशक भन्दा बढिको कथित जनयुद्ध, रक्तपात अनि करिब पन्ध्र हजार निर्दोश नेपाली जनताहरुको विभत्श हत्यापछि आएको नयाँ व्यवस्थाले उपहार स्वरुप दिएको संक्रमणकालीन अवस्था, अराजकता, दण्डहिनता, बढ्दो वेरोजगारि, भष्टाचार, मंहगी, असुरक्षा, बन्द, हडताल, हत्या, हिंसा, बलत्कार, अपहरण, चन्दा आतंक आदि प्रमुख राजनैतीक कारणहरु थिए। रुढिवादी परम्परा, अवसरवादी दर्शन, कुण्ठित मानसिकता, लोकाचार, खुट्टा तान्ने प्रवृति, पछौटेपन, नातावाद, कृपावाद र यस्ता अरु थुप्रै वाद र अपवादहरु सामाजिक कारणहरु रहे। इतिहासको कुनै एक कालखण्डमा तीन चौथाई विश्वमा आफ्नो साम्राज्य फैलाएका फिरंगीहरुलाई उनीहरुकै उद्गम थलोमा गएर नजिकैबाट चिन्ने, जान्ने, बुझ्ने र उनीहरुबाट केही सिक्ने अभीप्सा मनभित्र थियो भने उच्च अध्ययन, आत्मनिर्भता, सुनौलो र सुनिश्चीत भविष्य अरु प्रमुख उद्देश्य र अभिलाषा थिए।


मध्य काठमाडौको प्राय हरेक जसो घरहरु र तिनको तल्लैपिच्छे च्याऊ उम्रेसरी खोलिएका शैक्षिक परामर्श केन्द्रहरु मध्यको एक परामर्श दाताको पनि राम्रै भूमिका रह्यो जसले बेलायतमा कलेज खोजेर भिषा लेटर झारिदिने, कागजपत्रहरु मिलाईदिने, भिषा आवेदन फारम भर्न सिकाउने लगायतका कामहरु गरिदिए। बैंक मार्फत गर्नुपर्ने सबै कामहरुमा बैंककै एक कर्मचारी मित्रले सहयोग गरिन। त्यसपछि चुच्चे ढुङ्गो उहि टुङ्गो भनेझैं आफ्ना नागरिकहरुले विश्व बजारमा श्रम बेचेर पठाएको विप्रेषणको रकमले पुरै अर्थतन्त्र धान्न खोज्ने नालायक सरकारको आफ्ना नागरिकहरुलाई स्वईच्छाले जान्छस् भने जा नभए घोक्रे ठ््याक लगाएर भएपनि पठाउछु भन्ने शैलीको नीतीमा चलेको अध्यागमन पारगर्दै करीब दश लाख नेपाली रुपैयाँ र दश हजार किलोमिटर हवाई यात्रा तय गरेर संसारको सबैभन्दा फराकिलो लोकतन्त्र अभ्यास गर्ने वैभवशाली देशमा प्रवेश गरियो। हिथ्रो विमानस्थलमा अध्यागमन अधिकारीले बेलायत आउनुको प्रमुख उद्देश्य सोधेपछि संयुक्त अधिराज्य बेलायतमा तिमीलाई स्वागत छ भनेर शुभकामना दिएपनि बाहिर समग्र यूरोप नै भोको गिद्धलेझैं आर्थिक सिनो लुछ्न तम्तयार बसेको छ भन्ने कुरा मलाई रामैंसँग थाहा थियो। यस अर्थमा यो यात्रा तावाबाट उम्केर भुङ्ग्रोमा परेको माछाजस्तो हुने कुरामा म निश्चिन्त प्रायः थिए। प्रा. डा. तारानाथ शर्मा ज्यूले बेलायततिर बरालिएकै कारण मदन पुरस्कार जितेपनि म तत्कालीन परिदृष्टामा लन्डनतिर लन्ठिन पुग्नुको उद्देश्य भने नितान्तै अलग थियो।

हजारौं नेपाली विद्यार्थीहरु कलेजहरु बन्द हुने र काम नपाउने समस्याले ग्रसित हुँदा मेरो भने बेलायत बसाई र भोगाईको प्रारम्भको समय मेरा आफन्त र स्वजनहरुको आथित्य, स्नेहभाव र न्यानोपनमा बित्यो। नबितोस् पनि कसरी उनीहरु मेरो मातृकूल र बान्धवहरु जो थिए। अझ उनीहरुका नयाँ पुस्तासँगको सामिप्यता र घोलमेलले हामीबिचको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनायो। त्यसपछिको समयपनि पढाई र कामको सन्तुलनकासाथ साथिभाईहरुसँग आत्मीयता, मैत्रीभाव एवं सौहार्दपूर्ण वातावरणमा रमाईलोसँग बित्यो। यस बीचमा काठमाडौंका शैक्षिक परामर्श केन्द्रका परामर्शदाताहरुले दिने परामर्श शैक्षिक नभएर स्वैच्छिक अर्थात आफूलाई जे मनलाग्यो त्यही र जसरी फाईदा हुन्छ त्यसरी पो परामर्श दिने रहेछन् भन्ने कुराको रहस्य खुल्यो। यसरी विद्यार्थीहरुलाई झूठो सूचना र सपना बेचेर बेलायतका नाममात्रका कलेजहरुमा भर्ना गराएबापत उनीहरुलाई मोटो रकम हात पर्दो रहेछ। तर उनीहरुले भनेका कुरा त्यहाँको वास्तविकतासँग एक रत्तिपनि मेल नखाने रहेछ।

पढाईको कुरा गर्दा लन्डनको शानको रुपमा रहेको आधुनीक सुविधा सम्पन्न र सहज यात्रा गराउने दुईतले रातो बस चढेर कलेजजाँदा बसमा हाच्छिउँ गर्दा आफूसँगै छेऊको सिटमा बसेको गोरेले गड ब्लेस यू (God bless you) भन्दा र आफूसँगै बसेको सिटबाट अन्यत्र खालि सिटमा बस्न जाँदापनि विनम्रतापूर्वक अनुमति मागेबाट यि तिनै फिरंगीका सन्तान हुन् जसले ईतिहासमा चर्चित नालापानीको युद्धमा तोप, गोला, बारुद, बन्दुक र त्यसबेलाका आधुनिक हातहतियारले सुसज्जित उनीहरुको सेनाको बलले नसकेर छलकपटद्धारा किल्लामा जाने पानीको मुहान थुनेर भोक र तीर्खाले आलशतालश हाम्रा वीर र साहासी योद्धाहरुमाथि कायरतापूर्वक धावा बोलेका थिए भन्ने कुरामा मेरो आफ्नै मत बाझियो। अझ बसका भित्तामा टाँसिएका सार्वजनिक हितका सन्देश र शिक्षामुलक लेखोटहरुले मलाई उनीहरुको सोचाईको स्तरप्रति अनुग्रहित बनायो। त्यसमध्ये एउटा सन्देश यस्तो थियो– हाम्रो देशमा पछिल्ला दिनहरुमा मुटुरोगीहरुको संख्यामा अत्याधिक बृद्धि भएको देखियो त्यसकारण तिमीहरु जाँहा पुग्नुपर्ने हो त्योभन्दा एक स्टप अगाडिनै उत्रेर हिंड्ने बानी गर है। यसबाट पनि सजिलै थाहा हुन्छ कि उनीहरु आफ्ना नागरिकहरुको स्वास्थप्रति कति संवेदनशील छन्। हामीकहाँ त मरेपछि ओखतीमूलो भन्ने उखान अझै जीवीतै छ।

अरु देशहरुमा जस्तै बेलायतमापनि राज्यले आफ्ना नागरिकहरुलाई विभिन्न किसिमका आर्थिक सहायता दिने गर्दछ। जस्तै बेरोजगारी भत्ता, ज्येष्ठ नागरिक भत्ता, प्रसूति भत्ता, अशक्त–अपाङ्ग भत्ता आदि। यसरी राज्यले दिने आर्थिक सहायताहरुको दुरुपयोग गर्नेहरु त्यहाँपनि थुप्रै रहेछन्। त्यसमध्यको एक प्रसूति भत्ताको लोभमा परि किशोरीहरु आमा बन्ने समस्या सरकारको ठूलै टाउको दुखाईको कारण रहेछ। बाटोमा हिंड्दै गर्दा गोराको छाउरोले साथी तिमीसँग जगेडा चुरोट छ(Mate! Do you have a spare cigarette)? भनेबाट उनीहरुका नयाँ पुस्तापनि अभाव ग्रस्त र कूलतमा रहेछन् भन्ने कुरा बुझ्न गाह्रो भएन। अझ लण्डनको आवासीय घरहरुको अर्को टाउको दुखाई उडुसको प्रकोपबाट बच्न पटकपटक घर सर्नुपर्ने बाध्यता परेपनि फरक–फरक समूदायका मानिसहरुसँग सान्निध्यता र हार्दिकता साट्न पाउदा केही राहतको महसुश भयो यद्यपि उडुसको टोकाई र फिरंगीहरुको विद्यार्थी चुसाई नीतीमा भने तात्वीक भिन्नता केही थिएन।

कलेजमा गोराहरुसँग संगत बढाउने र उनीहरुको हामी पूर्वीयाहरुलाई हेर्ने दृष्टिकोण जान्ने मेरो मनसुबामाथि त्यतिखेर वज्रपात भयो जब कलेजमा पढाउने ट्युटर र पढ्ने विद्यार्थीहरु अधिकांश हाम्रै छिमेकी मित्रराष्ट्रहरुका भेटिए। अति नगन्य मात्रामा अफ्रिकी महादेश र पूर्वी युरोपकाहरुपनि थिए। त्यसो त बेलायतमा अक्सफोर्ड र क्याम्ब्रीज जस्ता विश्वविख्यात शैक्षिक संस्थाहरु पनि नभएका भने होईनन् जसले गुणस्तरीय र सर्वोत्कृष्ट शिक्षा प्रदान गर्छन् तर त्यस्ता विश्वकै उत्कृष्ट र विख्यात शैक्षिक संस्थाहरुमा हाम्रो पहुँच कहाँबाट पुग्थ्यो। टायर फोर भिषा नीति आएपछि खुलेका अधिकाँश निजी शैक्षिक संस्थाहरुले भने शिक्षणजस्तो पवित्र कर्मलाई फगत व्यापार नै ठनेका रहेछन् । काममा भेटिएका एकाध गोराहरुपनि सकेसम्म आफ्नो समुदायभन्दा बाहिरका मानिसहरुसंग खासै खुल्न नचाहने रहेछन्।

संसारनै ताररहित विद्युतिय संचार माध्यमहरुद्धारा सूचना, सन्देश र विचारहरु आदानप्रदान गरिरहदा हरेक घरहरुलाई दिईएको एकअर्कासँग मेल नखाने युनिक पोष्ट कोडका आधारमा कुनै प्रकारको ढिलासुस्ती बिनानै घरहरुका ढोकाढोकामा चिठ्ठिपत्रहरु खसाल्ने बेलायती हुलाक सेवाले मलाई पत्र पठाउने मान्छे स्वयमं आईपुगेको महिनौसम्मपनि चिठ्ठिपत्रहरु नआईपुग्ने हाम्रो देशको एकमात्र हुलाक सेवा गोश्वारा हुलाकको नमिठो याद दिलायो। त्यसो त कलम र नोटबुकमात्र भिरेर असामाजिक गतिविधिहरुको टिपोट गर्दै हिंड्ने लन्डन प्रहरी र लन्डनका ट्याक्सी चालकहरुको सहयोगी, सालीन र मित्रवत व्यवहार देख्दा माओवादीको सशस्त्र द्वन्द्वताका गोठालाको लठ्ठीसरी राईफल र समुदायलाईनै भयभीत तुल्याउने सैनिक बन्दोबस्तीका सामानहरु खुल्लमखुल्ला बोकेर हिंड्ने सत्य, सेवा र सुरक्षणमंको मर्म बोकेको नेपाल प्रहरीका सकल दर्जा र मिटरमा अनेक जालझेल गरी यात्रु ठग्न पल्केका र भनेजति भाडा नदिए पाखुरा सुर्कन समेत पछि नहट्ने नेपाली ट्याक्सी चालकहरु मेरो आँखा वरपर घुमिरहे। मध्य लन्डनका विभिन्न ठाउँहरुमा बनाइएका सार्वजनिक शौचालयहरुले लन्डन शहरको सौन्दर्यता कायम राख्ने मात्र नभई वातावरणीय प्रदूषण राक्ने र पिसाब फेर्ने शिघ्रतामा पनि उपयुक्त ठाउँको अभावमा पिसाब नर्फेदा मुत्राशयमा दवाब बढ्न गई कालान्तरमा हुने मुत्राशयको क्यान्सरजस्तो जटिल रोगलाई समेत घटाउन मद्दत गर्नेरहेछ। तर हाम्रामा त मध्य शहरका खुल्ला क्षेत्रलाई नै सार्वजनिक शौचालय बनाएर निशंकोच लघुशङ्का र दीर्घशङ्का गर्नेहरुको जमातलाई हेर्दा कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान चरितार्थ हुन्छ।

लन्डनमा काम लगाईदिने एजेन्सीहरुको प्रवेशद्धारमै लेखिएको समान अवसर क्षेत्र(Equal Opportunity Area) भन्ने भाव र्दशाउने गरि राखिएका वोर्डले मनमा काम पाउने आशा जगाएपनि त्यहाँ कामका लागि फारममा भर्नुपर्ने वैयत्तिक विवरणमा दिईएको विकल्पहरुले मलाई संसारकै सर्वोत्तम मध्यको एक लोकतन्त्र अभ्यास गर्ने देशमा नातावाद र जातिवादको नमिठो गन्धको आभास भयो। उदाहरणका लागि फारमको उद्गम(Origin) शिर्षकमा दिईएका विकल्पहरुमा हामी त उनीहरुका लागि अन्यवर्ग(Others) अन्र्तगत पो पर्ने रहेछौं। जुन गोर्खालीहरु उनीहरुका लागि प्रथम विश्वयुद्धदेखि लिएर आजसम्मपनि इराक र अफ्गानीस्तानमा युद्धका सबैभन्दा अघिल्ला मोर्चाहरु समालेर बसेका छन् तिनीहरुका सन्ततीहरुलाई उपेक्षा गरेको देख्दा एकचोटि त मेरोपनि गोर्खे रगत उम्लियो। त्यसो त वषौं देखि एउटै तहमा काम गरिरहेको एसियाली र काम थालेको छ महिनाभित्रमा सुपरभाइजर हुँदै म्यानेजर हुने गोरालाई हेरेरपनि यो कुरा अनुमान लगाउन गाह्रो भएन। बेलायती सरकारले नियोजित षडयन्त्रद्धारा लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरी आफ्नो खस्कदो अर्थतन्त्रमा गुणानात्मक सुधार गरेपनि विद्यार्थीहरुको लागि भने यो नीती शैक्षिक र आर्थिक दुवै हिसाबले घटाऊ सावित भयो। अरुका लागि जोड, घटाऊ, गुणान, भाग जे सावित भएतापनि मलाई भने बेलायती शिक्षाले अन्धाहरुको देशमा दर्पणको(ऐना) व्यापार कसरी गरिन्छ भन्ने पाठ पढायो। वर्तमान विश्व शिक्षा प्रणालीले दिने प्रमाणपत्र भन्दा यही दिव्य ज्ञान मेरो खोज र सोधको मुलभूत विषयवस्तु पनि थियो। यदि कुरा देख्ने, बुझ्ने, सिक्ने र त्यसबाट पाठ लिने हो भने बेलायत पुगेपछि त्यहाँको औपचारिक शिक्षाका कक्षा लिईरहन आवश्यक पर्दैन। त्यस देशको भूगोलभित्र देखिने र भोगीने जीवनशैलीको गतिशीलता, व्यवहारिकता र वातावरणबाट नै हामीजस्ता तेस्रो विश्वका अविकसित राष्ट्रका अनागरिकहरुको जीवन धन्य हुने दिव्य ज्ञान पाईन्छ तर यिनै कुराहरु हाम्रो देशको शासन व्यवस्था चालाउनेहरुको घैटोमा भने अझैसम्मपनि घाम लाग्न सकेको छैन। यदि त्यसो होईन भने बेलायत र अमेरिकाका विभिन्न शहरहरु, प्रसिद्ध व्यक्ति र फुटबल क्लबहरुका नाममा काठमाडौंका गल्लीगल्लीमा खोलिएका कलेजहरु र तिनले संचारमाध्यमहरुबाट बजाउने र पत्रपत्रिकामार्फत छपाउने अब नेपालमै बसीवसी बेलायती र अन्तराष्ट्र्रिय विश्वविद्यालयका डिग्री भन्ने व्यहोराका विज्ञापनहरुबाट जो कसैले सहजै अनुमान लगाउन सक्छन् कि उनीहरु अब हाम्रै देशभित्र पसेर शिक्षाको व्यापार गर्दैछन। यसले तत्कालका लागि विद्यार्थीहरुको नेपालमै अन्तराष्र्टि«य स्तरको शिक्षा आर्जन गर्ने ईच्छालाई सम्बोधन गरेजस्तो देखिएतापनि कालान्तरमा संस्कार सहितको नेपाली मौलिक शिक्षाको जगलाई नै हल्लाईदिन्छ। किनभने उनीहरुको आफूले ग्रहण गर्ने शिक्षा र हामीलाई बेच्ने शिक्षामा आकाश र जमीनको फरक हुन्छ। यदि संसारभरका मानिसहरुलाई शिक्षित, दीक्षित र सभ्य बनाउने र संसारबाटै भोक, गरीबी र अशिक्षा हटाउने पश्चिमाहरुको अभिप्राय हो भने अफ्रिकाका गृहयुद्धग्रस्त क्षेत्रहरु जहाँ पाउरोटी, सिटामोल र एबिसीडी पुग्न सकेको छैन त्यहाँ कोकाकोला र एम–१६(अमेरिकी राईफल) कसरी पुग्यो। त्यसो त विदेशमै पढेर डिग्री हाँसिल गरि आफ्नै देशमा केही गर्ने पवित्र लक्ष्य बोकि स्वदेश फर्केका युवा जनशक्तिहरुपनि उचित अवसर र सरकारको आफूहरु लक्षित क्रार्यक्रमको अभावमा कुहिरोका काग भएका प्रशस्त उदाहरणहरु हाम्रा सामु छन्।

मध्य लन्डनको जमीन मुनीमुनी मध्यरातमा अबेरसम्म र बिहान सबेरै देखि कुद्ने भूमिगत विद्युतीय रेल सेवा(ट्युब), चौबिसै घण्टा सहज र सजिलो यात्रा गराउन तल्लीन दुईतले रातो बस, फराकिला सडक, फ्लाई ओभर, सब वे, ट्राफिक संकेत, पार्किङ्ग स्थल, मध्यरातमापनि मध्ये दिनको उज्यालो अनुभव गराउने सडक बत्ति, व्यापारिक, औद्योगीक र आवासीय क्षेत्रको समुचित दुरी, बाहिर हेर्दा छाप्रोजस्तो देखिएपनि भित्र भौतिक सुखसुविधाहरुले सम्पन्न हार मिलेका र आफ्नो पुरानो मौलिक स्वरुप जोगाउन सफल घरहरु, प्रचीन सम्पदाहरु, पार्कहरु, रंगविरंगका फूल फुलाईएका बगैंचाहरु, अपाङ्गमैत्री संरचनाहरु, बिश्राम स्थलहरु, बिश्राम गृहहरु, संसारभरिका परीकारहरु पाईने भोजनगृहहरु, सपिङ्ग मलहरु, डिपार्टमेन्टल स्टोरहरु, सरसफाई, द्रुत गतिको ताररहित इन्टरनेट सेवा, शिक्षा, स्वास्थ, मनोरञ्जन, संञ्चार, विज्ञान, प्रविधि, संसारभरिका बहुसांस्कृतिक र बहुभाषिक मानिसहरुको जमघट, कामप्रतिको सम्मान र व्यवसायिकता, बैंकिङ्ग, हुलाक र यातायत सेवा, वस्तु बिक्रीउत्तर सेवा, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतीक सुरक्षा, मानवअधिकारको उच्चत्तम अभ्यास, कानुनी राज्य, विधिको शासन, अनुशासित जनता, जिम्मेवार नेतृत्ववर्ग, शान्ति, स्थायित्व, सुशासन, जवाफदेहिता, परदर्शीता र समतामूलक दीगो विकास हेर्दा बेलायत आधुनिक विश्वको एक शक्ति र वैभवशाली सम्पन्न राष्ट्रको रुपमा चिनिएता पनि मलाई भने यो देश अप्राकृतिकताको सन्तुलित व्यवस्थापनभन्दा बढी केही लागेन।

जेहोस, बेलायत संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अबलम्वन गरेको र वर्तमान विश्वमा सर्वोत्तम मानिएको मध्यको एक फराकिलो लोकतन्त्र अभ्यास गर्ने र हामीजस्ता तेस्रो विश्वका शिक्षित मूर्खमनुवाहरुको सपनाका देश हो। त्यो देश संसारको एक वैभवशाली, शक्तिशाली, पूर्ण विकसित र सम्पन्न राष्ट्र यसकारण छ कि त्यहाँको राज्यसत्ता र शासन व्यवस्थालाई श्रीपेच, गद्दी वा पदको मर्म, भावना र महत्व र तिनसँगै आउने उत्तरदायित्व र जिम्मेवारीको राम्रो वोध छ। तर हाम्रो देशका नेतृत्व वर्ग र शासन व्यवस्थालाई त्यसको ठिक विपरीत पद र सत्ताको मात्र लालच छ। त्यही श्रीपेचको पेच ढिला हुँदा शासन व्यवस्था नै उल्टिएको तातो र तितो ईतिहास हाम्रो मस्तिष्कमा ताजै छ र वर्तमान नेतृत्वपनि त्यसकै हाराहारीमा पुगेको यर्थाथ हाम्रा सामु छदैनैछ। अनि कसरी जोगाउन सकिन्छ त यो देशलाई वैदेशिक हस्तक्षेप र लगभग एक असफल राष्ट्रको सुचीमा सुचीकृत हुनबाट। त्यसैले त हामीजस्ता युवा पुस्ताले बाध्यतावश भन्नुपर्छ– जय होस् यो नवीन शैलीको बेलायती साम्राज्यवादको

No comments:

Post a Comment