नेपाली समाचार ,Nepal Flag

Monday, May 20, 2013

गणेश लामा र पर्शुराम बस्नेतसमेत पाँच डनविरुद्ध विशेष अदालतमा मुद्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको अकुत सम्पत्ति जम्मा गरेको भन्दै पाँच जना ‘डन’ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

५ जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैधरुपमा आर्जित सम्पत्ति थुपारेको भन्दै दीपक मनांगे, पर्शुराम बस्नेत, चक्रे मिलन, गणेश लामा र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको छ ।
विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दका अनुसार उनीहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीहरुबाट असुली, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी गरिएको छ ।
विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी पनि गरेको छ ।
अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित अहिलेसम्म २५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन् । तीमध्ये फैसला भएका ११ मध्ये सवैमा सरकार पक्षको जीत भएको छ ।
उजुरीमा गणेश लामासँग २७ करोड १ लाख ६१ हजार, राजिव गुरुङ (दीपक मनांगे) सँग १४ करोड ७३ लाख ३१ हजार, पर्शुराम बस्नेतसँग ११ करोड ६१ लाख ४१ हजार, मिलन गुरुङ (चक्रे मिलन)सँग ७ करोड ७ लाख १७ हजार र अभिषेक गिरीसँग २ करोड, ९४ लाख ४६ हजार स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गरिएको छ ।
गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् भने पर्शुराम बस्नेत एमाले मोरङको जिल्ला सदस्य र युवा संघ नेपालको केन्द्रीय सदस्य हुन् ।
त्यस्तै दिपक मनाङे, चक्रे मिलन र अभिषेक गिरीलाई पनि राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका नेताहरुको भरथेग छ।

No comments:

Post a Comment