नेपाली समाचार ,Nepal Flag

Tuesday, May 28, 2013

लाप्राकमा एक रात (फोटो फिचर)

गोरखाको बारपाकबाट झण्डै १२ घण्टाको पदयात्रापछि हाम्रो सात सदस्यीय टोली साँझ ७ बजेतिर लाप्राक पुग्यो । गोधुली साँझ थियो । बसाईको ठेगान थिएन । मनमनै कस्तो ठाउँमा रात बिताउनु पर्ने हो भन्ने कौतुहलता मनमा छँदै थियो ।
जब लाप्राकवासीको माया, सदभाव र सम्मानको अनुभूति भयो, हाम्रो कौतुहलता एकै छिनमा मेटियो ।
डाँडाबाट लाप्राकको सुन्दर बस्ती देख्ने बित्तिकै कतिबेला पुगौँ भनेर मन छट्पटियो ।
‘लाप्राक एउटै गाउँ, ९ वडा एउटै ठाउँ’, बाटोमा जाँदा स्थानीय गाइड प्रविता गुरुङ भन्नुभएको थियो ।
‘आवश्यक परे एउटा घरको छानाबाट सबै छानामा पुग्न सकिन्छ’, गुरुङको फुर्ति थियो, ‘यहाँका कर्मचारी, शिक्षक एउटा गाउँबाट अर्को गाउँमा जानु पर्दैन ।’
‘खुब होला’, म नपत्याए जस्तो गर्दै थिएँ ।
नभन्दै लाप्राक पुगेपछि सबै सत्य सावित भयो ।
अबिरमाला सहितको स्वागतले मन झनै प्रफुल्ल भयो । लाप्राकवासीप्रति भित्रैदेखि सम्मान जागेर आयो । घर बाहिर उभिएका मात्र के थियौं, स्थानीय स्कुलकी शिक्षिका उम्नी गुरुङ मिसले भित्रै जाऊँ न भन्दै कर गरेपछि हामी अक्क न बक्क ।
बाहिरैबाट अगेनोमाथि लहरै भर्सेलीमा राँगाको मासु सुकाएको देख्दा मन त्यति मानि रहेको थिएन  । तैपनि मिसको आग्रह स्वीकार्न करै लाग्यो ।

पहिलो अनुभव

सबैजना घर भित्र गयौं । गर्मीको मौसम थियो । के खान दिएर स्वागत गरौं भन्दै उम्नी मिसले जर्किनबाट एक एक गिलास पानी सार्नुभयो । गर्मीको मौसम बुझेरै होला दिएको भन्दै पिउने जमर्को गरेको थिएँ तर के सक्नु ? मुखमा छिराउनै गाह्रो ।
त्यो पानी थिएन, कोदोको लोकल रक्सी रहेछ । कहिलेकाहीँ बियरसम्म खाने भएपनि कोदोको रक्सी खाएको थिइनँ । धेरै कर गरेपछि नखाई सुखै भएन ।
नखाए अपमान हुने डर, खाउँ अहिलेसम्म खाएको छैन । त्यसैले आँखा चिम्म गरेर एक गिलास तन्काई हालेँ । अरु साथीहरु अझ एक एक गिलास थप्दै थिए । म चुपचाप ।  
बास बस्ने ठाउँको व्यवस्था गर्ने अबको तयारी थियो । कहाँ, कस्तो ठाउँमा बस्ने भन्ने अलिअलि चिन्ता पनि थियो ।
‘हैन, बास बस्ने कता हो ?’, गाइड प्रवितालाई सोधेँ ।
‘टुंगो लागिसक्यो । चिन्ता गर्नुपर्दैन ।’
मैले त पत्तै पाएनछु ।
तर बास बस्ने होटेल जानुअघि अर्को कार्यक्रम बन्यो ।
हाम्रै लागि भनेर गुरुङ संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम राखिएको रहेछ । सबैजना त्यतै लाग्यौं । स्थानीय बासिन्दाको  ठूलै भिड थियो ।
मैले सोचेँ, कार्यक्रम त राम्रै हुने रहेछ । हाम्रा लागि पो नयाँ, सधै देखिरहेको कार्यक्रम उहाँहरुका लागि भने नौलो थिएन । कार्यक्रम हाम्रै सम्मानमा राखिएको रहेछ । निक्कै खुशी लाग्यो ।

भाषण

कार्यक्रमका उद्घोषक राज गुरुङले लाप्राकको बारेमा आफ्नो भनाई राखिदिन एक्कासी आग्रह गरेपछि के भनुँ के भनुँ भयो । हिम्मत जुटाएर लाप्राकको एकता र पाहुनालाई गर्ने सम्मानको खुलेरै पंशंसा गरेँ । ‘भाषण गर्ने अवसर मिल्यो’ भन्दै अन्य साथीहरु पनि पालैपालो बोले ।

घाटु र रोदी

टाउकोमा सेतो फेटा बाँधेका सत्तरी हाराहारीका दुईजना बुबाको गीत अनि ६/ ७ वर्षका दुई नानी आँखा बन्द गरेर एउटै लय र तालमा नाचेको देख्दा मन कम्ती अचम्मित भएन ।  घाटु नाचको विशेषता नै त्यस्तै रहेछ ।
गुरुङ भेषमा सजिएका युवा युवतिले मकै नाच, धाना र रोदी गाएको मनमा अझै ताजा छ । मादल बजेपछि नाच्न मन लाग्ने मान्छे रोदीमा किन चुप बसिन्थ्यो ? खैँजडी मुजुराको तालमा धक फुकाएर नाचियो ।

लाप्राकको त्रास

लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । तर जोखिममा रहेछ लाप्राक बस्ती । २०५६ सालमा पहिरोले दुईजनाको ज्यानै लियो ।
२०६० सालमा फेरी आएको पहिरोले त्यही पुरानो घाउ कोट्टयाई दिँदोरहेछ ।
केही घर भत्किएका र केही चर्किएका कारण पाँच सय १५ घर धुरी रहेको लाप्रकबाट २९ घर परिवार विस्थापित भए ।
स्थानीय सामाजिक परिचालक रामबहादुर गुरुङ पहिरोले विस्थापित भएकाहरु नवलपरासी, चितवन र तनहुँ पुगेको बताउनुहुन्छ ।
२०६८ सालको जनगणना अनुसार लाप्राकमा ४ हजार जनसंख्या छ ।
लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।
सरकारले गाउँलाई पहिरो प्रभावित क्षेत्र घोषणा गरेको छ । नेपाल आफैले पहिरो नियन्त्रण गर्न नसक्ने निष्कर्ष निकाल्दै खतराको चिन्ह् स्वरुप रातो लगाएको छ । सरकारले वस्ती नै अन्यत्रै सार्ने प्रयास नगरेको पनि होइन । तर हिमचुली युवा क्लबका अध्यक्ष राज गुरुङ अहिलेको जस्तै मिलेको समाज, वस्ती र एकता कायम नहुने हो कि भनेर आफुहरुले वस्ती सार्न नमानेको बताउनुहुन्छ ।
वर्षाको सिजन सुरु हुनै लागेको छ । पानी पर्ने बित्तिकै माथिबाट बग्ने पहिरो र तलबाट बग्ने जेर्बो खोलाका कारण सुन्दर लाप्राकवासीका आँखा निदाउन मान्दैनन् ।
लाप्राकवासीको न्यानो आतिथ्यले होला, मेरा साथीहरु सबैजना निदाइसकेका थिए । र, म पनि त्यही आतिथ्य सम्झँदै निदाउने प्रयासमा लागेँ ।
प्रतिक्रियाका लागि लेखकलाई ट्वीटरफेसबुकमा भेट्न सकिन्छ ।

बोमलाल गिरी(ujyallo online)

लाप्राकमा एक रात (फोटो फिचर)

No comments:

Post a Comment